‘यो चुनावले हामीलाई देश बनाउने मौका दिएको छ’


अर्थमन्त्रीका रूपमा विगतमा प्रभावशाली भूमिका निर्वाह गरेका डा. प्रकाशचन्द्र लोहनीलाई बौद्धिक नेताका रूपमा चिनिन्छ। यसपटकको निर्वाचनमा उनी आफू उम्मेदवार बनेका छैनन् तर दललाई निर्वाचनमा मद्दत गरिरहेका छन्। ‘नागरिक फ्रन्टलाइन’ बुधबारको शृंखलामा राप्रपाका वरिष्ठ नेता अर्थविद् लोहनीसँग नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले समसामयिक राजनीतिका बहुआयामिक विषयमा कुराकानी गरेका छन्। प्रस्तुत छ – डा. लोहनीसँगको कुराकानीको सम्पादित अंश।

तपाईंलाई चुनावचाहिँ कत्तिको लागेको छ नि?

म आफ्नो पार्टीका लागि एकदमै सक्रिय छु। म आफैंचाहिँ उठेको छैन यसपालि। पार्टीका अन्य कार्यकर्ता साथीहरूलाई प्रोत्साहित गर्ने, उनीहरूलाई सल्लाह दिने काममा म लागेको छु।

कुनै निर्वाचन क्षेत्रतिर पनि जानुहुन्छ कि?

सायद फागुन ५ पछि आमसभाहरूमा जाने छु।

चुनाव आउन एक महिना पनि बाँकी छैन; अहिलेसम्मका निर्वाचनका गतिविधि हेर्दा कत्तिको सकारात्मक पाउनुभएको छ?

सुरु भइराखेको छ। अलिअलि घरदैलो गर्ने, ठाउँ–ठाउँमा जाने, उम्मेदवारसँग भेट्ने काम सबै पार्टीका नेताहरूले सुरु गरिसकेका छन्। तर जुन टेम्पो आउनुपर्ने हो, चुनावको टेम्पोचाहिँ आउन बाँकी नै छ। सायद बढ्दै जाला। उचाइ लिइसकेको छैन। आउने बेला पनि भएको छैन।

त्यो हिसाबले एकथरी एकदमै उत्साहित भएको देखिन्छ; डा. साबले भनेजस्तो गतिचाहिँ नआएको खास कारण के होला?

यो चुनावै हुन्छ कि हुँदैन भन्ने शङ्का धेरैलाई थियो। चुनाव घोषणा भइसकेपछि पनि लामै समय मानिसलाई ‘हुँदैन, हुँदैन’ भन्ने थियो। अहिले पनि कताकता त्यो धारणा बाँकी नै छ। त्यसैले गर्दा पनि यस्तो देखिएको हो। अब विस्तारै–विस्तारै गति लिँदै छ। विस्तारै–विस्तारै जनता जाँदै छन्।

तपाईंं आफैंले टिकट नलिनुभएको कि के भयो?

म यसपालि चुनावमा छैन, पार्टी चुनावमा छ। मचाहिँ पार्टीको पछाडि–पछाडि, पार्टीको सहयोगीका रूपमा पूरै लागेको छु।

धेरैले अहिले पनि ‘निर्वाचन अझै हुँदैन’ भनिराखेका छन्; किन यस्तो भइराखेको हो?

चुनाव घोषणा भएर यो तहसम्म पुगिसकेको छ। खोलाको पानी थुनेर खेतमा लैजान कुलोमा हालिसकेपछि त्यो पानी खेतमा पुग्छ, बिचमा रोकिँदैन। अहिले हामीले कल्पना नगरेका घटना केही भएर रोकियो भने भिन्नै कुरा हो नत्र सामान्य घटनाक्रमले चुनाव हुने प्रक्रियामा गइसकेको छ।

प्रमुख राजनीतिक दलका नेताहरूले यो चुनावलाई त्यति सहयोग नगरेको जस्तो देखिएको हो त?

सहयोग नगरेको भन्ने त सुनेको छैन। केपी ओलीजीले ‘सुरक्षा अझ पुगेको छैन’ इत्यादि भन्नुभएको छ तर जुन उत्साहले चुनावमा होमिनुपर्ने थियो; त्यो उत्साह छैन। त्योचाहिँ पक्कै हो।

आफू जित्ने चुनाव भयो भने बढी उत्साह हुने, अन्यथा कम हुने भएको त होइन?

अहिले जुन परिवेश आएको छ; जुन परिवेशमा ओलीजी र देउवाजीहरू चुनावमा जाँदै हुनुहुन्छ; त्यो  परिवेशमा उहाँहरूलाई त्यति उत्साह नलागेको होला।

एमाले अध्यक्ष ओलीले जस्तो सुरक्षाका कुरा गरिराख्नुभएको छ; त्यस्तो सुरक्षा समस्या होला जस्तो लाग्छ त?

सुरक्षाका बारेमा भदौ २४ को घटनापछि नेपालमा कोही पनि सुरक्षित छ भन्नेमा धेरैलाई शंका भइसकेको छ। जुन तरिकाले देशव्यापी रूपमा आक्रमण भयो, कतिपय व्यापारी, उद्योगपति, व्यक्तिगत सम्पत्तिमा निर्वाध तरिकाले जसरी आगो लाग्यो, त्यो हेर्दा कसले आफूलाई सुरक्षित भनेर सम्झने?

यस्तो भयको मानसिकताले कतै हाम्रो मनमा वर्षौंसम्म राज गर्ने त होइन त?

यसलाई निरूपण गर्नका राज्य प्रभावकारी ढंगले लाग्नुपर्छ। राज्य साँच्चिकै प्रभावकारी छ, सचेत छ, जनताप्रति जिम्मेवार छ, जनताका भावनाको प्रतिनिधित्व गर्छ र जनताका आवश्यकता भनाइप्रति सजग छ भन्ने अनुभूति राज्यले जबसम्म दिन सक्दैन, त्यो बेलासम्म भदौ २३ पछिको घटनाको मनोवैज्ञानिक असुरक्षा रहिरहन्छ।

जुन श्रीलंकामा भयो, बंगलादेशमा भयो, त्यसपछि यहाँ पनि हुन सक्ला भन्ने परिकल्पना गरिएको थियो त?

खै, कसैले गरेका थिए या थिएन थाहा छैन, तर त्यो हदसम्म जाला भन्ने मलाई लागेको थिएन। युक्रेनमा युद्धका क्रममा हजारौं ड्रोनले हमला गरेजस्तो चर्को आक्रमण भयो। लगभग एक लाख ४७ हजार वर्ग किलोमिटरको एउटा देशभित्र जुन आक्रमण एकैसाथ भयो; त्यो नेपालको इतिहासमा कसैले बिर्सन नसक्ने घटनाका रूपमा रहेको छ।

यहाँ त एउटा खारिएको राजनीतिक नेता हुनुहुन्छ; यहाँको मनमा यस्तो खालको आक्रमण हुन्छ वा यसरी पनि देशमा गतिविधि हुन्छ भन्ने थिएन?

एउटा भयानक घटना नै भयो त्यो। माओवादीको युद्ध भयो तर त्यो अनुमान गर्न सकिन्थ्यो, बुझ्न सकिन्थ्यो, यो बुझ्न सकिएन। अहिलेसम्म मैले बुझेको छैन। अहिले पनि किन भएको हो, कसले गरेको हो भन्ने लागिरहेको छ।

भनेपछि हामीलाई देश भएर बाँच्न नदिने अवस्थामा पु¥याएकै हो त?

त्यो अवस्थामा पुर्‍याएको हो। राज्यका सबै संस्था जलिराखेका छन्। त्यो बेलामा तपाईंले केही गर्न सक्नुहुन्न भने, तपाईंका सबै नागरिक असुरक्षित महसुस गर्छन् भने, त्यो बेलामा जे पनि हुन सक्थ्यो। अब भन्नुस् न, नेपालको भाग्य भन्नुस्, अथवा केही व्यक्तिको सुझबुझ पनि पुग्यो होला, साम्य भयो। तुरुन्तै साम्य भयो।

नेपाल उत्थानशील भएर हो त?

रिजिलियन्ट (उत्थानशील) छ तर श्रीलंकामा पनि तपाईंको त्यस्तै भयो, तर फेरि यथास्थितिमा गयो। जुन तरिकाले जुन विध्वंस भएको थियो, त्यो निरन्तर जान सक्ने स्थिति नै थिएन।

त्यसका कारण मनोबलचाहिँ सधैंका लागि खस्काएको हो?

खस्कायो। न्यायाधीशको मनोबल खस्कियो। तपाईंको प्रेसकमा लेख्दा के हुन्छ भन्ने कुराले डर उत्पन्न हुने अवस्था छ। मतदाताको मनोबल खस्कायो। मानिसलाई निर्भय भएर बाँच्न नसक्ने अवस्थाचाहिँ आयो।

यो निर्वाचनमा राप्रपाको भूमिकाचाहिँ के हुन्छ?

यो प्रजातान्त्रिक अभ्यास हो। हामी आफ्नो अजेन्डा लिएर, आफ्ना दृष्टिकोण लिएर गएका छौं। ७७ वटै जिल्लामा गएका छौं। उम्मेदवार उठाएका पनि छौं। हामी सक्रिय भएर भाग लिएका छौं।

कति बलियो छ त राप्रपा यसपालिको चुनावमा?

राप्रपा कमजोर छैन। नेपाली कांग्रेस, एमाले र त्यसपछिको तेस्रो पुरानो दल हो यो। यो राष्ट्रका लागि राष्ट्रवादी दल हो, प्रजातान्त्रिक दल हो।

राप्रपाले नेपालीलाई दिन खोजेको खास कुरा के हो?

हामीले योगदान गरेका छौं। नेपालको बैंकिङ क्षेत्रमा ‘शान्तिपूर्ण क्रान्ति’ गरेको छ २०४०–४१ सालमा। नेपालमा बैंकिङ क्षेत्रको यति धेरै विकास त्यही बेलामा भएको हो।

म त्यतिबेला अर्थमन्त्री थिएँ। आफ्नै बैंक चाहिन्छ तर प्रविधि बाहिरबाट ल्याउनुपर्छ, पुँजी बाहिरबाट ल्याउनुपर्छ, सिप बाहिरबाट ल्याउन तयार हुनुपर्छ तर नियन्त्रण आफ्नो हुनुपर्छ भनेर नेपालमा ‘थ्री इन वन’ को प्रिन्सिपल लागु गरायौं। त्यस्तै सामुदायिक वनमा जनतालाई सहभागी गराउने सोच पनि राष्ट्रिय प्रजातन्त्र पार्टीकै हो।

पहिला त राप्रपा भनेर आउनै अप्ठेरो थियो, अहिले सहज भएको हो?

हो, सहज भएको छ। स्वीकारोक्ति बढेको छ। सुरुमा समस्या थियो। आक्रमणसमेत हुन्थ्यो तर त्यो इतिहास थियो।

अबको राप्रपाको अवस्था के हो? कुन लाइन हो?

राप्रपा ‘राइट अफ द सेन्टर’ हो। सेन्टरको राइट हो। राप्रपा संवद्र्धनवादी हो। कन्जर्भेटिभ चिन्तन राष्ट्रिय प्रजातन्त्र पार्टीको हो। त्यस मानेमा हामी राइट अफ द सेन्टर, बिचको, हामी दक्षिणपट्टि छौं।

फेरि चुनावमै फर्कौं। अहिलेको चुनावमा उठ्नुभएन, २०७९ सालमा पनि यहाँ  रोकिनुभयो; के अब चुनाव नलड्ने? पार्टीलाई आफ्ना राजनीतिक चिन्तन दिएर अगाडि बढिराख्ने भन्ने हो?

अब जति समय बाँच्छु, देशका लागि योगदान गर्न चाहन्छु  किनकि मलाई माटोप्रति माया छ। देशप्रति माया छ। जुन बेला काम गर्ने मौका पाएँ, त्यतिबेला ठोस योगदान गरें।

पार्टीभित्र अझै पनि अलिअलि विद्रोही हुनुहुन्छ यहाँ?

म जहिले पनि विद्रोही। बेठिक कुरालाई म मान्दिनँ। विधि र प्रक्रियाअनुसार जानुपर्छ भन्ने हुँ। प्रजातन्त्रमा विधि र प्रक्रिया छाड्न पाइँदैन।

पार्टीभित्र आन्तरिक लोकतन्त्र नहुनु नै नेपालको एक खालको विग्रहको कारण हो?

पक्कै पनि हो। पदमा पुगेपछि मानिसलाई नरसिंह देउता लाग्छ भन्ने मान्यता छ। नयाँ–पुराना सबै पार्टीमा यही रोग छ। मूल समस्या यही हो।

यस्तो स्थितिमा पार्टी निर्वाचनमा होमिएको छ; यसपालि राप्रपाले कति सिट ल्याउँछ होला?

यति नै आउँछ भनेर अहिल्यै म दाबी गर्दिनँ तर राम्रै आउँछ।

भनेपछि संसद्मा आफ्ना अजेन्डाहरू बलियोसँग राख्न सक्ने आउँछ त?

राम्रो उपस्थिति आउँछ। हामी संसद्मा आफ्ना अजेन्डा राख्छौं। जनतामा पनि तिनै अजेन्डा लिएर जान्छौं। हामीले भनेका छौं – नेपालको पहिचान वैदिक सनातन राष्ट्रका रूपमा हुनुपर्छ। त्यो धार्मिक राष्ट्र होइन तर पहिचान हुनुपर्छ।

डा. साब, यहाँहरूको धेरै मतचाहिँ केमा आउँछ प्रत्यक्ष कि समानुपातिकमा?

दुइटैमा राम्रै आउँछ। तर म फूर्ति लगाउनेचाहिँ परिनँ।

तैपनि अनुमानित भन्न सकिन्न र?

जति आउँछ, त्यो राम्रै आउँछ।

अनि कसैसँग कार्यगत एकता प्रयास भएको छ?

छैन। कसैसँग कार्यगत एकता छैन। कार्यगत एकता प्रयास पनि भएको छैन। जे – जति आउँछ, आफ्नै क्षमताले आउँछ। हामी आफ्नै बलले गर्ने हो।

यसपटकको निर्वाचनमा देशले के पाउँछ, के गुमाउँछ?

निर्वाचनले गुमाउँछ भन्दा पनि निर्वाचनपछि एउटा सरकार आओस् भन्ने जनतालाई आशा छ, तर मैले त्यो आउलाजस्तो देखिनँ। यही निर्वाचन प्रणालीबाट आउँदैन। यो संविधानको जुन संरचना छ, जुन रूप छ, त्यसमा धेरै परिवर्तन नगरीकन स्थिरता आउने देखेको छैन। के भोलि अर्को सिंहदरबार त्यसैगरी नजलोस् भन्ने स्थितिमा राज्यलाई पुर्‍याउन सक्छौ? त्यो चुनौती छ अब।

हामी साग पनि किनेर खाने भयौं हैन त?

हो। हाम्रो करेसाबारीबाट उत्पादन गर्दैनौं। आफ्ना युवालाई बाहिर पठाउने र उनीहरूले पठाएको पैसाले दाल र साग किनेर खाने। त्यही हो त हाम्रो अर्थतन्त्रको मोडल? आज हाम्रो अर्थतन्त्र ‘समाजवादउन्मुख’ छ भनेर भन्नेले जवाफ दिनुपर्‍यो नि त। के त्यही हो त समाजवाद?

हामी क्रान्ति गर्न सिपालु तर त्यसको व्यवस्थापन अथवा विकास गर्न त्यति योग्य नरहेका हौं त?

पक्कै हो। सत्तामा आएपछि सबैले बाचा भुल्ने गरेका छन्।

अहिले हामी चुनावको मुखमा छौं; एकातिर सर्वोच्च अदालतमा मुद्दा छ फेरि ‘संसद् पुनस्र्थापना’ को। त्यो मुद्दाको छिनोफानो हुन सक्ने अथवा अगाडि बढ्न सक्ने केही त्यस्तो अवस्था छ?

यसमा केही नबोलूँ। मेरो क्षमताले भ्याउँदैन। त्यो अदालतमा विचाराधीन छ।

चुनावपछाडि देश ठिकठाकै ढंगले बढ्ला भन्नेमा कत्तिको आशावादी हुनुहुन्छ?

म त्यति निराशावादी होइन। फेरि गठबन्धन सरकारको बाटोमा जाने छ। के हुन्छ भन्ने अवस्था अहिले प्रस्ट छैन।

यहाँले भन्नुभएको ‘नवीन समझदारी’ को कुरा छ, अब मुलुकमा कुनै न कुनै हिसाबमा राजसंस्था चाहियो भन्ने हो?

त्यो चाहियो। त्यो जोड्नका लागि। समाजमा धु्रवीकरण हुन्छ। ध्रुवीकरण र परिचालन दुवै हुन्छ। समाज जोड्ने तत्त्वको आवश्ककता छ।

अब मुलुकको आर्थिक अवस्थातिर जाऊँ, यति ठूलो आर्थिक क्षति धान्न सक्ने अवस्थामा छ त नेपाल?

पहिलो कुरा, मुलुक यो आर्थिक अवस्थामा कसरी आयो? सत्तामा बस्नुभएका मानिसले जिम्मेवारी लिने कि नलिने? उहाँहरूले यसको विश्लेषण गर्ने कि नगर्ने? उहाँहरूले यसबारेमा केही बोल्ने कि नबोल्ने?  उहाँहरू मौन हुनुहुन्छ, बोल्नु हुन्न।

आर्थिक अवस्थाका कसरी बिग्रियो त?

गैंडाकोटको भृकुटी कागज कारखानाको उदाहरण लिऊँ। त्यहाँ बनाएको कागज जापानसम्म जान्थ्यो। इन्डोनेसिया जान्थ्यो। त्यहाँ अर्घाखाँची, गुल्मी, पाल्पाका  किसानले फाइदा पाउँथे। यो खत्तम भएर गयो। त्यसलाई कसरी ब्युँताउने भन्ने योजना छैन। यस्ता थुप्रै उदाहरण छन्।

डा. साबको यो जवाफ सुनेर एकथरीले फेरि ‘हिजोआज सामाजिक सञ्जालमा पनि लेख्छन् -हैन, तपाईंको पालामा चाहिँ के भो?’

मेरो पालामा म अर्थमन्त्री भएको बेलामा पुँजी बजार आएको हो। बैंकहरू त्यही बेला खडा भएका हुन्। त्यो गर्नेमा एउटा म पनि हुँ। मलाई गर्व छ त्यसमा। नवउदारवाद कुनै सिद्धान्त होइन। त्यो त प्रेत अर्थशास्त्र हो। त्यो ‘नव उदारवाद’ ले विश्व बैंक र आइएमएफले जे भन्थ्यो, त्यसलाई ल्याएर यहाँ भएका उद्योग सबै विनाश भए। चुरोट फ्याक्ट्री गयो। कृषि औजार गयो। भृकुटी कागज कारखाना गयो, सारा गए।

नेपाली राजनीतिले अर्थतन्त्रलाई ध्यानमा नराखेको हो त?

नेपाली राजनीतिले राखेन। नेपालको राजनीतिमा इमान भएन। नेपालको राजनीतिमा लगाम भएन। नेपालको अर्थतन्त्र कमजोर बनाइसकेपछि आफूले भनेअनुकूल यहाँको राजनीति अथवा विकासलाई लिएर जान सकिन्छ भन्ने त्यस्ता शक्ति अथवा व्यक्तिको केही प्रभाव हो कि? यो अन्याय नेपालका युवकहरूमा भएको छ; मजदुरहरूको विरुद्ध भएको छ र किसानहरूको विरुद्धमा भएको छ।

एउटा अचम्म, दुईतिर विकासको लहर छ, तर हामीलाई त्यसले नछुने कारणचाहिँ के हो?

अहिलेसम्मको राजनीतिले के देखाएको छ भने राजनीति त सत्ता हो। सत्ता भनेको आफ्नो पार्टी र आफ्ना वरिपरिकालाई बलियो बनाउने काम मात्रै हो। राजनीतिलाई हामीले देशसित जोडेका छैनौं। राजनीतिलाई हामीले देशको उन्नतिसित जोडेनौं।

नेपालमा त विकास भनेको आकाशको फल भन्छन् नि?

गर्‍यौं भने नेपालमा विकास छिटो हुन्छ। टुरिजम, हाइड्रोतिर ध्यान दिनुपर्‍यो। परनिर्भर मात्र हैन अन्तरनिर्भरता विकास हुुनुपर्‍यो। जस्तो– हामीले बिजुली सस्तोमा बेचिराखेका छौं। त्यति नै सस्तोमा स्वदेशमा उपभोग गर्न दियो भने पनि विकास हुन्थ्यो। बिजुली खपत गर्ने उद्योगहरू छन् भने तिनीहरूलाई उपभोग गर्न दिने, उनीहरूलाई उपभोग गर्न प्रोत्साहन गर्ने। बिजुलीलाई स्वदेशमै कच्चा पदार्थका रूपमा प्रयोग गर्‍यो भने राम्रै हुन्थ्यो।

नेपाल भूराजनीतिको प्रभावमा पर्‍यो भनिँदै छ; त्यस्ता केही लक्षण देख्नुभएको छ?

हो, त्यो साँचो हो। पृथ्वीनारायण शाहले ‘नेपाल दुई ढुंगाको बिचको तरूल हो’ भनेर  सशक्त बिम्ब दिएको हो। मचाहिँ नेपाललाई ‘तीन ढुंगाको चौतारी हो’ भन्छु। तीन ढुंगामा अडिएको चौतारी हो। एउटा चीन नै हो। चीन… कति सन्तोष–असन्तोष छ भन्ने कुरा देखिइराखेको छ। एउटा भारत हो। नेपालसित कति विश्वास–अविश्वास गरेका छन् भन्ने पनि देखिइराखेको छ। एउटा अमेरिका हो। यो टाढाको छिमेकी। यो तीन खुट्टामा अडिएको चौतारी हो। यो तीनटै खुट्टासित त्यत्तिकै सम्बन्ध राख्न र तिनीहरूको विश्वास जित्न सक्नुपर्छ।

‘यहाँका नेताहरू इमानदार छन्। यहाँका नेताहरू जनताका लागि काम गर्छन्। नेपाल विश्वास गर्न सकिने हाम्रो मित्र हो’ भनेर यी तिनोटैको विश्वास जित्न सक्ने चुनौतीचाहिँ अहिले हामीसँग छ, तर यो किन गुमिरहेको छ। आफ्नो घर आफैंले सम्हाल्न नसक्ने जुन किसिमको वातावरण बन्दै गएको छ, यही अवस्थाले भोलिका दिन हामी कहाँ पुग्छौं?

पछिल्लो चरणमा हामीले आफ्नै भौगोलिक संवेदनशीलतालाई त्यति ध्यान नदिएको हो कि?

हाम्रा मित्रराष्ट्रहरूमा नेपालप्रतिको अविश्वास बढेको देखिन्छ। हाम्रो राष्ट्रिय स्वार्थ छ भनेदेखि उनीहरूको पनि छ। त्यो तीनोटा राष्ट्रिय स्वार्थको बिचमा, सबै राष्ट्रिय स्वार्थको बिचमा समान ठाउँमा खेल्ने नै हो। हाम्रो सुरक्षाको एउटा खम्बा भनेको परराष्ट्र नीति हो। परराष्ट्र नीति नेपालको असन्तुलित भएर गएको हो कि भन्ने लागिरहेको छ।

भविष्यमा त्यसको के असर पर्न सक्छ नेपाललाई?

असन्तुलित परराष्ट्र नीति भएर गयो भने के असर पर्न सक्छ भन्ने कुरा युक्रेनलाई हेरे थाहा हुन्छ। शक्तिसम्पन्न राष्ट्रहरूका बिचमा जब तपाईं बस्नुहुन्छ, तपाईं उनीहरूको तनावमा पर्नुहुन्छ। युक्रेन परेको त्यही हो।

आशावादी हुने भन्दाभन्दै सबै क्षेत्रमा निराशा मात्रै हात लाग्यो नि हैन?

समस्या आयो भन्दैमा भाग्ने कुरो आउँदैन। समस्या आयो भने त्यसलाई कसरी समाधान गर्ने भनेर लाग्नुपर्छ। त्यसैले पहिलो कुरा देशप्रतिको दृष्टिकोणमै परिवर्तन आउनुपर्छ। यो मेरो पार्टीको हित मात्र हैन कि देशका लागि केही गरौं भन्ने कुरा सबैमा र सबै दलहरूका बीचमा नेपाललाई बलियो बनाउनुपर्छ, हाम्रो राष्ट्र बचाउनुपर्छ भन्ने भावना आउनुपर्छ। तपाईं अहिलेको संसार र अहिलेको विश्वमा आर्थिक उन्नति गर्न सक्नुहुन्न भने विश्वले तपाईंलाई गन्दैन; छिमेकीले गन्दैनन् र तपाईंका कमजोरीको फाइदा उठाउने तत्त्व निस्कन्छन्।

अब पुराना कुरामा जाऊँ, तपाईं जतिखेर युवा हुनुहुन्थ्यो, स्नातकबाट सांसद बन्नुभयो; त्यतिखेरको संसदीय अभ्यास र आजको लोकतन्त्रको संसदीय अभ्यास पनि हेर्नुभयो; के फरक रह्यो त?

त्यतिबेला पनि बोल्न त छुट थियो, तर सीमा थिए। अन्तिम निर्णय राजाबाट हुन्छ भन्ने थियो। संसदीय प्रजातन्त्र आइसकेपछि त्यो स्वतन्त्रता र त्यो जिम्मेवारीलाई अहिलेका संसद्का राजनीतिक पार्टीहरूले लिनुपर्‍यो।

त्यतिखेर एकजना व्यक्तिको डरले सबैले काम गर्थे, आज पार्टीअनुसार निर्णय हुँदा समस्या भयो भन्ने हो?

पार्टीले आफ्ना लागि मात्र सोच्दा समस्या आएको हो। हामीले त्यतिबेला देशका लागि सोचेका थियौं; विदेशका विभिन्न प्रस्ताव मानेका थिएनौं। राष्ट्रिय एकताका विषयमा सम्झौता गरेनौं।

फेरि त्यस्तो प्रस्ताव आउने सम्भावना छ?

तपाईं कमजोर हुँदै जानुभयो भने त्यस्ता अप्ठेरा अवस्था आइरहन्छन्। भदौ २४ का दिन कसले कसलाई च्याप्या थियो त्यहाँ? नेपाली जनताले गरेको त होइन त्यो त। कहाँबाट त्यत्रै नोक्सान भयो? कसैले च्यापेको थियो होला नि। त्यो आउँछ, इतिहासमा त्यो खोज्नुपर्छ। भोलि त्यही घटना नहोला भन्ने के छ? त्यस्तो फेरि नहोस् भन्नका लागि सबै एक हुन जरुरी छ।

हामी अझ कमजोर भयौं; धेरै लड्न थाल्यौं; अस्थिर भयौं भने विदेशी हस्तक्षेपको सम्भावना छ?

नगरौं भने पनि हुन्छ। त्यो हुन्छ। उनीहरूको केही न केही स्वार्थ त हुन्छ नि यहाँ पनि। नेपाल स्थिर र शान्ति भएर बसोस्। हाम्रो नेपालबाट हामीलाई कुनै समस्या नआओस् भन्ने स्वार्थ त होला नि। त्यति पनि हामीले संरक्षण गर्न नसक्ने स्थिति आउन थाल्यो भने आफ्नो स्वार्थ रक्षा गर्नका लागि अनेक किसिमका यन्त्र प्रयोग गर्न थाल्छन् नि।

यो परिस्थितिमा यसपालिको चुनावको अर्थ रहेछ हैन?

चुनावलाई एउटा मध्यावधि चुनावका रूपमा मात्रै हेर्ने होइन; एउटा मौकाका रूपमा राजनीतिक दलहरूले पनि हेर्नुपर्‍यो, सबै शक्तिहरूले हेर्नुपर्‍यो। यो देशलाई बचाउने मौका हो। हामी सबै मिलेर यो देशलाई बचाउने हो। देश बचाउने हामीले नै हो। अरू कसैले आएर हामीलाई माया गर्दैन।

नेपालको विकासभन्दा पनि अहिले त राष्ट्र नै जोगाउने कुरा ठुलो रहेछ हैन?

हो। राष्ट्र जोगाउनु भनेको नेपालमा भएका स्रोत–साधनको राम्रो उपयोग गर्नु हो। यसका लागि हामी सबै एक हुनुपर्‍यो। मुलुकको हितमा सबै लाग्नुपर्‍यो। तब मात्र मुलुक जोगिन्छ।

प्रकाशित: २५ माघ २०८२ ०९:३३ आइतबार





Source link

Leave a Comment