जुनभित्रै युद्ध अन्त्य गर्न रुस र युक्रेनमाथि अमेरिकी दबाब



प्रकाशित मिति : माघ २४, २०८२ शनिबार

जुनभित्रै युद्ध अन्त्य गर्न रुस र युक्रेनमाथि अमेरिकी दबाब

फोटो : मार्क शिफेलबीन/एपी/रासस

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले आगामी जुन महिनासम्ममा रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्न चाहेको बताएका छन्। अमेरिकी पहलमा आगामी साता दुवै देशका वार्ता टोलीलाई छलफलका लागि अमेरिका आमन्त्रण गरिएको उनले जानकारी दिए।

“अमेरिकाले पहिलो पटक युक्रेन र रुसका दुई वार्ता टोलीलाई संयुक्त रूपमा भेट्न प्रस्ताव गरेको हो। सम्भवतः एक साताभित्र मियामीमा यो वार्ता हुनेछ,” उनले भने। वार्तामा आफ्नो सहभागिता रहने पुष्टि समेत जेलेन्स्कीले गरेका छन्।

जेलेन्स्कीको यस भनाइप्रति अमेरिका र रुसले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः कार्यभार सम्हालेयता युद्ध अन्त्यका लागि दबाब दिँदै आएका छन्।

रुसले युक्रेनको ऊर्जा पूर्वाधारमाथि आक्रमण जारी राखेको छ, जसका कारण कठ्याङ्ग्रिने जाडोमा व्यापक विद्युत् कटौती भएको छ।

सार्वजनिक गरिएको बयानमा जेलेन्स्कीले अबुधाबीमा सम्पन्न दोस्रो चरणको अमेरिकी मध्यस्थताको शान्ति वार्ताबारे जानकारी दिएका थिए। ती वार्तामा कुनै ठोस प्रगति नभएको बताइएको छ।

जेलेन्स्कीले “कठिन विषयहरू अझै पनि कठिन नै छन्” भन्दै युक्रेनमाथि क्षेत्रीय सम्झौता गर्न दबाब रहेको बताए। उनले पहिलो पटक प्रतिनिधिहरू मात्र नभई नेताहरूको त्रिपक्षीय बैठकको सम्भावनाबारे छलफल भएको खुलासा गरे। तर त्यसका लागि “पूर्वतयारी आवश्यक” रहेको पनि उनले स्पष्ट पारे।

उनले भने, “अमेरिकाले जुनसम्म सबै काम टुङ्ग्याउन चाहेको छ, किनकि नोभेम्बरमा अमेरिकामा मध्यावधि निर्वाचन छ।”

कूटनीतिक प्रयास जारी रहँदा रुसले युक्रेनको ऊर्जा संरचनामाथि आक्रमण तीव्र पारेको छ। युक्रेनका ऊर्जा मन्त्री डेनिस श्मिहालले टेलिग्राममा लेख्दै भनेका छन्, “रुसी अपराधीहरूले युक्रेनको ऊर्जा पूर्वाधारमाथि भीषण आक्रमण गरेका छन्।”

जेलेन्स्कीले सामाजिक सञ्जालमा उक्त आक्रमणमा ४० भन्दा बढी मिसाइल र ४०० भन्दा बढी ड्रोन प्रयोग गरिएको बताए। अधिकांशलाई हवाई प्रतिरक्षा प्रणालीले खसाले पनि सबै रोक्न नसकिएको सेनाले जनाएको छ। आक्रमणबाट कम्तीमा चार क्षेत्रमा क्षति पुगेको छ।

पश्चिमी लभिभ क्षेत्रको डोब्रोटभिर विद्युत् केन्द्रमा आक्रमण हुँदा हजारौँ मानिस अन्धकारमा परेका छन्। इभानो–फ्रान्किभ्स्क क्षेत्रमा रहेको बुर्श्टिन विद्युत् केन्द्र पनि प्रभावित भएको छ। यी दुवै केन्द्र सञ्चालन गर्ने डीटीईके कम्पनीका अनुसार अक्टोबर २०२५ यता यो दशौँ ठूलो आक्रमण हो। कम्पनीले अहिलेसम्म आफ्ना विद्युत् केन्द्रहरूमा २२० भन्दा बढी पटक आक्रमण भएको जनाएको छ।

युक्रेनले पनि जवाफी कारबाही गर्दै रुसको ट्भेर क्षेत्रमा मिसाइल इन्धन बनाउने कारखाना र साराटोभ क्षेत्रमा तेल भण्डारण केन्द्रमा आक्रमण गरेको दाबी गरेको छ। रुसले यसबारे कुनै टिप्पणी गरेको छैन।

जेलेन्स्कीका अनुसार फेब्रुअरी २०२२ देखि हालसम्म रुससँगको युद्धमा करिब ५५,००० युक्रेनी सैनिकको मृत्यु भएको छ भने झण्डै १ लाख ६० हजार रुसी सैनिकको मृत्यु भएको पुष्टि भएको छ।





Source link

Leave a Comment