धादिङ भन्नेबित्तिकै तपाईंको मनमा के आउँछ? पृथ्वी राजमार्ग हुँदै पूर्वपश्चिम जाने सबैभन्दा सुगम जिल्ला वा राजमार्गको यात्राका क्रममा दिसापिसाब गर्ने र महँगो पैसा तिरेर खाजा वा खाना खाने ठाउँ? तपाईंहरूको मनमा धादिङबारे यी र यस्तै कुरा आउँछन् होला, होइन? तर, धादिङ तपाईंले देखेको, टेकेको वा सोचेकोभन्दा बिलकुलै फरक र विशेष छ। हिमालय पर्वतदेखि महाभारतसम्म फैलिएको नेपालको एक मात्र जिल्ला, धादिङ, उत्तरमा रसुवा र चीनको तिब्बतसम्म फैलिएको छ।
पूर्वमा काठमाडौं, नुवाकोट र रसुवा, पश्चिममा गोरखा र दक्षिणमा मकवानपुर र चितवन जिल्लासँग सीमाना जोडिएको धादिङ प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ। गंगाजमुना झरना, झार्लाङको तातो पानी, गुप्तेश्वर र चमेरे गुफाजस्ता प्रसिद्ध गुफाहरू पनि यही जिल्लामा छन्। विन्दुकेश्वर, सिद्धलेक मात्र होइन, नेपालकै मुख्य टारहरूमध्ये एक सल्यानटार पनि धादिङमै पर्छ। मनमोहक रुबी भ्यालीदेखि त्रिशूली, बुढी गण्डकी र आँखु खोलाजस्ता मुख्य नदी र प्राकृतिक मनोरम दृश्यहरूले धादिङलाई भरिपूर्ण बनाएको छ। राजधानी काठमाडौंलाई आवश्यक पर्ने एकचौथाइ तरकारी पठाउने धादिङ सबैभन्दा उच्च पाविल हिमाल (७,११० मिटर) देखि सबैभन्दा कम जोगिमारा (३०० मिटर) उचाइमा रहेको छ।
मलेखुको माछा, स्यादुलको सुन्तला, सल्यानटारको मास, खरीको पिँडालु मात्र होइन, राष्ट्रिय गौरवको सबैभन्दा ठुलो जलाशययुक्त आयोजना बुढीगण्डकी, साना ठुला गरेर २५ वटा ठुला–साना नदी र खोलाहरू धादिङमा रहेका छन्। १७ सय ४३ वटा साना नदी र खोलाहरूको घर धादिङमा दर्जनौं धार्मिक र पर्यटकीय स्थलहरू पनि रहेका छन्। खगोल शास्त्रका विद्यार्थीका लागि प्रसिद्ध रहेको धादिङमा मंगलबार पाठीको बली दिने ढोलामण्डली मन्दिर मात्र होइन, अन्य धेरै धार्मिक स्थलहरू पनि छन्। तीमध्ये भैरवी मन्दिर र नरसिंह धाम अत्यन्त महत्त्वपूर्ण स्थलहरू हुन्।

एकातिर बुढीगण्डकी र अर्कोतिर नेत्रावती (यशोधरा भन्नाले बुढीगण्डकी र नेत्रावती भन्नाले आँखु खोला) दुई नदीको संगम स्थानमा रहेको छ नरसिंह धाम। त्रिपुरासुन्दरी–१, सल्यानटारको फेदीमा रहेको यो धाम गोरखा र धादिङको सिमानामा पर्छ। दुई नदीको दोभानमा प्राचीन समयदेखि नरसिंह देवताको उत्पत्तिस्थलको रूपमा परिचित छ।
२०६६ फागुनदेखि खोज अनुसन्धान सुरु गरेर शास्त्रीय प्रमाणका आधारमा स्थानीयवासीको सहयोगमा नरसिंह मन्दिरको स्थापना गरिएको हो। २०६७ सालमा आँपको फेदमा बसेर पुराण लगाएर उठेको पैसाले मन्दिरको संरचना निर्माण थालिएको जनाउँदै स्थानीयहरूले मन्दिर बनाउने स्थान खन्ने क्रममा लिच्छवीकालीन सिक्का, पैसा, इँटाका मूर्तिलगायत भग्नावशेष फेला परेको जनाइएको छ।
२०७६ देखि २१ करोड रुपैयाँको लागतमा नयाँ मन्दिरको निर्माण सुरुवात गरिएको हो। निर्माणका लागि स्थानीय त्रिपुरासुन्दरी गाउँपालिकासहित अन्य पालिकाको सहयोगमा अहिले मन्दिरका अतिरिक्त गुरूकूल भवन, आवास गृह, प्रसादी गृह, गौशालालगायतका भौतिक संरचना निर्माण भएका छन्।
गुरुकुलमा ५० भन्दा बढी विद्यार्थी हाल छन् भने भक्त प्रह्लादले ज्ञान प्राप्त गरेको स्थल भएकाले यो स्थान गुरुकुल सञ्चालनका निम्ति अत्यन्त महत्त्वपूर्ण रहेको डा. श्रीवासकृष्णदास ब्रह्मचारीले बताउँछन्। भक्त प्रह्लादले तपस्या गर्दा भगवान् नरसिंहले नदीबाट प्रकट भएर दर्शन दिएकाले त्यो नदीको नाम ‘नरसिंह’ रहन गयो र त्यो नदी नै अहिले ‘नेत्रावती’ (आँखु) भनेर चिनिन्छ। नेत्रावती नदी भगवान् शिवजीको आँखाबाट बगेको भन्ने पनि जनविश्वास पाइन्छ। नरसिंह स्फटिक खम्बाबाट धाम हुँदै आगिन्चोकसम्म पुग्दा भगवान् नरसिंह प्रकट भएको स्थल, होलीको दहन भएको स्थल (आगिन्चोक), र नारदमुनिले प्रह्लादलाई उपदेश दिएको स्थल पनि यही हो भनिएको छ। विभिन्न पुस्तकमा लेखिएअनुसार यस स्थानलाई श्वेतवराह कल्पमा प्रह्लाद महाराजले तपस्या गरेर भगवान् नरसिंह प्रकट भई दर्शन दिएको स्थल मानिन्छ।
तीन सय विद्यार्थी राख्न मिल्ने गुरुकुल भवन, चार सयसम्मलाई खाना खुवाउन सकिने प्रसादी गृह, दुई सय जनालाई राख्न सकिने अतिथि आवास गृह, ४० वटासम्म गाई पाल्न सकिने गौशालासहित भण्डार कक्षहरू निर्माण सम्पन्न भइसकेका छन्। हाल श्रीवास कृष्णदास ब्रह्माचारीको सत्संकल्पमा मन्दिर निर्माणसहित यस क्षेत्रलाई विशिष्ट धामको रूपमा विकसित गर्ने उद्देश्यसाथ काम अगाडि बढिरहेको छ।
पुरातत्त्वविद्हरूले त्यहाँ लिच्छवीकालीन बस्ती भएको अनुमान गरेका छन् भने अर्कातर्फ वैदिक सनातन शास्त्रहरूमा भगवान् नरसिंहदेवको विभिन्न १२ वटा प्राकट्यस्थल र १२ वटा नरसिंह पीठमध्ये यो स्थानलाई पनि एक पीठको रूपमा वर्णन गरिएको छ। शास्त्रीय हिसाबले यी दुई नदी, बुढीगण्डकी र नेत्रावतीलाई नारसिंह र ब्राह्मी भनेर स्कन्द पुराण र पद्य पुराणमा व्याख्या गरिएको छ।
स्थानीयहरूले पनि घाटबेंसीको पुल निर्माण हुनुअघि गण्डकी नदी जंघार तर्दा त्यहाँ रहेको थुम्कामा फूलपाती र भेटी चढाएर जाने चलन रहेको सुनाउने गर्छन्। त्यतिबेला कतिपय मानिसहरूले जताततै इँटा देखिने हुँदा यस क्षेत्रलाई ‘इँटको डाँडो’ भन्ने गरेको किंवदन्ती छ। २०३५ सालभन्दा अगाडि उत्खनन गर्दा त्यहाँबाट झन्डै दुई पाथी जति सिक्का भेटिएको पनि दाबी गरिन्छ। अहिले यो स्थान स्थानीय मात्र होइन, आसपासको क्षेत्रको धार्मिक र पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ।
सरकारको राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा उक्त मन्दिर पर्छ। आयोजना निर्माण हुँदा ७० मिटर अग्लोसम्म पानीको ताल जाँदा त्यसलाई थेग्न सक्नेगरी मन्दिरको जग निर्माण गरिएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीले जानकारी दिए। जलाशययुक्त बुढीगण्डकी परियोजना बनेपछि मन्दिरसम्म डुंगामा आउने र लिफ्टबाट मन्दिरमा झर्ने संरचना निर्माण गर्न प्रस्ताव गरिएको जानकारी उनले दिए।
नमूना परियोजना रूपमा अघि बढाउन १५ हजार वर्ग फिटलाई याकुराम बनाएर राख्नेगरी डिपिआर गरिएको छ। सोहीअनुसार जग निर्माण गरिएको पुरोहित गणेश लोहनीले जानकारी दिए। ‘अहिले भने धार्मिक तीर्थस्थल मात्र छ र भोलि हाम्रो सोचअनुसार यो पर्यटकीय दृष्टिकोणले पनि महत्त्वपूर्ण स्थल बन्नेछ,’ उनले भने, ‘विश्वमै पानीमुनि मन्दिर भएको पहिलो परियोजना बन्नेछ।’

मन्दिर सार्ने होइन, सिसाले ढाकेर मन्दिरभित्रबाट पानीभित्रको जलचर प्राणी पनि देख्न मिल्ने गरी परियोजना प्रस्ताव गरिएको जनाउँदै उनले थपे, ‘बुढीगण्डकी चार खर्बको परियोजना हो। त्यसले आफ्नो लगानी उठाउनु पहिला नै यसले डेढ अर्ब उठाउने छ।’
सदरमुकाम धादिङबेसीबाट मुरलीभन्ज्याङ, ज्यामिरेबजार हुँदै ३० किलोमिटर पूरा गरेर नरसिंह धाम पुग्न सकिन्छ।
त्यस्तै, धादिङको पुरानो सदरमुकाम नेवारोपानी (सुनौलाबजार) मा रहेको अर्को धार्मिक स्थल हो– भैरवी मन्दिर। माछाको शरीरजस्तो भूबनोटको टाकुरामा यो मन्दिर रहेको छ। दुईतिर कहालीलाग्दो भिरको चुचुरामा यो मन्दिर अवस्थित छ। नीलकण्ठ नगरपालिका–६ मा पर्ने यो मन्दिरले धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व मात्र बोकेको छैन, त्यहाँबाट गणेश हिमाल, मनास्लु, माछापुच्छ्रे, मानापाथीलगायत आधा दर्जन बढी हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ। राजधानी काठमाडौंको थानकोटसम्मका पहाडहरू पनि त्यहाँबाट नियाल्न सकिन्छ।
राम शाहले १६६६ सालमा स्थापना गरेको आठवटा शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक रहेको लालमोहरमा लेखिएको बताइन्छ। पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बास बसेर भाकल गरेका र भाकलपछि नुवाकोट विजय हासिल गरेको विभिन्न लेख तथा लिपिमा भेटिन्छ।
पौराणिक भनाइअनुसार यस मन्दिरसँग भगवान् भैरव र भैरवीको कथा जोडिएको छ। भगवान् भैरवको श्रीमती भैरवीलाई सुत्केरी हुँदा मासु खान मन लाग्यो। भैरव बाघको रूप धारण गरेर मासु लिन जाँदा सुँगुरको सिकार गरेर फर्किए। सुँगुर भन्ने थाहा पाएपछि भैरवी डराएर घोप्टो परेर बसेकी छन्। भैरवलाई भित्र पस्न नदिएर, प्रश्रव पीडामा छटपटिएकी भैरवीलाई छाडेर टाढा जान नसकेपछि भैरव भैरवी बसेकै तल्लोपट्टि बसेको किंवदन्ती छ। सोहीअनुसार अहिले पनि भैरवी र भैरवको छुट्टाछुट्टै पूजा गरिन्छ। भैरवीको मन्दिर निर्माण सकिए पनि भैरवको मन्दिरको निर्माण जारी रहेको स्थानीय गणेशकुमार श्रेष्ठ बताउँछन्।
सदरमुकाम धादिङबेसीबाट १८ किलोमिटरको दुरीमा रहेको सो मन्दिरमा बडादसैं र चैते दसैंमा विशेष मेला लाग्छ। २०७२ सालको भूकम्पले भत्किएको मन्दिरको २०७६ फागुनबाट पुनर्निर्माणको काम सुरु भएको हो। १३ करोडको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर निर्माणको काम सुरु गरिएको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए।
आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित हुँदै गएको उक्त मन्दिरमा खानेपानी, शौचालयका साथै सुरक्षालाई समेत दृष्टिगत गर्दै सिसी क्यामेरा र इन्टरनेट पनि जडान गरिएको छ। धादिङको पुरानो सदरमुकाम भैरवी मन्दिरको तल्लो भागमा सुनौलाबजार छ। खानेपानीको अत्यधिक समस्या भएपछि २०३२ सालमा त्यहाँबाट सदरमुकाम धादिङबेसी सारिएको हो। त्यससँगै अधिकांश स्थानीयहरू सदरमुकामसँगै बेसी झर्दा सुनौलाबजार र भैरवी मन्दिरसमेत ओझेलमा परेको थियो।
अहिले उद्योग वाणिज्य संघ धादिङले दशौं धादिङ महोत्सवमार्फत भैरवी मन्दिरको प्रचारप्रसार मात्र होइन, धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल लिएको अध्यक्ष रामकुमार डल्लाकोटीले जानकारी दिए। पुरानो सदरमुकाम र भैरवी मन्दिरले कुनै बेला पूरै धादिङको नेतृत्व गरेको बताउँदै उनले भने, ‘भैरवी मन्दिर आन्तरिक पर्यटकका लागि एउटा आकर्षक गन्तव्य बन्न सक्छ। यो मन्दिर धादिङको पहिचान र आर्थिक समृद्धिको आधारका रूपमा हामीले लिएका छौं र सोहीअनुसार यसको विकास गर्ने प्रयासमा छौं।’ १९४७ मा धादिङको बेनीघाट इराङबाट जंगीअड्डा सुनौलाबजार सरेपछि त्यहाँ नै सदरमुकामका लागि आधार बनेको स्थानीयहरू बताउँछन्।
