पहाडी जिल्लाका उम्मेदवार मतदाता फकाउन तराईका जिल्लामा


आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै जाँदा लुम्बिनी प्रदेशका पहाडी जिल्लाका उम्मेदवार मतदाता फकाउन तराईका जिल्ला झर्न थालेका छन्।

लुम्बिनी प्रदेशका पहाडी जिल्लाका गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठानका उम्मेदवार मतदातासँग भेटघाट र आफ्नो पक्षमा मतदाता फकाउन तराईका जिल्ला रूपन्देही र कपिलवस्तु केन्द्रित हुन थालेका छन्। उनीहरूले तराईका जिल्लामा आ–आफ्ना पार्टीका भेला, बैठक र मतदातासँग प्रत्यक्ष भेटेरै मतदाता रिझाउने कार्यक्रम थालेका छन्।

प्रदेशका १२ जिल्लामध्ये एउटा हिमाली जिल्ला पूर्वी रुकुम र अन्य पाँच पहाडी जिल्ला पर्दछन्। पहाडी जिल्लाका धेरै मतदाता बसाइ सरेर रूपन्देही, कपिलवस्तु र काठमाडौंलगायत जिल्लामा आएका छन्। तर उनीहरूले मतदाता नामावली भने स्थानान्तरण नगरिसकेकाले निर्वाचनका समयमा उम्मेदवार मत माग्न यी जिल्लामा पुग्ने गरेका छन्।  

गुल्मी क्षेत्र न १ बाट नेकपा (एमाले)का उम्मेदवार प्रदीपकुमार ज्ञवाली, नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल र नेपाली कम्युनिष्ट पार्टीबाट शुदर्शन बराललगायत १० राजनीतिक दलहरूसँगै ११ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यस क्षेत्रमा एक लाख २२ हजार १८६ मतदाता रहेका छन् । उम्मेदवारहरूले बुटवल र भैरहवामा कार्यकर्ता भेला तथा बैठक गरेर फागुन २१ को निर्वाचनमा मतदान गर्न जिल्ला फर्कन आह्वान गरेका छन्।

नेकपा (एमाले) को तर्फबाट यस क्षेत्रमा उम्मेदवार बनेका ज्ञवालीले बिगतका निर्वाचनको तथ्याङ्कलाई हेर्दा रूपन्देही, नवलपरासी र कपिलवस्तुलगायत क्षेत्रमा गुल्मी जिल्लाका झण्डै १० हजारको सङ्ख्यामा मतदाता रहेको अनुमान गर्छन्। उनले जिल्ला बाहिरका मतदातालाई निर्वाचनमा मतदानका लागि आउने वातावरण बनाउन अन्य जिल्लामा पुगेर भेटघाट, भेला, छलफलजस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बताउँछन्।

यसअघिका स्थानीय तह निर्वाचन र सङ्घीय तथा प्रादेशिक निर्वाचनमा यसरी नै उम्मेदवारहरूले बेजिल्लामा रहेका मतदातालाई भेटेर मत माग्ने कार्यलाई अहिले निरन्तरता दिएका छन्। तर यस वर्ष जेनजी आन्दोलनपछिको विशेष परिस्थितमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको घोषणा हुँदा उम्मेदवारलाई मतदाता खोज्न सकस परेको हो।  

नेपाली कांग्रेस गुल्मी क्षेत्र न. १ का उम्मेदवार चन्द्र भण्डारी विसं २०७९ को निर्वाचनमा नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीलाई पराजित गरेर निर्वाचित भएका थिए। विसं २०७९ को निर्वाचनमा रूपन्देही जिल्लाबाट मात्र आफूले चार हजार ५०० मतदाता मतदानका लागि गुल्मी पुर्याएको बताउँछन्। यस पटक बुटवलमा एकपटक भेला गरी सकेको र यसलाई निरन्तरता दिने उनी बताउँछन्।

जिल्लाको क्षेत्र नम्बर २ मा १० दल र १२ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस क्षेत्रबाट एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री गोकर्ण विष्ट, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठ, नेकपाका श्रीराम महत र रास्वपाबाट गोविन्द पन्थी चुनावी मैदानमा रहेका छन्। उज्यालो नेपाल पार्टीबाट कर्णबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक सेन, नेशनल रिपब्लिक नेपालबाट पदम थापामगर, मङ्गोल नेशनल अर्गनाइजेसनबाट बेदबहादुर थापा उम्मेदवार रहेका छन्। यस निर्वाचनमा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन्।  

निर्वाचन प्रचारप्रसारका क्रममा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका पार्टी उपाध्यक्ष विष्टले बुटवलमा तीन दिनसम्म आफ्नो निर्वाचन क्षेत्रका पालिका स्तरीय विभिन्न कार्यक्रम तथा मतदातासँग भेटघाट सकाएर बिहीबार जिल्ला फर्किएका छन्। उनले बुटवलमा तीन दिनसम्म झण्डै एक दर्जन कार्यक्रम सम्पन्न गरे।

नेकपा (एमाले) पाल्पा क्षेत्र न २ का उम्मेदवार ठाकुर गैर आफ्नो क्षेत्रका धेरै मतदाता स्थायी बसोबास वा विभिन्न पेसाका लागि बुटवल, भैरहवा लगायतका क्षेत्रमा रहेकाले उनीहरूलाई निर्वाचनमा मतदानका लागि आउने वातावरण निर्माण गर्न पार्टीले कार्यक्रम गर्ने योजना रहेको बताउँछन्। नेपाली कम्युनिष्ट पार्टीका तर्फ बाट पाल्पा क्षेत्र न. २ मा उम्मेदवार बनेका सोमप्रसाद पाण्डेले माघ १८ गते बुटवलमा पत्रकार सम्मेलन गरेर पाल्पाबाट बुटवललगायत क्षेत्रमा बसेका मतदातालाई निर्वाचनमा मतदानका लागि निमन्त्रणा गरे। यससँगै उनले रूपन्देहीका विभिन्न स्थानमा कार्यकर्ता भेटघाट र भेला आयोजना गरेर मतदातालाई रिझाउने काम गरेका छन्।

पाल्पा क्षेत्र नं २ मा एक लाख नौ हजार ५३ जना मतदाता रहेका छन् । जसमा ५३ हजार ७७५ जना पुरुष र ५५ हजार २७८ जना महिला मतदाता रहेका छन् । क्षेत्र नं २ मा ११८ मतदानस्थल र २५१ वटा मतदान केन्द्र रहेका छन् । यस निर्वाचन क्षेत्रमा १४ वटा राजनीतिक दलसहित दुई स्वतन्त्र गरी १६ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एक महिलासहित १५ जना चुनावी प्रतिस्पर्धामा छन्। विभिन्न पार्टीका १२ जना र तीन जना स्वतन्त्र गरी १५ जना प्रतिनिधिसभाको निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा छन्।  यस जिल्लामा नेपाली कांग्रेसबाट विष्णुप्रसाद खनाल र नेकपा (एमाले) बाट पिताम्बर भुसालको उम्मेदवारी परेको छ। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरिप्रसाद भुसाल, नेकपा (माओवादी) बाट खीमबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झविन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुस्करनाथ आचार्य र स्वतन्त्र उम्मेदवार रवि शाह उम्मेदवार रहेका छन्।

अर्घाखाँची जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कूल एक लाख ७१ हजार ६५२ जना मतदाता रहेका छन्। जसमा पुरुष ८७ हजार १५७ जना र महिला ८४ हजार ४९५ जना रहेका छन्। यस जिल्लामा १०२ मतदानस्थल र २०९ मतदान केन्द्र रहेका छन्।  

उम्मेदवारहरूले जिल्लामा प्रचारप्रसारका कार्यक्रमसँगै बुटवल, भैरहवा, कपिलवस्तुलगायत ठाउमा पुगेर मतदातासँग भेटघाट गरेका छन्। नेकपा (एमाले) का उम्मेदवार पिताम्बर भुसालले बुटवलमा एक चरण कार्यकर्ता भेला गरेर मतदाता रिझाउने काम सकाएको बताउँछन‍्। उनले आवश्यक परे फेरि विभिन्न कार्यक्रम आयोजना गरिने बताउँछन्। उनले अर्घाखाँचीका धेरै मतदाता कपिलवस्तुमा बसोबास रहेको र यसबाहेक बुटवल, भैरहवा, काठमाडौं, दाङमा रहेका मतदातालाई निर्वाचनमा मतदानका लागि आह्वान गरिँदै आएको बताउँछन्। उनले जिल्लाका कूल मतदातामध्ये झण्डै ४० प्रतिशत मतदाता जिल्ला बाहिर रहेको बताउँछन्।

नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनाल जिल्लामा मात्र केन्द्रित रहेर सबै मतदातासँग पुग्न नसकिने बताउँछन्। उनी आफ्ना चुनावी मुद्दा लिएर जिल्ला बाहिरका मतदातासँग पुग्ने क्रममा रहेको यसैअन्तर्गत पहिलो चरणमा बुटवलमा कार्यक्रम सम्पन्न गरेको बताउँछन्। उनले पोखरा, काठमाडौं, रूपन्देही र कपिलवस्तुलगायत क्षेत्रमा धेरै मतदाता रहेकाले तिनलाई निर्वाचनमा मतदानका लागि आउने वातावरण निर्माण गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे।

निर्वाचन आयोगले जिल्ला बाहिर रहेका यस्ता मतदातालाई मतदानमा सहभागी हुन उत्प्रेरित गर्न निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको प्रदेश निर्वाचन कार्यालय, दाङका सूचना अधिकारी गेहेन्द्र कुँवर बताउँछन्। उनी मतदाता केन्द्रित निर्वाचन शिक्षा कार्यक्रम निर्वाचन आयोगले विभिन्न सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण गर्ने काम हुँदै आएको यसका साथै राजनीतिक दलहरूले यस्ता कार्यक्रम गरिरहेको बताउँछन्। रासस

प्रकाशित: २४ माघ २०८२ १०:५६ शनिबार





Source link

Leave a Comment