घरका भित्ताबाट सामाजिक सञ्जालमा सरेको नेपालको चुनावी प्रचार, जनमत बटुल्न हजारौं डलर खर्च



प्रकाशित मिति : माघ २३, २०८२ शुक्रबार

घरका भित्ताबाट सामाजिक सञ्जालमा सरेको नेपालको चुनावी प्रचार, जनमत बटुल्न हजारौं डलर खर्च

नेपालमा कुनै बेला चुनावका उम्मेदवार र राजनीतिक दलका पोस्टरहरू घरका भित्ताहरूमा टाँसेर प्रचार गरिन्थ्यो। घरका भित्ताहरू चुनावी नाराले रंगिएका देखिन्थे। तर अब समय बदलिएको छ। राजनीतिक दल र उम्मेदवारहरूले चुनावी प्रचारलाई डिजिटल बनाइरहेका छन्। सामाजिक सञ्जालका भित्ताहरूमा उनीहरूको उपस्थिती छ्यापछ्याप्ती देखिन थालेको छ। सामाजिक सञ्जाल पोस्टदेखि टिकटक र रिल्ससम्म उम्मेदवारका प्रचारहरू फरक–फरक शैलीमा देखिने गरेका छन्।

राजनीतिक दल र तिनका उम्मेदवारहरूले विभिन्न सामाजिक सञ्जालमा फरक नामका एकाउन्टहरू खोलेर वा कन्टेन्ट क्रियटरहरूको प्रयोग गरेर मतदातालाई प्रभावित पार्ने प्रयास गरिरहेका छन्। चुनाव नजिकिँदै जाँदा फेक एकाउन्टहरूको बाढी पनि देखिएको छ। आफ्ना नाममा खुलेका फेक एकाउन्ट वा आफूलाई फाइदा पुग्ने गरी भएका प्रचारका सन्दर्भमा उम्मेदवारहरू पनि प्रायः चुप रहने गरेका छन्।

नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी रहँदा राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाउने क्रममा डिजिटल प्रविधिको प्रयोगमा लाखौं रुपैयाँ खर्च गरेको पाइएको छ। कन्टेन्ट बनाउन र प्रचार गर्न मात्र होइन, त्यस्ता कन्टेन्टलाई बुस्ट गर्नका लागि पनि राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालमा हजारौं डलर खर्चिएका छन्।

पछिल्लो ९० दिनमा कसले कति खर्च गरे?

फेसबुकको मेटा एड्सको गत नोभेम्बर ५ देखि फेब्रुअरी २ सम्मको रिपोर्टअनुसार तीन महिनामा फेसबुकमा सबैभन्दा बढी पैसा तिरेर विज्ञापन गर्नेमा गतिशील लोकतान्त्रिक पार्टी अगाडि रहेको छ। उक्त पार्टीले आफ्नो फेसबुक पेजमार्फत ४५ वटा सामग्रीको प्रचार गर्न १,४५९ अमेरिकी डलर अर्थात् झण्डै २ लाख नेपाली रुपैयाँ खर्च गरेको छ। डलर खर्चिएर गरिएको फेसबुक विज्ञापनमा अधिकांश पार्टीका एजेन्डा, भावी योजना र उम्मेदवारहरूको परिचय समेटिएको छ।

सोही पार्टीका नेता तथा नेपालका सफल व्यवसायी एवं बुद्ध एयरलाइन्सका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत पनि डलर खर्च गरेर विज्ञापन गर्नेमा सक्रिय छन्। उनले पछिल्लो ९० दिनमा ६३० अमेरिकी डलर खर्च गरी फेसबुकमार्फत पार्टीका एजेन्डाहरूको प्रचार गरिरहेका छन्। “वीरेन्द्रबहादुर बस्नेत–सचिवालय” नामक फेसबुक पेजमार्फत विज्ञापन भइरहेको मेटा एड्सको रिपोर्टले देखाउँछ।

फेसबुकमार्फत विज्ञापन गर्नेमा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि सक्रिय छ। घिसिङ नेतृत्वको उक्त पार्टीका पाँच वटा फेसबुक पेजले डलर खर्च गरेर विज्ञापन गरेका छन्। जसमध्ये “उज्यालो नेपाल पार्टी–परिवर्तन” ले पछिल्लो ९० दिनमा २६ वटा सामग्री फेसबुकमा पैसा तिरेर प्रचार गरेको छ। जसबापत उक्त पेजले १,२६६ अमेरिकी डलर अर्थात् झण्डै १ लाख ८३ हजार नेपाली रुपैयाँ खर्च गरेको छ।

त्यस्तै, “उज्यालो नेपाल अफिसियल” नामक पेजले पछिल्लो ९० दिनमा ८२९ डलर खर्च गरेको छ भने “राष्ट्रिय परिवर्तन पार्टी ओखलढुंगा” नामक फेसबुक पेजमार्फत ६३४ डलर खर्च गरेर विज्ञापन गरिएको छ। “जेनजी युनाइटेड मुभमेन्ट–परिवर्तन” बाट नाम परिवर्तन गरी राष्ट्रिय परिवर्तन पार्टी बनाइएको फेसबुक पेजबाट पनि पछिल्लो ९० दिनमा ३६८ डलर खर्च गरी फेसबुकमार्फत विज्ञापन गरिएको छ। राष्ट्रिय परिवर्तन पार्टी पनि घिसिङकै नेतृत्वमा रहेको छ, र उक्त पार्टीले घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीसँग एकता गरिसकेको छ।

उज्यालो नेपाल पार्टीबाट काठमाडौं क्षेत्र नं. ५ मा उम्मेदवार बनेका श्री गुरुङले पनि पछिल्लो ९० दिनमा ५९२ डलर खर्च गरेर सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन्।

निर्वाचन नजिकिँदै जाँदा आफ्नो प्रचारप्रसारलाई तीव्र बनाउन फेसबुकमा डलर खर्च गर्नेमा नेपाली कांग्रेसका नेताहरू सुनिल कुमार शर्मानैनसिंह महर पनि रहेका छन्। कांग्रेसबाट मोरङ क्षेत्र नं. ३ का उम्मेदवार शर्माले पछिल्लो ९० दिनमा ३४८ अमेरिकी डलर खर्च गरेका छन् भने डडेलधुराबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार महरले सोही अवधिमा ३३८ अमेरिकी डलर खर्च गरेका छन्।

यसरी फेसबुकमा डलर खर्च गर्नेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको “आरएसपी–कभरेज” नामक फेसबुक पेज पनि सक्रिय छ। साथै, सर्लाही क्षेत्र नं. ३ बाट नेकपाका उम्मेदवार नारायणकाजी श्रेष्ठ, कास्की क्षेत्र नं. २ बाट उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङ, काठमाडौं क्षेत्र नं. ९ बाट नेकपा (एमाले) का उम्मेदवार डा. अजय क्रान्ति शाक्य, तथा धनुषा क्षेत्र नं. ४ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार डा. कृष्ण चन्द्र शाह लगायतले पनि फेसबुकमा पैसा तिरेर चुनावी प्रचार गरिरहेका छन्।

किन डिजिटलमा मोडियो चुनावी प्रचार?

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा बसोबास गर्ने नागरिकमध्ये ७३ प्रतिशतले स्मार्टफोन प्रयोग गर्छन्। तीमध्ये ३७.८ प्रतिशत नागरिक इन्टरनेटको पहुँचमा छन्। इन्टरनेट प्रयोगकर्तालाई लक्षित गर्दै राजनीतिक दल र उम्मेदवारहरूले फेसबुकमा प्रचारप्रसार गरिरहेका हुन्। डिजिटल प्रचारको सबैभन्दा ठूलो आकर्षण कम खर्चमा धेरै नागरिकसम्म पुग्नु हो।

छोटो समयमा इन्टरनेटमार्फत नागरिकसमक्ष आफ्नो चुनावी एजेन्डा पुर्‍याउन सहज हुने भएकाले डलर खर्चिएर विज्ञापन गर्ने गरिएको राजनीतिक विश्लेषक प्रा. डा. गोविन्दमानसिंह कार्की बताउँछन्। “यो उम्मेदवारहरूका लागि पब्लिकसम्म पुग्ने सहज माध्यम हो,” उनी भन्छन्।

घरका भित्ताबाट सामाजिक सञ्जालमा सरेको नेपालको चुनावी प्रचार, जनमत बटुल्न हजारौं डलर खर्च
निर्वाचन आयोग नेपाल । फोटो: दीपेन्द्र ढुंगाना

कार्कीका अनुसार नयाँ राजनीतिक दल र उम्मेदवारहरूले विगतदेखि नै प्रविधिको प्रयोग गर्दै आएका छन्, र पुराना दलहरूले पनि आफूलाई प्रविधिमैत्री बनाउँदै अघि बढिरहेका छन्। “यो निर्वाचनमा अझ बढी डिजिटल प्रविधिको प्रयोग देखिएको छ। नयाँ दल र उम्मेदवारहरू बढी प्रविधिमैत्री देखिन्छन्,” उनी भन्छन्, “पुराना दलहरूले पनि आफूलाई टेक्नोलोजीमैत्री बनाउँदै लगेका छन्।”

निर्वाचन आयोगले निर्वाचनका बेला राजनीतिक दल र उम्मेदवारहरूले गरेको डिजिटल प्रचारलाई सूक्ष्म रूपमा निगरानी गरिरहेको जनाएको छ। आयोगको यसबारे आचारसंहिता पनि रहेको छ । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सामाजिक सञ्जालमा गरिएको खर्चलाई पनि निर्वाचन खर्चमै समावेश गरिनेछ।

“अहिले कुन व्यक्ति वा संस्थाले सोसल मिडियामा कति खर्च गर्‍यो भनेर हेर्न गाह्रो छैन। प्राविधिक रूपमा हामी सहजै हेर्न सक्छौँ,” प्रवक्ता भट्टराई भन्छन्। “उहाँहरूले गरेको खर्च निर्वाचन खर्चको सीमा भित्र रह्यो कि रहेन भनेर पनि हामी जाँच गर्छौँ।”

कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खर्चको सीमा तोकिसकेको छ। आयोगले निर्वाचन क्षेत्रअनुसार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ।

जसअनुसार अधिकतम २२ लाख रुपैयाँ खर्च गर्न पाउने क्षेत्रमा ताप्लेजुङ– १, रोल्पा–१, पाँचथर–१, सङ्खुवासभा–१, प्युठान–१, दाङ– १, सोलुखुम्बु–१, बर्दिया–१ र २, खोटाङ– १, सल्यान–१, दोलखा– १, डोल्पा – १, रामेछाप–१ र हुम्ला– १ रहेका छन् ।

यस्तै, काभ्रेपलाञ्चोक– १ र २, मकवानपुर १ र २, गोरखा–१, जाजरकोट – १, बझाङ–१, डोटी–१, लमजुङ–१, बैतडी–१ र अर्घाखाँची–१ उम्मेदवारहरूले अधिकतम ३३ लाख रुपैयाँ खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार इलाम–१ र २, नवलपरासी (ब.सु.पू.)– १ र २, झापा–२, ३ र ५, म्याग्दी – १, भोजपुर–१, पर्वत–१, धनकुटा–१, गुल्मी–१, मोरङ– १, २ र ३, रुपन्देही–१ र ५, सुनसरी–१ र २, ओखलढुङ्गा–१, उदयपुर–१, कपिलवस्तु १ र २, दाङ– २ र ३ र बाँके – १ का उम्मेदवारहरूले अधिकतम ३१ लाख रुपैयाँ खर्च गर्न सक्ने छन् । त्यस्तै, सर्लाही–१ र ३, मुगु–१, बारा–१, जुम्ला–१, सिन्धुली–१ र २, कालिकोट–१, धादिङ–१ र २, सुर्खेत– १ र २, नुवाकोट–१ रुकुम पश्चिम – १, सिन्धुपाल्चोक – १ र २, बाजुरा– १, चितवन–१ र ३, कास्की–३, कैलाली–४, दार्चुला–१, तनहुँ–१ र २, डडेलधुरा – १, र स्याङ्जा–१ का उम्मेदवारहरूले पनि अधिकतम ३१ लाख रुपैयाँ खर्च गर्न सक्ने आयोगले जनाएको छ ।

आगामी निर्वाचनमा अधिकतम २९ लाख रुपैयाँ खर्च गर्न सक्ने निर्वाचन क्षेत्रहरूमा झापा–१ र ४, गोरखा–२, कास्की–१, मोरङ – ४, ५ र ६, सुनसरी – ३ र ४, स्याङ्जा–२, उदयपुर–२, सप्तरी–१, २, ३ र ४, सिराहा–१, २, ३ र ४ , धनुषा–१, २, ३ र ४, मुस्ताङ–१, बागलुङ– १ र २, गुल्मी –२, पाल्पा–१ र २ रुपन्देही – २, ३ र ४ र महोत्तरी–१, २, ३, ४ रहेका छन् । त्यस्तै, रौतहट– १, २, ३ र ४, बारा – २, ३ र ४, सर्लाही–२ र ४, कपिलवस्तु–३, बाँके – २ र ३, नवलपरासी (ब.सु.प.)–१ र २, पर्सा–४, दैलेख–१ र २, नुवाकोट–२, अछाम १ र २, भक्तपुर–१, चितवन– २, कैलाली–१, २, ३, ४ र कञ्चनपुर १, २, ३ का उम्मेदवारहरूले पनि अधिकतम २९ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् ।

त्यसै गरी, तेह्रथुम–१, पर्सा–१, २ र ३, रसुवा – १, काठमाडौं–२, ४, ५, ९ र १०, भक्तपुर–२, ललितपुर– १, २ र ३, मनाङ– १, कास्की–२ र पूर्वी रुकुम –१ का उम्मेदवारहरूले अधिकतम २७ लाख रुपैयाँ खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । जसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् ।





Source link

Leave a Comment