News Summary
Generated by OK AI. Editorially reviewed.
- मार्टिन स्कोरसेजीको फिल्म ‘गुडफेल्लाज्’ न्युयोर्कको सङ्गठित अपराधको संस्कृति र हेनरी हिलको ग्याङस्टर जीवनशैलीमा आधारित छ।
- फिल्ममा हेनरीले आफ्नो समूहको नियम पालना गरेर ग्याङमा प्रवेश गर्छन् तर जीवित बाहिर निस्कन ती नियमहरू तोड्नुपर्छ।
- ‘गुडफेल्लाज्’ले अमेरिकन ड्रिमको विनाशकारी पाटो र बिनापरिश्रम प्राप्त विशेषाधिकारले एक्लोपना र विश्वासघाततर्फ लैजान्छ भन्ने देखाउँछ।
‘मलाई जहाँसम्म सम्झना छ, म सधैँ एक ग्याङस्टर बन्न चाहन्थेँ। मेरा लागि ग्याङस्टर बन्नु अमेरिकाको राष्ट्रपति बन्नु भन्दा पनि राम्रो कुरा थियो।’ मार्टिन स्कोरसेजीको विश्वविख्यात फिल्म ‘गुडफेल्लाज्’ को आरम्भमै हेनरी हिलले यो वाक्य बोल्छन् ।
‘गुडफेल्लाज्’ न्युयोर्कको सङ्गठित अपराधको संस्कृति र विषयमा आधारित फिल्म हो । यो सुत्रधार हेनरीको आफ्नो पुरानो ग्याङस्टर जीवनशैलीको सम्झनामा आधारित छ ।
फिल्ममा सुत्रधारकी सहायक हेनरीकी पत्नी भन्छिन्, ‘तिनीहरू साधारण कामदार वर्गका मानिस थिए, जसले अतिरिक्त पैसा कमाउनका लागि केही बांगो बाटोहरू रोज्नुपर्थ्यो।’ तिनीहरूको शक्ति र रवाफ नशाजस्तै हुन्थ्यो । हेनरी भन्छ, ‘यदि हामीलाई केही चाहियो भने, हामी सिधै लिन्थ्यौँ । किन त्यसो गरेको भनेर कसैले दुई पटक प्रश्न गर्यो भने उसले यस्तो पिटाइ खान्थ्यो कि, फेरि कहिल्यै सोध्ने आँट गर्दैनथ्यो।’
फिल्मको अन्त्यमा, हेनरी (रे लियोटा) अझै पनि ती पुराना दिनहरू सम्झिन्छ । उनको पैसा सकिएको छ, धेरैजसो साथीहरू मरिसकेका छन् र उसको सबैभन्दा मिल्ने साथी जिम्मी (रोबर्ट डी निरो) नै उसलाई मार्ने योजना बनाइरहेको थियो । तर ‘फेडरल विटनेस प्रोटेक्सन प्रोग्राम’ मा सुरक्षित साथ रहँदा पनि ऊ सम्झिन्छ, ‘हामीलाई शक्तिशाली फिल्म स्टारजस्तै व्यवहार गरिन्थ्यो । आज सबै कुरा फरक छ । अब कुनै रोचकता छैन । मैले आम मानिसझैँ लाममा बसेर कुर्नुपर्छ ।’
आम मानिसहरूले अत्यन्त परिश्रमका साथ पाउने सुविधाहरू बिनापरिश्रम नै प्राप्त हुनुको स्वाद र अवसादको प्रदर्शन नै ‘गुडफेल्लाज्’ (१९९०) को मूल तत्त्व हो । फिल्मको एउटा सुरुवाती दृश्यमा हेनरीका साझेदार मित्र जिम्मी कोन्वे (रोबर्ट डी निरो) को प्रवेश निकै शान्त तर प्रभावशाली छ ।
उसको शारीरिक हाउभाउ र भावमा कुनै रवाफ वा प्रशंसाको अपेक्षा छैन । तर हेनरीका अर्का साझेदार मित्र टमी डेभिटो (जो पेसी) जिम्मीको ठीक विपरीत छन्, जसले आफ्नो शक्तिलाई ठहराव दिनुको साटो त्यसको अनावश्यक प्रदर्शन गर्छन् । सिनेमाको एक उत्कृष्ट दृश्यमा आफू अब गिरोहको पूर्ण सदस्य (‘मेड म्यान’) बन्न लागेको विश्वासमा रहेका टमीले आफ्नो गल्ती ढिलो गरी थाहा पाउँछन र टाउकोमा गोली लागेर उनको मृत्यु हुन्छ । उनी कहिल्यै शान्त भएर आफ्नो विशेषाधिकारको आनन्द लिन जान्दैनन्, उनले सधैँ हरेक कुरालाई सीमाभन्दा बाहिर धकेल्छन्।
हेनरी जिम्मीको नियम अक्षरशः पालना गरेर ग्याङमा प्रवेश गर्छन्, तर त्यही ग्याङबाट जीवित बाहिर निस्कन उनले तिनै नियमहरूलाई पूर्णरूपमा तोड्नुपर्ने हुन्छ ।
फिल्मका सुरुवाती दृश्यले युवा हेनरी हिललाई ब्रुकलिनको स्थानीय गिरोहको सहयोगीका रूपमा देखाउँछन्, जसको मुख्य अखडा उसको घरकअगाडि एउटा ट्याक्सी ग्यारेजमा छ। झ्यालबाट बाहिर हेरिरहेको हेनरीको दृश्यले स्कोरसेजीको आफ्नै बाल्यकालको सम्झनालाई प्रतिबिम्बित गर्छ ।
स्थानीय गिरोहको सहयोगीका रूपमा काम गर्दा हेनरीका लागि स्कुल जानु दोस्रो प्राथमिकतामा पर्न जान्छ, जसको कारण उसले बुबाको थप्पड खानुपर्छ । आफ्नो किशोरावस्थामा उसले घरमा धेरै कुटाइ खानुपर्यो, तर हेनरीका अनुसार त्यो सार्थक थियो।
आफ्नो उदाउँदो करियरमा हेनरीको हर्ष र गर्व स्पष्ट देखिन्छ । उनी एक्काइस वर्षको उमेरमै अरूलाई प्रशस्त ‘टिप्स’ दिने हैसियत राख्छन् । फिल्मको एक दृश्यमा उनी आफ्नी हुनेवाला श्रीमती करेन (लोरेन ब्राक्को) लाई कोपाकाबाना नाइट क्लबमा लैजान्छ । भित्र छिर्न मानिसहरूको लामो लाइन थियो । त्यो बाटोको सट्टा उनलाई भान्साको बाटो हुँदै सिधै स्टेजको अगाडि राखिएको टेबुलसम्म पुर्याउँछ । १८४ सेकेन्ड लामो लगातार खिचिएको यो सट क्यामेराम्यानको सीपभन्दा अतिरिक्त केही हो । सटले युवा हेनरी हिलका लागि यो संसार कति सहजै उपलब्ध छ भन्ने कुरा अभिव्यक्त गर्ने उत्कृष्ट तरिका हो ।
निकोलस पिलेगी र स्कोरसेजीद्वारा लिखित यो फिल्म पिलेगीकै पुस्तक ‘वाइजगाय’ मा आधारित छ । यसले पल सिसेरो (पल सोर्भिनो) नेतृत्वको एक आपराधिक परिवारलाई देखाउँछ । फिल्मले महिलाहरूलाई पनि पर्याप्त स्थान दिएको छ, जुन ग्याङस्टर फिल्महरूमा विरलै देखिन्छ । करेन हिल स्वीकार गर्छिन् कि उनी हेनरीको शक्ति र ख्यातिप्रति आकर्षित थिइन् । उनी भन्छिन्, ‘मलाई थाहा छ कतिपय महिलाहरू प्रेमीले लुकाउनका लागि बन्दुक दिनेबित्तिकै भाग्ने थिए, तर म भागिनँ । साँचो भन्नुपर्दा, यसले मलाई अझ बढी उत्तेजित बनायो।’
फिल्मको शैली हेनरीको उत्थानसँगै उत्साहपूर्ण छ, तर जब ऊ पलियाको सुझावलाई उपेक्षा गरेर लागूपदार्थ बेच्न थाल्छ, फिल्मको वातावरण पनि उकुसमुकुसयुक्त र तनावपूर्ण बन्दै जान्छ।
समग्रमा, स्कोरसेजीले आफ्ना अन्य अपराध विषयक फिल्ममा झैँ यस फिल्ममा पनि आफ्नो अद्भूत कला प्रदर्शन गरेका छन् । यो संगठित अपराधको कथा हो, तर यो समाजको नैतिक आधारमा उभिएर उपदेश छाँट्ने फिल्म होइन । यस फिल्मले केवल यति देखाउन खोजेको छ– किशोरहरू किन अपराधको संसारतर्फ आकर्षित हुन्छन् । जब हेनरी हिलले फिल्मको आरम्भमा दर्शकसँग कुरा गर्छन्, उसले आपराधिक संसारतर्फको आकर्षणको कुरा चुहाउँछन, ‘मेरा लागि यसको अर्थ ‘नोबडी’ हरूले भरिएको टोलमा ‘समबडी’ बन्नु थियो । तिनीहरू जे चाहन्थे, त्यही गर्थे…र कसैले पनि तिनीहरूलाई रोक्ने साहस गर्दैनथ्यो।’
कथानकमा हेनरी हिलले आफ्नो समूहको तोडेको ‘नियम’ वा ‘मर्यादा’ नै यस फिल्मको नैतिक मेरुदण्ड हुन्छ । जिम्मी कोन्वेले बालक हेनरीलाई शिक्षा दिएका हुन्छन्– आफ्ना साथीहरूलाई कहिल्यै धोका नदिनू र सधैँ आफ्नो मुख बन्द राख्नू । फिल्मको धेरैजसो भागमा यो केवल एउटा नियम मात्र नभएर हेनरीको पहिचान नै बन्छ ।
जब उनी किशोरावस्थामा चोरीको चुरोट बेचेको आरोपमा पक्राउ पर्छन्, उनी अदालतमा मौन बस्छन् । यो मौनताले जिम्मी र पलियाको नजरमा उनलाई नायक बनाउँछ । त्यस क्षणमा उनी परीक्षामा सफल हुन्छन् र प्रमाणित गर्छन् कि उनीसँग यस समूहमा टिक्न सक्ने हिम्मत र वफादारी छ । सानै उमेरको त्यस मौनता अथवा दृढता नै उनको ग्याङ भित्र छिर्ने प्रवेश-पत्र बन्छ।
फिल्मको अन्त्यमा देखिने दृश्य भने त्यो सुरुवाती वफादारीको ठ्याक्कै उल्टो र निर्मम छ । हेनरी अदालतको कठघरामा जिम्मी र पलियाविरुद्ध गवाही दिन उभिन्छन् । हेनरीले कुनै नागरिक कर्तव्यको बोध भएर नियम तोडेको होइन, उनले त केवल आफ्नो ज्यान जोगाउन यो बाटो रोजेको हो, किनभने उनलाई त्यही जिम्मीले मार्ने योजना बनाइरहेको थियो ।
यहाँ बिडम्बनायुक्त परिपूर्णता छ– हेनरी जिम्मीको नियम अक्षरशः पालना गरेर ग्याङमा प्रवेश गर्छन्, तर त्यही ग्याङबाट जीवित बाहिर निस्कन उनले तिनै नियमहरूलाई पूर्णरूपमा तोड्नुपर्ने हुन्छ । यो परिवर्तनले हेनरीले कुनै समय देखेको जीवनको ‘मर्यादा’ कति अपर्याप्त थियो भन्ने कुरालाई उजागर गर्छ ।
‘गुडफेल्लाज्’ को अन्तिम खण्डमा, जब पल सिसेरो र जिम्मी कोन्वे पक्राउ पर्छन्, तब एक रिपोर्टरले उनीहरूको सुट-कपडामाथि एउटा तीखो व्यङ्ग्य प्रहार गर्छन्, ‘जसले यी सुटहरू बेचे, तिनीहरूको पक्कै पनि ‘सेन्स अफ ह्युमर’ राम्रो हुनुपर्छ ।’ यो व्यंग्यले उनीहरूको हराउँदै गएको विरासतलाई ठूलो चोट पुर्याउँछ,
यो संवाद केवल फेसनको बारेमा गरिएको ठट्टा मात्र होइन, ग्याङस्टरहरूको गुमिरहेको शक्तितर्फ सङ्केत गर्न प्रयोग गरिएको एउटा महत्त्वपूर्ण हतियार हो ।
यो फिल्मले सिनेमाको परम्परागत घेरा तोडेर पात्रहरूको भित्री कथा सुनाउँछ, जसले दर्शकलाई नैतिकताभन्दा माथि शक्तिलाई रोज्नुको कारण बुझ्न बाध्य पार्छ । हास्य र भयको सन्तुलन मिलेको यो फिल्म आज पनि माफिया फिल्महरूमा सर्वोत्कृष्ट नमुना मानिन्छ ।
अन्ततः यो फिल्म ‘अमेरिकन ड्रिम’ को विनाशकारी पाटो र बिनापरिश्रम प्राप्त विशेषाधिकारले कसरी एक्लोपन र विश्वासघाततर्फ लैजान्छ भन्ने बुझ्नका लागि हेरिनुपर्छ।
