माघ ५ भन्दा अघिसम्म सिरहा-१ मा चुनावी माहोल प्राय: स्थिर देखिन्थ्यो। संगठित मत आफ्नै नियन्त्रणमा रहेको विश्वासमा परम्परागत दलहरू ढुक्क थिए।
बाजागाजा र कार्यकर्ताको भिडसहित माघ ६ गते निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका परम्परागत दलका उम्मेदवारहरू अहिले थोरबहुत अत्तालिएझैँ देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले मधेसमा भ्रमण गरेसँगै आफूहरूलाई विश्वास गर्दै आएका मतदाताहरू उता ढल्किने हुन् कि भनेर पुराना दलका नेताहरू अत्तालिएझैँ देखिएका हुन्। उनीहरू विरासत जोगाउने तरिकाले अघि बढिरहँदा नयाँ दलका नेताहरू पनि स्थापित हुन आक्रामक ढंगले अघि बढिरहेका छन्।
सिरहा-१ नेपाली कांग्रेस र नेकपा एमालेको दबदबा भएको क्षेत्र मानिन्छ। विगतका चुनावी परिणामको गणित हेर्दा कहिले कांग्रेस त कहिले एमालेले जितेको फेहरिस्त छ। तर यसपालि वसन्त ऋतुमा भइरहेको चुनावले मौसमलाई मात्र मोहक बनाएको छैन, चुनावलाई पनि मोहक बनाइदिएको छ। रूख बिरुवाले पालुवा फेर्ने यो मौसममा भइरहेको चुनावबाट प्रतिनिधि पनि फेर्ने संकेत देखिएको छ। यस क्षेत्रमा नेपाली कांग्रेसबाट रामसुन्दर चौधरी, नेकपा एमालेबाट पूर्वसांसद रामशंकर यादव, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रामचन्द्र यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सत्यनारायण यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अन्तरिम सरकारबाट राजीनामा दिएका बब्लु गुप्ता, जनमत पार्टीबाट रामस्वरूप चौधरीलगायत उम्मेदवार छन्।
२०४८ सालको आम निर्वाचनमा यस क्षेत्रबाट ११ हजार ८२४ मत ल्याएर नेपाली कांग्रेसका पद्मनारायण चौधरी निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी नेकपा (लोकतान्त्रिक) बाट चन्द्रशेखर लालले ११ हजार ३२० मत प्राप्त गरेका थिए। २०५१ को आम निर्वाचनमा १५ हजार ५२५ मत ल्याएर कांग्रेसका पद्मनारायण चौधरीले जित दोहोर्याएका थिए। एमालेका राजेन्द्र चौधरीले १३ हजार ३०७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रामलोचन महतोले आठ हजार ३७३ मत ल्याएका थिए। २०५६ सालको आम निर्वाचनमा एमालेबाट रामचन्द्र यादव १४ हजार ८१० मत ल्याएर निर्वाचित भएका थिए। कांग्रेसका पद्मनारायण चौधरीले १३ हजार आठ सय ५५ मत ल्याएका थिए। राप्रपाबाट लगनलाल चौधरीले नौ हजार ४२८, नेकपा मालेबाट रामशंकर यादवले आठ हजार १६४ मत र राप्रपा (चन्द) बाट रामलोचन महतोले दुई हजार १६० मत ल्याएका थिए।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट लक्ष्मण मेहता नौ हजार ८१४ मत ल्याएर निर्वाचित भएका थिए। कांग्रेसका पद्मनारायण चौधरीले नौ हजार ४०३, एमालेका गंगाप्रसाद यादवले ६ हजार ३२७, सद्भावना पार्टीका राजकुमार गुप्ताले तीन हजार ३६, नेकपा माओवादीका कृष्णदेव सिंह दनुवारले तीन हजार ४३७ र राप्रपाका वैद्यनाथप्रसाद साहले दुई हजार ४३० मत ल्याएका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका पद्मनारायण चौधरी १२ हजार १८३ मत ल्याएर निर्वाचित भएका थिए। नेकपा माओवादीबाट मुनि साह सुडीले आठ हजार २७७ मत ल्याएका थिए। संविधानसभाबाट संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभा निर्वाचन २०७४ मा नेपाली कांग्रेसबाट प्रदीप गिरी २३ हजार ९५१ मत ल्याएर निर्वाचित भएका थिए। नेकपा एमालेबाट गंगाप्रसाद यादवले २१ हजार ३५१ मत प्राप्त गरेका थिए भने जसपाबाट राजलाल यादवले १३ हजार ३५१ मत ल्याएका थिए।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट रामशंकर यादव २९ हजार ४६२ मत ल्याएर निर्वाचित भएका थिए। त्यतिबेला कांग्रेसका पद्मनारायण चौधरीले २७ हजार ३७९ मत प्राप्त गरेका थिए। विगतको चुनावी परिणामहरूमा मतको गणितले काम गरेको देखिन्छ भने २०६४ सालको पहिलो संविधानसभा निर्वाचनको परिणाममा गणितभन्दा मतदाताको मनोविज्ञानले काम गरेको देखिन्छ। बलिदानीपूर्ण पहिलो माघे मधेस विद्रोहलगत्तै भएको संविधानसभा निर्वाचनमा भर्खर दलको स्वरूप ग्रहण गरेको मधेसी जनअधिकार फोरमले दलगत मतमाथि विजय प्राप्त गरेको थियो।
२०७९ सालमै भएको स्थानीय तहको निर्वाचन परिणामअनुसार क्षेत्र नम्बर १ मा ५८ हजार ८५५ पुरुष र ५३ हजार ९४ महिला मतदाता गरी कूल एक लाख ११ हजार ९४९ मतदाता छन्। लहान नगरपालिका, भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, लक्ष्मीपुरपत्तारी गाउँपालिका र धनगढीमाई नगरपालिकाका १ र २ वडा यो निर्वाचन क्षेत्रमा पर्छ। यी पालिकाहरूमा गत स्थानीय तहको निर्वाचनमा सखुवानन्कारकट्टी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीबाट दोस्रो पटक अध्यक्ष निर्वाचित केदारनाथ यादव एमालेमा आइसकेका छन्। उनी तीन हजार चार सय सात मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएका हुन्। नेपाली कांग्रेसका शत्रुधनप्रसाद साहले तीन हजार ३८१, जसपाका प्रयागलाल यादवले एक हजार ८०४, एमालेका हरिदेव चौधरीले ५७८ र माओवादी केन्द्रका हरिनन्दन यादवले ३९६ मत प्राप्त गरेका थिए।
त्यस्तै भगवानपुर गाउँपालिकामा एमालेका उग्रनारायण यादव चार हजार ३०२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन्। जसपा नेपालका बेचनप्रसाद यादवले तीन हजार २३९ मत, एकीकृत समाजवादीका चन्द्रनारायण यादवले एक हजार ४८, कांग्रेसका धर्मदेव यादवले ६६० मत ल्याएका थिए। लहान नगरपालिकाको गत स्थानीय तह निर्वाचनमा कांग्रेस, जसपा र माओवादी केन्द्रको गठबन्धन थियो। यो निर्वाचनबाट कांग्रेसका महेशप्रसाद चौधरी २० हजार १०५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन्। एमालेबाट मुनी साह सुडीले ११ हजार ९६६ मत, एकीकृत समाजवादीबाट विनोदकुमार साहले दुई हजार १५२ मत, जनमतबाट बालेश्वर यादवले ३६९ मत र लोसपाबाट महमुद आलमले २८६ मत ल्याएका थिए।
यसैगरी लक्ष्मीपुर पतारी गाउँपालिकामा नेपाली कांग्रेसका चतुरानन्द ठाकुर तीन हजार ८४५ मत ल्याएर अध्यक्ष निर्वाचित भएका थिए। नेकपा एमालेका देवनारायण साह तीन हजार ५८५ र जसपाका केदारनाथ यादवले दुई हजार ९५८ मत ल्याएका थिए। धनगढीमाई नगरपालिका-१ र २ मा कांग्रेसका अध्यक्ष निर्वाचित भएका हुन्। विगतको यो तथ्यांकलाई आधार मान्ने हो भने यसपालिको चुनावी प्रतिस्पर्धा एमाले र कांग्रेसबिच नै हुने देखिन्छ। तर रास्वपाबाट उम्मेदवार बब्लु गुप्ताको प्रवेशले यो तथ्यांकलाई खलबल्याइदिएको छ। यसो हुनुमा जेनजी विद्रोहचाहिँ प्रमुख कारण होइन।
पहिलो कारण हो, बालेन्द्र शाहको उपस्थिति। दोस्रो, रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गाको अड्को फुकुवा। तेस्रो हो, गुप्ताका बुवा विष्णु साह बनियाँ, जसले लामो समय नेपाली कांग्रेसमा ‘भुइँ’ नेता बनेर गरेको काम र अहिलो रास्वपामा प्रवेश। कांग्रेसको जिल्ला उपसभापतिसम्म भएका उनी अहिले रास्वपा बनेर छोरालाई साथ दिइरहेका छन्। बब्लुले यसअघि यस क्षेत्रका ‘भुइँ मान्छे’को आम जीवनसँग जोडिएका विभिन्न सामाजिक कार्य गर्दै आएका थिए।
सिरहा-२ मा यस पटक कांग्रेसबाट रामचन्द्र यादव, एमालेबाट नवीनकुमार यादव, जसपा नेपालबाट सञ्जीवकुमार यादव र रास्वपाबाट शिवशंकर यादव (शिव) लगायत उम्मेदवार चुनावी मैदानमा छन्। यस निर्वाचन क्षेत्रमा ६२ हजार ६५२ पुरुष र ५३ हजार १०६ महिला गरी कुल १ लाख १५ हजार ७६० मतदाता छन्। यहाँ एक सय ३६ मतदान केन्द्र छन्।
२०४८ सालको आम निर्वाचनमा कांग्रेसबाट नथुनी सिंह दनुवारले आठ हजार १०७ मत ल्याएर विजय हासिल गरेका थिए। २०५१ सालको आम निर्वाचनमा एमालेका नरेन्द्रराज पोखरेल १२ हजार ६५३ मतसहित निर्वाचित भए। सो निर्वाचनमा कांग्रेसकी चित्रलेखा यादवले १० हजार २०७ र नेपाल सद्भावना पार्टीका केदारनाथ यादवले आठ हजार ८५२ मत ल्याएका थिए। २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसकी चित्रलेखा यादव २१ हजार २९ मत ल्याएर सांसद बनिन्। नेकपा एमालेका हिराबहादुर सुनुवारले १४ हजार ९४, राप्रपा (चन्द) का तारणी प्रसाद यादवले दुई हजार ३६१ र राप्रपाका चतुरानन्द ठाकुरले सात हजार ५१७ मत प्राप्त गरे।
मधेसको माघे विद्रोहपछि भएको पहिलो संविधानसभा निर्वाचन २०६४ मा परम्परागत रूपमा जित्दै आएका कांग्रेस र एमालेलाई पछि पार्दै मधेसी जनअधिकार फोरमबाट राजलाल यादव १६ हजार ६८४ मत ल्याएर निर्वाचित भएका थिए। सो निर्वाचनमा एमालेका रामचन्द्र यादवले आठ हजार ६०१, कांग्रेसकी चित्रलेखा यादवले सात हजार ६४ र माओवादीका विष्णुदेव यादवले तीन हजार ५५१ मत ल्याएका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका रामचन्द्र यादव नौ हजार ८१८ मतसहित विजयी भए। कांग्रेसका सूर्यनारायण यादवले आठ हजार १३७, मधेसी जनअधिकार फोरमका राजलाल यादवले पाँच हजार ५८१ र माओवादीका जितेन्द्रकुमार यादवले चार हजार ७४८ मत प्राप्त गरेका थिए।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका सुरेशचन्द्र दास २० हजार १४८ मतसहित निर्वाचित भए। संघीय समाजवादी फोरमका शत्रुधन सिंह कोइरीले १७ हजार २६० र कांग्रेसका रामचन्द्र यादवले १५ हजार ५९७ मत ल्याएका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जसपा नेपालका राजकिशोर यादव २४ हजार १७८ मत ल्याएर निर्वाचित भए। कांग्रेसकी चित्रलेखा यादवले २३ हजार २८, जनमत पार्टीका विनोदकुमार यादवले १६ हजार ९०२ र हाम्रो नेपाली पार्टीबाट लौरो चुनाव चिह्न लिएर लडेका शिवशंकर यादवले ७९९ मत प्राप्त गरेका थिए।
गत निर्वाचनमा ७९९ मत मात्र ल्याएका शिवशंकर यादव (शिव) यस पटक रास्वाबाट उम्मेदवार बनेपछि परम्परागत दल र उनीहरूका गढ हल्लिन थालेका छन्। बालेन्द्रको लहरबाट सिर्जित माहोलको लाभ शिवले उठाइरहेका छन्। अर्को कारण हो, १४ वर्षदेखि सहज आवागमनका लागि कमला पुल पर्खेर बसेका यस भेगका जनता। जसको समस्या समाधानका लागि शिवले तत्कालीन भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङसहितको प्राविधिक टोलीलाई कमलामा ल्याए र पुल निर्माणको कामलाई तीव्रता दिन लगाए। पुल नबन्दासम्म वैकल्पिक आवागमनका लागि डाइभर्सन बनाउन लगाए। वर्षौंदेखि हुन नसकेको काम महिना दिनमै भएको श्रेय शिवले पाए। अहिले उनले यो मुद्दालाई पनि चुनावी माहोल आफ्नो पक्षमा पार्न प्रयोग गरिरहेका छन्।
यस पटक शिव दुई प्रमुख मुद्दा लिएर परम्परागत मतको ‘गढ’ भत्काउने प्रयासमा छन्। पहिलो, ‘मधेसीया बेटा के प्रधानमन्त्री देखके है त भोट दु’ र दोस्रो, परिवर्तन चाहिन्छ भने भोट दिनुपर्ने। पटक पटक भरोसा गुमेर आजित बनेका मतदातामाझ उनका यी अजेन्डा अहिलेसम्म ‘हिट’ र सटीक देखिएका छन्।
यस निर्वाचन क्षेत्रमा नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, औरही गाउँपालिका, सुखिपुर नगरपालिका, अर्नामा गाउँपालिकाका वडा नम्बर ४ र ५, धनगढीमाई नगरपालिकाका वडा नम्बर ३ देखि १४, लक्ष्मीपुरपतारी गाउँपालिकाको वडा नम्बर १ र गोलबजार नगरपालिकाको वडा नम्बर १३ पर्छन्। नवराजपुर गाउँपालिकामा जसपा नेपालका शिवउद्गार यादव ४ हजार ५५४ मत ल्याएर अध्यक्ष निर्वाचित भएका थिए।
कांग्रेसका विश्वमोहन यादवले दुई हजार ५२५, एमालेका खुसीलाल मण्डलले एक हजार ७५३ र जनमत पार्टीका जिवछकुमार यादवले १६४ मत ल्याएका थिए। बरियारपट्टी गाउँपालिकामा जसपाका सन्तोषकुमार यादव तीन हजार ८४४ मतसहित अध्यक्ष निर्वाचित भए। कांग्रेसका उपेन्द्र यादवले तीन हजार ५३४, माओवादीका अजयकुमार यादवले दुई हजार ४७३ र जनमत पार्टीका दिनेशप्रसाद यादवले ५०५ मत पाएका थिए।
यसैगरी सुखीपुर नगरपालिकामा एमालेका रामऔतार यादव चार हजार ४३४ मत ल्याएर मेयर निर्वाचित भए। जसपा नेपालका जिवछ यादवले तीन हजार ११२, एकीकृत समाजवादीका हरिवंश महतोले दुई हजार ५९७, कांग्रेसका विजयकुमार यादवले दुई हजार ५६६ र जनमत पार्टीका सन्तोषकुमार यादवले एक हजार ५४७ मत ल्याएका थिए। अर्नामा गाउँपालिका-४ मा जसपा नेपाल र ५ मा एमालेका अध्यक्ष निर्वाचित भए।
धनगढीमाई नगरपालिका-३ मा माओवादी, ४ र ५ मा कांग्रेस, ६ मा एकीकृत समाजवादी, ७ मा जसपा नेपाल, ८ मा जनमत, ९ मा माओवादी, १० मा कांग्रेस, ११ र १२ मा एमाले, १३ मा माओवादी र १४ मा कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन्। गोलबजार नगरपालिका-१३ मा कांग्रेसका वडाध्यक्ष निर्वाचित भए। मधेस केन्द्रित दल, कांग्रेस, माओवादी र एमालेले पालैपालो जित्दै आएको यस क्षेत्रमा यस पटक मतदाताको मन बदलिएसँगै नतिजा पनि बदलिने हो कि भन्ने त्रास परम्परागत दलका उम्मेदवारहरूमा देखिन्छ। उता बालेन्द्रको लहरले शिवलाई थप हौस्याइरहेको छ।
बरियारपट्टी गाउँपालिकाको चिया चौतारामा भेटिएका नथुनी यादवका अनुसार यस पटकको चुनावमा उथलपुथल निश्चित देखिन्छ। उनी भन्छन्, ‘यस पटक दलगत संगठित मतभन्दा मतदातामा पलाएको परिवर्तनको मनोविज्ञान बलियो हुँदै छ। अहिलेसम्मको जमिनी दृश्य दलका नेताले भनेको भन्दा पनि मतदाताको दिमागमा बनेको छापले मत पाउने देखिन्छ।’
उनले धेरै खुल्न नचाहे पनि यहाँको हालसम्मको जमिनी यथार्थ भने यसैलाई संकेत गर्ने बताउँछन्। रास्वपाले जनकपुरधाममा आयोजना गरेको पहिलो चुनावी सभामा बालेन्द्रको बोली सुन्न यस क्षेत्रका थुप्रा मान्छे जनकपुरधाम पुगेका थिए। बालेन्द्रलाई सुनेर फर्किएकाहरूको मनोविज्ञान अहिले बब्लु र शिवतर्फ मोडिएको छ। लहान नगरपालिका-१९ घर भई लहान बजारमा सैलुन सञ्चालक विनोद ठाकुर भन्छन्, ‘गाउँदेखि बजारसम्म बब्लुप्रतिको रुझान बढ्दो छ।’
यता कांग्रेस, एमाले र जसपाका उम्मेदवारलाई आफ्नो परम्परागत मत जोगाइराख्न सकस परिरहेको छ। यी दलहरू आफ्नो परम्परागत मत जोगाउन सके प्रतिस्पर्धामा अब्बल उत्रिन्छन् नभए बालेन्द्रको लहरले उलटफेर गरिदिन सक्ने यी दुई क्षेत्रका आम मतदाताको बुझाइ छ।
प्रकाशित: १३ माघ २०८२ ०७:०४ मंगलबार
