सिरहाको दुई निर्वाचन क्षेत्रमा कांग्रेसलाई मत जोगाउनै सकस !


माघ ५ गते अघिसम्म सिरहाको निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी माहोल प्रायः स्थिर देखिन्थ्यो । संगठित मत आफ्नै नियन्त्रणमा रहेको विश्वासमा परम्परागत दलहरू ढुक्क थिए । उज्यालो अनुहार, बाजागाजा र कार्यकर्ताको भीडसहित माघ ६ गते निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका परम्परागत दलका उम्मेदवारहरूका अनुहार अहिले भने मलिन देखिन थालेका छन् ।

गाउँबस्तीमा मत माग्न जाँदा परम्परागत दलका उम्मेदवारहरू केवल मलिन मात्र होइन, अतालिएका जस्ता देखिन्छन् । यसको मुख्य कारण हो, ‘बालेन फ्याक्टर’ ले सिर्जना गरेको लहर । भनिन्छ, कुनै पनि लहर दीर्घकालीन हुँदैन । यो लहर मतदानसम्म कायम रहन्छ कि मत्थर हुन्छ, त्यो भने हेर्न बाँकी छ ।’

सिरहाको क्षेत्र नम्बर १ नेपाली कांग्रेस र नेकपा एमालेको दबदबा भएको क्षेत्र मानिन्छ । विगतका चुनावी परिणामको गणितले कांग्रेस र एमाले नै फेरिफेरी जितेको फेहरिस्त छ । तर, यसपालि वसन्त ऋतुमा भइरहेको चुनावले मौसमलाई मात्र मोहक बनाएको छैन, चुनावलाई पनि मोहक बनाइदिएको छ ।

रुख–बिरुवाले पालुवा फेर्ने यो मौसममा भइरहेको चुनावबाट प्रतिनिधि पनि फेर्ने संकेत दिएको छ । चुनावी अवस्थालाई गणितमाथि मतदाताको मनोविज्ञान हाबी भएको पाइन्छ । जसले चुनावलाई रंगीन र रोचक बनाइदिएको छ ।

यस क्षेत्रमा नेपाली कांगेसबाट रामसुन्दर चौधरी, नेकपा एमालेबाट पूर्व सांसद रामशंकर यादव, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रामचन्द्र यादव, जसपा नेपालबाट सत्यनारायण यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अन्तरिम सरकारबाट राजीनामा दिएका बब्लु गुप्ता, जनमत पार्टीबाट रामस्वरुप चौधरीलगायत उम्मेदवार छन् ।

पहिला विगतका चुनाव र यसका नतिजालाई हेरौँ ।

२०४८ सालको आम निर्वाचनमा यस क्षेत्रबाट ११ हजार ८२४ मत ल्याएर नेपाली कांग्रेसका पद्मनारायण चौधरी निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी नेकपा(लोकतान्त्रिक) बाट चन्द्रशेखर लालले ११ हजार ३२० मत प्राप्त गरेका थिए ।

२०५१ को आम निर्वाचनमा १५ हजार ५२५ मत ल्याएर नेपाली कांग्रेसका पद्मनारायण चौधरी दोहर्‍याएर जितेका थिए । नेकपा एमालेका राजेन्द्र चौधरीले १३ हजार ३०७ र राप्रपाका रामलोचन महतोले ८ हजार ३७३ मत ल्याएका थिए ।

२०५६ को आम निर्वाचनमा नेकपा एमालेबाट रामचन्द्र यादव १४ हजार ८१० मत ल्याएर निर्वाचित भएका थिए । नेपाली कांग्रेसका पद्मनारायण चौधरी १३ हजार ८५५ मत ल्याएका थिए । राप्रपाबाट लगनलाल चौधरीले ९ हजार ४२८ , नेकपा मालेबाट रामशंकर यादवले ८ हजार १६४ मत र राप्रपा(चन्द) बाठ रामलोचन महतोले २ हजार १६० मत ल्याएका थिए ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट लक्ष्मण मेहताले ९ हजार ८१४ मत ल्याएर निर्वाचित भएका थिए । नेपाली कांग्रेसका पद्मनारायण चौधरीले ९ हजार ४०३, नेकपा एमालेका गंगाप्रसाद यादवले ६ हजार ३२७, सद्भावना पार्टीका राजकुमार गुप्ताले ३ हजार ३६, नेकपा माओवादीका कृष्णदेव सिंह दनुवारले ३ हजार ४३७ र राप्रपाका वैद्यनाथ प्रसाद साहले २ हजार ४३० मत ल्याएका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका पद्मनारायण चौधरी १२ हजार १८३ मत ल्याएर निर्वाचित भएका थिए । नेकपा माओवादीबाट मुनी साह सुडीले ८ हजार २७७ मत ल्याएका थिए ।

संविधानसभाबाट संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभा निर्वाचन २०७४ मा नेपाली कांग्रेसबाट प्रदीप गिरीले २३ हजार ९५१ मत ल्याएर निर्वाचित भएका थिए । नेकपा एमालेबाट गंगा प्रसाद यादवले २१ हजार ३५१ मत प्राप्त गरेका थिए भने जसपाबाट राजलाल यादवले १३ हजार ३५१ मत ल्याएका थिए ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट रामशंकर यादवले २९ हजार ४६२ मत ल्याएर निर्वाचित भएका थिए । नेपाली कांग्रेसका पद्मनारायण चौधरीले २७ हजार ३७९ मत प्राप्त गरेका थिए ।

विगतको चुनावी परिणामहरूमा मतको गणितले काम गरेको देखिन्छ भने २०६४ को पहिलो संविधानसभा निर्वाचनको परिणाममा गणित भन्दा मतदाताको मनोविज्ञानले काम गरेको देखिन्छ । बलिदानीपूर्ण पहिलो माघे मधेस विद्रोह लगत्तै भएको संविधानसभा निर्वाचनमा भर्खर दलको स्वरूप ग्रहण गरेको मधेसी जनअधिकार फोरमले दलगत मतमाथि विजय प्राप्त गरेको थियो । कारण, मतदाताको मनोविज्ञान जितेको थियो र दलगत मतको गणित पराजित हुन पुगेको थियो ।

अब दोस्रो पक्ष हेरौँ । २०७९ को स्थानीय तह निर्वाचनको परिणामले के देखाउँछ । क्षेत्र नम्बर १ मा ५८ हजार ८५५ पुरुष र ५३ हजार ९४ महिला मतदाता गरी कूल १ लाख ११ हजार ९४९ मतदाता छ ।

लहान नगरपालिका, भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, लक्ष्मीपुरपत्तारी गाउँपालिका र धनगढीमाई नगरपालिकाको १ र २ वडा यो निर्वाचन क्षेत्रमा पर्छ ।

यी पालिकाहरूमा गत स्थानीय तह निर्वाचनमा कुन दलले कति मत ल्याएका छन्, हेरौँ । सखुवानन्कारकट्टी गाउँपालिकामा एकिकृत समाजवादी पार्टीबाट दोस्रो पटक अध्यक्ष निर्वाचित केदारनाथ यादव नेकपा एमालेमा आइसकेका छन् । उनी ३ हजार ४०७ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका शत्रुधन प्रसाद साहले ३ हजार ३८१, जसपाका प्रयागलाल यादवले १ हजार ८०४, एमालेका हरिदेव चौधरीले ५७८ र माओवादी केन्द्रका हरिनन्दन यादवले ३९६ मत प्राप्त गरेका थिए ।

भगवानपुर गाउँपालिकामा नेकपा एमालेका उग्रनारायण यादवले ४ हजार ३०२ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएका हुन । जसपा नेपालका बेचन प्रसाद यादवले ३ हजार २३९ मत, एकिकृत समाजवादीका चन्द्रनारायण यादवले १ हजार ४८, कांग्रेसका धर्मदेव यादवले ६६० मत ल्याएका थिए।

लहान नगरपालिकाको गत स्थानीय तह निर्वाचनमा कांग्रेस, जसपा र माओवादी केन्द्रको गठबन्धन थियो । यो निर्वाचनबाट कांग्रेसका महेशप्रसाद चौधरीले २० हजार १०५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । नेकपा एमालेबाट मुनी साह सुडीले ११ हजार ९६६ मत, एकिकृत समाजवादीबाट विनोद कुमार साहले २ हजार १५२ मत, जनमतबाट बालेश्वर यादवले ३६९ मत र लोसपाबाट महमुद आलमले २८६ मत ल्याएका थिए ।

लक्ष्मीपुर पतारी गाउँपालिकामा नेपाली कांग्रेसका चतुरानन्द ठाकुर ३ हजार ८४५ मत ल्याएर अध्यक्ष निर्वाचित भएका थिए । नेकपा एमालेका देवनारायण साह ३ हजार ५८५ र जसपाका केदारनाथ यादवले २ हजार ९५८ मत ल्याएका थिए । धनगढीमाई नगरपालिकाको वडा नम्बर १ र २ मा नेपाली कांग्रेसका अध्यक्ष निर्वाचित भएका हुन ।

विगतको यो तथ्यांकलाई आधार मान्ने हो भने यसपालिको चुनावी प्रतिस्पर्धा एमाले र कांग्रेसबिच नै हुने देखिन्छ । तर, रास्वपाबाट उम्मेदवार बब्लु गुप्ताको प्रवेशले यो तथ्यांकलाई खलबलाइदिएको छ । यसो हुनुमा जेनजी विद्रोह चाहिँ प्रमुख कारण होइन ।

पहिलो कारण हो ‘बालेन फ्याक्टर’ । दोस्रो कारण हो रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गाको अड्को फुकुवा र तेस्रो कारण हो गुप्ताका बुवा विष्णु साह बनिया । विष्णु लामो समय नेपाली कांग्रेसमा ‘भूँइ’ नेता बनेर गरेको काम । उनी जिल्ला उपसभापति सम्म भएका थिए । अहिले उनी कांग्रेस छोडेर रास्वपा बनेर छोरालाई साथ दिइरहेका छन् ।

बब्लु यसअघि यस क्षेत्रका ‘भूँइ मान्छे’ को आम जीवनसँग जोडिएका विभिन्न सामाजिक कार्यहरू गर्दै आएका थिए ।

सिरहा क्षेत्र नम्बर २ बाट यसपटक नेपाली कांग्रेसबाट रामचन्द्र यादव, नेकपा एमालेबाट नविनकुमार यादव, जसपा नेपालबाट संजीवकुमार यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिवशंकर यादव (शिव) लगायत उम्मेदवार चुनावी मैदानमा छन् ।

यस निर्वाचन क्षेत्रमा ६२ हजार ६५२ पुरुष र ५३ हजार १०६ महिला गरी कुल १ लाख १५ हजार ७६० मतदाता रहेका छन् । यहाँ १ सय ३६ मतदान केन्द्र छन् ।

अब परम्परागत दलहरूको जित–हारको इतिहासतर्फ फर्केर हेरौँ ।

२०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट नथुनी सिंह दनुवाले ८ हजार १०७ मत ल्याएर विजय हासिल गरेका थिए ।

२०५१ सालको आम निर्वाचनमा नेकपा एमालेका नरेन्द्रराज पोखरेल १२ हजार ६५३ मतसहित निर्वाचित भए । सो निर्वाचनमा कांग्रेसकी चित्रलेखा यादवले १० हजार २०७ र नेपाल सद्भावना पार्टीका केदारनाथ यादवले ८ हजार ८५२ मत ल्याएका थिए ।

२०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसकी चित्रलेखा यादव २१ हजार २९ मत ल्याएर सांसद निर्वाचित भइन् । नेकपा एमालेका हिराबहादुर सुनुवारले १४ हजार ९४, राप्रपा (चन्द) का तारणी प्रसाद यादवले २ हजार ३६१ र राप्रपाका चतुरानन्द ठाकुरले ७ हजार ५१७ मत प्राप्त गरेका थिए ।

मधेसको माघे विद्रोहपछि भएको पहिलो संविधानसभा निर्वाचन २०६४ मा परम्परागत रूपमा जित्दै आएका कांग्रेस र एमालेलाई पछि पार्दै मधेसी जनअधिकार फोरमबाट राजलाल यादव १६ हजार ६८४ मत ल्याएर निर्वाचित भएका थिए । सो निर्वाचनमा एमालेका रामचन्द्र यादवले ८ हजार ६०१, कांग्रेसकी चित्रलेखा यादवले ७ हजार ६४ र माओवादीका विष्णुदेव यादवले ३ हजार ५५१ मत ल्याएका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका रामचन्द्र यादव ९ हजार ८१८ मतसहित विजयी भए । कांग्रेसका सूर्यनारायण यादवले ८ हजार १३७, मधेसी जनअधिकार फोरमका राजलाल यादवले ५ हजार ५८१ र माओवादीका जितेन्द्रकुमार यादवले ४ हजार ७४८ मत प्राप्त गरेका थिए ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका सुरेशचन्द्र दास २० हजार १४८ मतसहित निर्वाचित भए । संघीय समाजवादी फोरमका शत्रुधन सिंह कोइरीले १७ हजार २६० र कांग्रेसका रामचन्द्र यादवले १५ हजार ५९७ मत ल्याएका थिए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का राजकिशोर यादव २४ हजार १७८ मत ल्याएर निर्वाचित भए । कांग्रेसकी चित्रलेखा यादवले २३ हजार २८, जनमत पार्टीका विनोदकुमार यादवले १६ हजार ९०२ र हाम्रो नेपाली पार्टीबाट लौरो चुनाव चिन्ह लिएर लडेका शिवशंकर यादवले ७९९ मत प्राप्त गरेका थिए ।

गत निर्वाचनमा ७९९ मत मात्र ल्याएका शिवशंकर यादव (शिव) यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि परम्परागत दल र उनीहरूका गढ हल्लिन थालेका छन् । यसको प्रमुख कारण हो, ‘बालेन फ्याक्टर’। बालेनको लहरबाट सिर्जित माहोलको लाभ शिवले उठाइरहेका छन् । अर्को कारण हो, १४ वर्षदेखि सहज आवागमनका लागि कमला पुल पर्खेर बसेका यस भेगका जनता । जसको समस्या सामाधानका लागि शिवले तत्कालिन भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङसहितको प्राविधिक टोलीलाई कमलामा ल्याए । र, पुल निर्माणको कामलाई तिब्रता दिन लगाए । पुल नबन्दासम्म बैकल्पिक आवागमनका लागि डाइभर्सन बनाउन लगाए । वर्षौदेखि हुन नसकेको काम महिना दिनमै भएको श्रेय शिवले पाए । अहिले उनले यो मुद्दालाई पनि चुनावी माहोल आफ्नो पक्षमा पार्न प्रयोग गरिरहेका छन् ।

यसपटक शिव दुई प्रमुख मुद्दा लिएर परम्परागत मतको ‘गढ’ भत्काउने प्रयासमा छन् । पहिलो, ‘मधेसीया बेटा के प्रधानमन्त्री देखके है त भोट दु’ र दोस्रो, परिवर्तन चाहिन्छ भने भोट दिनुपर्ने । पटक–पटक भरोसा गुमेर आजित बनेका मतदातामाझ उनका यी एजेन्डा अहिलेसम्म ‘हिट’ र सटिक देखिएका छन् ।

अब स्थानीय तह निर्वाचनको नतिजातर्फ फर्कौँ ।

यस निर्वाचन क्षेत्रमा नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, औरही गाउँपालिका, सुखिपुर नगरपालिका, अर्नामा गाउँपालिकाका वडा नम्बर ४ र ५, धनगढीमाई नगरपालिकाका वडा नम्बर ३ देखि १४, लक्ष्मीपुरपतारी गाउँपालिकाको वडा नम्बर १ र गोलबजार नगरपालिकाको वडा नम्बर १३ पर्दछन् ।

नवराजपुर गाउँपालिकामा जसपा नेपालका शिवउद्गार यादव ४ हजार ५५४ मत ल्याएर अध्यक्ष निर्वाचित भएका थिए । कांग्रेसका विश्वमोहन यादवले २ हजार ५२५, एमालेका खुशीलाल मण्डलले १ हजार ७५३ र जनमत पार्टीका जिवछकुमार यादवले १६४ मत ल्याएका थिए ।

बरियारपट्टी गाउँपालिकामा जसपाका सन्तोषकुमार यादव ३ हजार ८४४ मतसहित अध्यक्ष निर्वाचित भए । कांग्रेसका उपेन्द्र यादवले ३ हजार ५३४, माओवादीका अजयकुमार यादवले २ हजार ४७३ र जनमत पार्टीका दिनेशप्रसाद यादवले ५०५ मत प्राप्त गरेका थिए ।

सुखिपुर नगरपालिकामा एमालेका रामऔतार यादव ४ हजार ४३४ मत ल्याएर मेयर निर्वाचित भए । जसपा नेपालका जिवछ यादवले ३ हजार ११२, एकीकृत समाजवादीका हरिवंश महतोले २ हजार ५९७, कांग्रेसका विजयकुमार यादवले २ हजार ५६६ र जनमत पार्टीका सन्तोषकुमार यादवले १ हजार ५४७ मत ल्याएका थिए ।

अर्नामा गाउँपालिकामा वडा नम्बर ४ मा जसपा नेपाल र वडा नम्बर ५ मा एमालेका अध्यक्ष निर्वाचित भएका थिए ।

धनगढीमाई नगरपालिकामा वडा नम्बर ३ मा माओवादी, ४ र ५ मा कांग्रेस, ६ मा एकीकृत समाजवादी, ७ मा जसपा नेपाल, ८ मा जनमत, ९ मा माओवादी, १० मा कांग्रेस, ११ र १२ मा एमाले, १३ मा माओवादी र १४ मा कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन् । गोलबजार नगरपालिकाको वडा नम्बर १३ मा कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

मधेस केन्द्रित दल, कांग्रेस, माओवादी र एमालेले पालैपालो जित्दै आएको यस क्षेत्रमा यसपटक मतदाताको मन बदलिएसँगै नतिजा पनि बदलिने हो कि भन्ने त्रास परम्परागत दलका उम्मेदवारहरूमा देखिन्छ । उता, बालेनको लहरले शिवलाई थप हौस्याइरहेको छ ।

बरियारपट्टी गाउँपालिकाको चिया चौतारामा भेटिएका नथुनी यादवका अनुसार यसपटकको चुनावमा उथलपुथल निश्चित देखिन्छ । उनी भन्छन्, ‘यसपटक दलगत संगठित मतभन्दा मतदातामा पलाएको परिवर्तनको मनोविज्ञान बलियो हुँदैछ । अहिलेसम्मको जमिनी दृश्य दलका नेताले भनेको भन्दा पनि मतदाताको दिमागमा बनेको छापले मत पाउने देखिन्छ।’उनले धेरै खुल्न नचाहेपनि यहाँको हालसम्मको जमिनी यथार्थ भने यसैलाई संकेत गर्ने बताउँछन् ।

रास्वपाले जनकपुरधाममा आयोजना गरेको पहिलो चुनावी सभामा बालेनको बोली सुन्न यस क्षेत्रका थुप्रा मान्छे जनकपुरधाम पुगेका थिए । बालेनलाई सुनेर फर्किएकाहरूको मनोविज्ञान अहिले बब्लु र शिवतर्फ मोडिएको छ । लहान नगरपालिका १९ घर भई लहान बजारमा सैलुन सञ्चालक विनोद ठाकुर भन्छन्,‘गाउँदेखि बजारसम्म बब्लुप्रतिको रुझान बढ्दो छ ।’

यता, कांग्रेस, एमाले र जसपालाका उम्मेदवारलाई आफ्नो परम्परागत मत जोगाइराख्न सकस परिरहेको छ । यी दलहरू आफ्नो परम्परागत मत जोगाउन सके प्रतिस्पर्धामा अबल उत्रिन्छन् नभए ‘बालेन फ्याक्टर’ उलटफेर गरिदिन सक्ने यी दुई क्षेत्रका आम मतदाताको बुझाई छ ।

प्रकाशित: ११ माघ २०८२ २१:०६ आइतबार





Source link

Leave a Comment