राष्ट्रिय जनगणना अनुसार ६१ लाख ४४ हजार ६०० जनसंख्या रहेको मधेस प्रदेशमा ३६ लाख ३६ हजार ४१३ मतदाता छन्। यो प्रदेशबाट प्रतिनिधिसभामा ३२ जना सदस्य निर्वाचित हुन्छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा मधेसमा क्रियाशील दल आफ्नो प्रभाव जोगाउने कसरतमा जुटेका छन्।
यसैका लागि छिन्नभिन्न भएका मधेसकेन्द्रित दल एकीकृत भएका छन्। एकातिर मेधसकेन्द्रित दल आफ्नो प्रभाव कायमै गर्न सक्रिय छन् भने अर्काति परम्परागत दल र नयाँ राजनीतिक शक्ति पनि मधेसको मत आफ्नो पक्षमा पार्न प्रयत्नशील छन्।
यस पटकको चुनावमा ‘बालेन कार्ड’ प्रयाग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेसको मन र मत जित्ने कसरतमा जुटेको छ।
केही दिनअघि बालेन्द्र साह (बालेन) ले मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित सभालाई गरेको सम्बोधनले यहाँको चुनावी राजनीतिमा तरंग ल्याइदिएको छ। मधेस प्रदेशलाई सम्बोधन गरेको उनले कोसी प्रदेशअन्तर्गत झापा–५ बाट उम्मेदवारी दिएका छन्।
अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएर मधेस प्रदेशको सिरहा–१ बाट उम्मेदवारी दिएका छन्। उनी रास्वपाबाट उम्मेदवार बनेका हुन्।
यो क्षेत्रमा एमालेका रामशंकर यादव, नेपाली कांग्रेसका रामसुन्दर चौधरी, जनता समाजवादी पार्टी (जसपा) नेपालका सत्यनारायण यादव र जनमत पार्टी (जपा) का रामस्वरूप चौधरीले उम्मेदवारी दिएका छन्।
२०७९ मा सिरहा–१ बाट एमालेका रामशंकर यादव २९ हजार ४६२ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका पदमनारायण चौधरीले २७ हजार ३७९ मत पाएका थिए। यस पटक पदमनारायणले टिकट पाएनन्। अहिले बब्लु, सत्यनारायण र रामसुन्दर नयाँ अनुहार हुन्।
सिरहा–२ मा एमालेका नवीनकुमार यादव, कांग्रेसका रामचन्द्र यादव, जसपा नेपालका सञ्जीवकुमार यादव, जपाका विनोदकुमार यादव, रास्वपाबाट शिवशंकर यादव (शिव) लगायतले उम्मेदवारी दिएका छन्।
२०७९ मा सिरहा–२ बाट जसपा नेपालका राजकिशोर यादव निर्वाचित भएका थिए। उनले २४ हजार १७८ मतसहित कांग्रेस उम्मेदवार चित्रलेखा यादवलाई पछाडि पारेका थिए। अहिले यो क्षेत्रमा जनमतका विनोदबाहेक सबै नयाँ अनुहार हुन्।
सिरहा–३ मा एमालेबाट लीलानाथ श्रेष्ठ, कांग्रेसबाट डा. सुभाषचन्द्र यादव, जसपा नेपालबाट असेश्वर यादव, रास्वपाबाट शम्भुकुमार यादव, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट विश्वनाथ साहसहितले उम्मेदवारी दिएका छन्।
२०७९ मा यो क्षेत्रबाट एमालेका श्रेष्ठ २८ हजार ६४ मतसहित विजयी भएका थिए। त्यस्तै तत्कालीन माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ र जनमतका दिनेशकुमार यादवले ११ हजार १४६ मत पाएका थिए। यस पटक यो क्षेत्रमा सुभाष र शम्भु नयाँ अनुहार हुन्।
सिरहा–४ बाट जसपा नेपालका राजकिशोर यादव, एमालेका धर्मनाथप्रसाद साह, कांग्रेसका चन्द्रकलाकुमारी यादव, नेकपाका अजयशंकर नायक, जपाका वीरेन्द्रप्रसाद महतोसहितले उम्मेदवारी दिएका छन्।
२०७९ मा सिरहा–४ बाट जसपा नेपालका महतो निर्वाचित भएका थिए । तर यसपटक उनी जपाबाट उम्मेदवार बनेका हुन्। जसपाका राजकिशोर क्षेत्र फेरेर आएका हुन्। उनको पैतृक गाउँ यसै क्षेत्रमा छ। यसअघि उनी सिरहा–२ बाट निर्वाचित भएका थिए। नेकपाबाट टिकट नपाएपछि साह एमालेबाट उम्मेदवार बनेका हुन्।
यस्तै मधेस प्रदेशको अर्को जिल्ला सप्तरीमा चार निर्वाचन क्षेत्र छन्। सप्तरी–१ मा एमालेका सुमनराज प्याकुरेल, कांग्रेसका रामदेव साह तेली, जपाका जयकान्त राउत, जसपा नेपालका श्यामसुन्दर सरदार, नेकपाका सागरकुमार चौधरी, स्वाभिमान पार्टीका सुमितकुमार सुडीसहितले उम्मेदवारी दिएका छन्।
२०७९ मा सप्तरी–१ बाट जसपा नेपालका नवलकिशोर साह सुडी निर्वाचित भएका थिए। यस पटक सुडीका छोरा सुमितकुमार स्वाभिमान पार्टीबाट उम्मेदवार बनेका छन्।
अघिल्लो पटक विजयी सुडीले २३ हजार ६०४ मत र उनका निकटतम प्रतिस्पर्धी जपाका जयकान्त राउतले १९ हजार ९९६ र कांग्रेसका तेलीले १४ हजार ३१२ मत ल्याएका थिए। अहिले पनि तेली कांग्रेबाट उम्मेदवार छन्।
सप्तरी–२ बाट जपाका अध्यक्ष चन्द्रकान्त राउत (सिके), जसपा नेपालका उमेश यादव, एमालेका मोहम्मद जियाउल रहमान, कांग्रेसका रामकुमार यादव, नेपाल जनता पार्टी (नेजपा) की रन्जुकुमारी झा ठाकुर, स्वाभिमान पार्टीका सतीस सिंह, जनअधिकार पार्टी (जअपा) का शरद सिंह यादवसहितले उम्मेदवारी दिएका छन्।
२०७९ मा सप्तरी–२ बाट जपाका अध्यक्ष राउत ३५ हजार ४२ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९७९ मत पाएका थिए।
सप्तरी–३ बाट अहिले जसपा नेपालका अध्यक्ष यादव, एमालेका ताराकान्त चौधरी, कांग्रेसका दिनेशकुमार यादव, जपाका सुरेन्द्रप्रसाद शर्मासहितले उम्मेदवारी दिएका छन्।
सप्तरी–३ बाट २०७९ मा कांग्रेसका दिनेशकुमार २६ हजार १६६ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका ताराकान्तले २२ हजार ३०० मत पाएका थिए।
सप्तरी–४ बाट यस पटक कांग्रेसका तेजुलाल चौधरी, एमालेका गंगाप्रसाद चौधरी, जसपाकी बबीसिंह यादव, जपाका जितेन्द्रकुमार साहसहितले उम्मेदवारी दिएका छन्। सप्तरी–४ बाट २०७९ मा कांग्रेसका तेजुलाल २३ हजार ४९१ मतसहित निर्वाचित भएका थिए।
दोस्रो स्थान पाएका जसपा नेपालका बालकिशोर यादवले १७ हजार ९७७ र तेस्रो स्थान पाएका जपाका सुकदेवप्रसाद साहले १२ हजार ९२५ मत पाएका थिए।
यस्तै, मधेस प्रदेशको राजधानी रहेको धनुषा–१ बाट अहिले नेकपाका मात्रिकाप्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) का दीपककुमार कार्की, कांग्रेसका रामपल्टन साह, एमालेबाट रामचन्द्र मण्डल, रास्वपाका किशोरी साहलगायतले उम्मेदवारी दिएका छन्।
मण्डल मधेस प्रदेशसभाका पूर्वसभामुख हुन्। २०७९ मा यो क्षेत्रबाट जसपाका कार्कीले २७ हजार ४३१ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी मात्रिकाप्रसाद यादवले २१ हजार ४८३ मत पाएका थिए । त्यस्तै जपाका किशोरी साहले १४ हजार ४६७ मत पाएका थिए।
धनुषा–२ बाट नेकपाका रामचन्द्र झा, कांग्रेसका दिनेशप्रसाद यादव प्रसैला, एमालेका उमाशंकर अरगरिया, जसपाबाट पशुपति यादवसहितले उम्मेदवारी दिएका छन्।
यो क्षेत्रबाट २०७९ मा कांग्रेसका रामकृष्ण यादव २० हजार ११२ मत पाएर विजयी हुँदा एमालेका उमाशंकरले १९ हजार ९५५, तत्कालीन नेकपा एकीकृत समाजवादी (हाल नेकपा) का झाले १३ हजार ६०५, जसपा नेपालका आनन्द यादवले १२ हजार ९०१ र जपाका जयनारायण साहले ९ हजार ९९२ मत पाएका थिए।
धनुषा–३ बाट यस पटक कांग्रेसका विमलेन्द्र निधि, एमालेकी जुलीकुमारी महतो, जसपा नेपालका परमेश्वर साह, रास्वपाका मनिष झा, राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपाने) का राजीव झा, नेकपाका रामललित मण्डलसहितले उम्मेदवारी दिएका छन्। यो क्षेत्रबाट २०७९ मा एमालेकी जुलीकुमारी ३३ हजार ३८८ मतसहित विजयी भएकी थिइन्।
धनुषा-४ बाट अहिले एमाले उपमहासचिव रघुवीर महासेठ, कांग्रेसका पूर्वसहमहामन्त्री महेन्द्र यादव, जसपाका कृष्णचन्द्रप्रसाद साह, नेकपाका सञ्जय महतोसहितले उम्मेदवारी दिएका छन्। यो क्षेत्रबाट २०७९ मा एमालेका महासेठ ३२ हजार २३६ मतसहित विजयी हुँदा कांग्रेसका महेन्द्रले ३२ हजार ११२ मत पाएका थिए। यहाँ १२४ मतअन्तरले जितहार भएको थियो।
त्यस्तै मधे प्रदेशको अर्को जिल्ला महोत्तरी–१ बाट एमालेका लक्ष्मी महतो कोइरी, नेकपाका गिरिराजमणि पोखरेल, कांग्रेसका मुकेश काफ्ले, जसपा नेपालका योगनारायण महतोसहितले उम्मेदवारी दिएका छन्।
यो क्षेत्रबाट २०६४, २०७०, २०७४ मा पोखरेलले चुनाव जितेका थिए। २०७९ मा भने एमालेका कोइरी २३ हजार ४०२ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी पोखरेलले २२ हजार ३७२ मत पाएका थिए।
महोत्तरी–२ बाट अहिले जसपा नेपालका शरतसिंह भण्डारी, कांग्रेसबाट किरण यादव, एमालेका कासिम नदाफ, नेकपाका लक्ष्मणकुमार यादवसहितले उम्मेदवारी दिएका छन्।
२०७९ मा महोत्तरी–२ बाट भण्डारी २५ हजार १९० मतसहित विजयी भएका थिए । त्यसबेला उनी लोसपाबाट विजयी भएका थिए। दोस्रो स्थानमा रहेका तमलोपाका विजयकुमार सिंहले ११ हजार १२० र एमालेका राम परीक्षण यादवले १० हजार २५८ मत पाएका थिए।
महोत्तरी–३ बाट जसपा नेपालकी डा. मिनाक्षी ठाकुर, कांग्रेसका बजरंग नेपाली, रास्वपाका उज्ज्वल झा, जपाका अरविन्द ठाकुर, हरिनारायण यादव (स्वतन्त्र), राम आधार कापर (स्वतन्त्र) लगायतले उम्मेदवारी दिएका छन्।
२०७४ र २०७९ मा महन्थ ठाकुर जित्दै आएपनि यसपटक उनी आफैं राष्ट्रिय सभामा उम्मेदवार बनेर आफ्नो छोरीलाई उम्मेदवार बनाएका छन्।
महोत्तरी क्षेत्र नम्बर-४ मा नेपाली कांग्रेसका महेन्द्र कुमार राय, जसपा नेपालका डा. सुरेन्द्रकुमार यादव, नेकपा एमालेकी निलम अधिकारी, नेपाली कम्युनिस्ट पार्टीका भरतप्रसाद साह, जनमतका मनोजकुमार साहसहित विभिन्न उम्मेदवार छन्।
सर्लाही क्षेत्र नम्बर-१ मा जसपा नेपालका रामप्रकाश चौधरी, नेकपा एमालेका मनोजकुमार देवकोटा, नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका प्रमोद साह, रास्वपाकी नीतिमा भण्डारी कार्कीसहित विभिन्न उम्मेदवार छन्।
२०७९ मा लोसपाबाट चौधरीले २४ हजार ८३८ मत ल्याएर जितेका थिए भने स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ र जसपाका प्रमोद साहले १४ हजार २५५ मत ल्याएका थिए।
सर्लाही क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीका महेन्द्र राय यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो, नेपाली कांग्रेसका डा. सरोज कुमार, नेकपा एमालेका नागेश्वर साहसहितका उम्मेदवार छन्।
२०७९ मा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर महेन्द्र २३ हजार ५२९ मत ल्याएर निर्वाचित हुँदा लोसपाका राजेन्द्र महतोले २१ हजार ५१८ र नेकपा एमालेका राज नारायण साहले १४ हजार ८१९ मत ल्याएका थिए।
सर्लाही क्षेत्र नम्बर-३ मा नेपाली कम्युनिस्ट पार्टीबाट नारायणकाजी श्रेष्ठले, नेकपा एमालेका हरिप्रसाद उप्रेती, नेपाली कांग्रेसका विनोदकुमार खनाल, रास्वपाका नरेन्द्र साह कलवारसहितका उम्मेदवार छन्।
२०७९ मा उक्त क्षेत्रमा एमालेका उप्रेती ३२ हजार ९३८ मत ल्याएर निर्वाचित भएका थिए भने माओवादीका नरेन्द्र साह कलवारले ३२ हजार १६८ मत ल्याएका थिए। यसपटक कलवार उम्मेदवार छैनन्।
सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका अमनिष कुमार यादव, जसपा नेपालबाट रामेश्वर राय यादव, रास्वपाबाट डा. अमरेशकुमार सिंह, जनमत पार्टीबाट राकेशकुमार मिश्र, नेपाली कम्युनिस्ट पार्टीबाट राजनिस राय, मधुमाला कुमारी यादवसहितका उम्मेदवार छन्।
२०७०, २०७४ मा अमरेशकुमार सिंह नेपाली कांग्रेसको टिकटमा चुनाव जितेका थिए। २०७९ मा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर २० हजार १७ मत ल्याएर चुनाव जितेका थिए। कांग्रेसका नागेन्द्र कुमारले १८ हजार २५३ मत ल्याएका थिए।
रौतहट क्षेत्र नम्बर-१ मा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एमालेबाट अजयकुमार गुप्ता र नेपाली कांग्रेसबाट अनिलकुमार झा, जसपा नेपालबाट योगेन्द्र राय यादव र आम जनता पार्टीबाट त्रिभुवन साहसहित अन्य दलका उम्मेदवार छन्।
२०७९ मा उनी त्यस क्षेत्रबाट ३३ हजार ५२२ मत ल्याएर नेपाल निर्वाचित हुँदा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत ल्याएका थिए।
रौतहट क्षेत्र नम्बर-२ बाट नेपाली कम्युनिष्ट पार्टीबाट किरण कुमार साह, कांग्रेसबाट मो. फिरदोस आलम, एमालेबाट मोहम्मद अतिउल्लाह, आम जनता पार्टीबाट भगवान राउत कुर्मीसहित विभिन्न उम्मेदवार छन्।
२०७९ सालमा उनी ३२ हजार ८४२ मत ल्याएर किरणकुमार साह निर्वाचित हुँदा कांग्रेसका मो. फिरदोस आलमले २८ हजार २४८ मत ल्याएका थिए। फिरदोस कांग्रेसका स्वर्गीय नेता मोहम्मद आफताब आलमका छोरा हुन्।
रौतहट क्षेत्र नम्बर-३ बाट आम जनता पार्टीका अध्यक्ष प्रभु साह, एमालेबाट कुन्दन प्रसाद कुशवाहा, कांग्रेसबाट रामकृपालप्रसाद यादव र नेपाली कम्युनिस्ट पार्टीबाट पुनम देवीसहित विभिन्न उम्मेदवार छन्। २०७९ मा प्रभु साह स्वतन्त्र उठेर ३२ हजार ४३७ मत ल्याएका थिए।
रौतहट क्षेत्र नम्बर-४ मा आम जनता पार्टीबाट ऋषिराज धमला, एमालेबाट रामजी साह सोनार, कांग्रेसबाट देवप्रसाद तिमिल्सेना, रास्वपाबाट गणेश पौडेल र नेपाली कम्युनिस्ट पार्टीबाट रामकुमार भट्टराईलगायत विभिन्न दलका उम्मेदवार छन्।
२०७९ को चुनावमा कांग्रेसका देवप्रसाद तिमिल्सेनाले ३४ हजार १६१ मत ल्याएर निर्वाचित हुँदा एमालेका उद्धवप्रसाद रेग्मीले २६ हजार ५५९ मत ल्याएका थिए।
बारा क्षेत्र नम्बर-१ मा एमालेका अच्युतप्रसाद मैनाली, कांग्रेसका शम्भुबहादुर बुढाथोकी, नेपाली कम्युनिस्ट पार्टीका सन्तोष दंगाल, जसपा नेपालका रामबाबुप्रसाद यादव, रास्वपाका गणेश धिमाल र आम जनता पार्टीका विजय यादवसहितका विभिन्न उम्मेदवार छन्।
२०७९ मा एमालेका मैनाली ३९ हजार १९५ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत ल्याएका थिए। कांग्रेसका चौधरीले यसपटक टिकट उम्मेदवार छैनन्।
बारा क्षेत्र नम्बर-२ मा एमालेबाट बलवीरप्रसाद चौधरी, कांग्रेसबाट भैयारामप्रसाद यादव, जसपा नेपालबाट रामकिशोरप्रसाद यादव, आम जनता पार्टीबाट आत्मारामप्रसाद साह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट शिवचन्द्र कुशवाहा, नेपाली कम्युनिस्ट पार्टीबाट रमेशप्रसाद यादव र रास्वपाबाट चन्दनकुमार सिंहसहित विभिन्न उम्मेदवारले उम्मेदवार छन्। यस क्षेत्र बाट २०७९ को उपनिर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए।
बारा क्षेत्र नम्बर ३ मा एमालेकी ज्वाला कुमारी साह, कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर, जनमत पार्टीका प्रमोदप्रसाद गुप्ता, जसपा नेपालका रामबाबुकुमार यादव र रास्वपाका अरविन्द साहसहितका उम्मेदवार छन् ।
२०७९ मा त्यस क्षेत्रबाट एमालेकी ज्वालाले २० हजार २५१ मत ल्याएर निर्वाचित हुँदा जसपाका रामबाबुले १७ हजार २७९ मत र लोसपाका लालबाबु सिंह भुइँहारले ११ हजार ९६४ मत ल्याएका थिए।
बारा क्षेत्र नम्बर-४ मा एमालेका कृष्णकुमार श्रेष्ठ (किसान), कांग्रेसका श्यामबाबु गुप्ता, नेपाली कम्युनिस्ट पार्टीका अजय कुशवाहा, रास्वपाका रहवर अन्सारी, जसपाका सञ्जु साह कानु र जनमतका हसनजान मियाँसहितका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार छन्।
२०७९ मा नेकपा एसबाट किसान श्रेष्ठले ३० हजार ३४१ मत ल्याएर चुनाव जित्दा एमालेका एकवाल मियाँले २० हजार ३३६ मत ल्याएका थिए।
पर्सा क्षेत्र नम्बर-१ मा नेकपा एमालेबाट प्रदीप यादव, कांग्रेसबाट अनिलकुमार रुंगटा, जसपा नेपालबाट रामनरेशप्रसाद यादव, जनमत पार्टीबाट ओमप्रकाश सर्राफ र नेपाली कम्युनिस्ट पार्टीबाट अजय चौरसियासहित विभिन्न उम्मेदवारहरूले उम्मेदवारी दिएका छन्।
२०७९ मा प्रदीप यादवले २२ हजार ५३७ मत ल्याएर चुनाव जित्दा कांग्रेसका बागी उम्मेदवार अजय द्विवेदीले २० हजार ९१७ मत ल्याएका थिए।
पर्सा क्षेत्र नम्बर २ मा कांग्रेसबाट पूर्व कानून मन्त्री अजयकुमार चौरसिया, एमालेकी रिमा कुमारी यादव र जसपा नेपालबाट अशोक कुमार अग्रवालसहित विभिन्न पार्टीका उम्मेदवार छन्।
२०७९ मा कांग्रेसका चौरसियाले २८ हजार ४५१ मत ल्याएर निर्वाचित हुँदा जसपाका सुरेन्द्रप्रसाद कुर्मीले २२ हजार ४४५ मत ल्याएका थिए।
पर्सा क्षेत्र नमम्बर ३ मा कांग्रेसबाट सुरेन्द्रप्रसाद चौधरी, एमालेबाट रुपेशकुमार पाण्डेय, नेपाली कम्युनिस्ट पार्टीबाट छोटेलालप्रसाद यादव, जसपा नेपालबाट नागेन्द्रप्रसाद यादव, जनमत पार्टीबाट मालती कुमारी कुशवाहा र रास्वपाबाट रामाकान्तप्रसाद चौरसियासमित विभिन्न दलका उम्मेदवार छन्।
०७९ मा त्यस क्षेत्रमा एमालेबाट राजकुमार गुप्ता २४ हजार ३१९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले २४ हजार १५२ मत ल्याएका थिए। यसपाली राजकुमार गुप्ता उम्मेदवार छैनन्।
पर्सा क्षेत्र नम्बर-४ मा नेपाली कांग्रेसका रमेश रिजाल, नेकपा एमालेका जालिम मियाँ मन्सुरी, राष्ट्रिय स्वतन्त्र पार्टीले टेकबहादुर शाक्य, नेपाली कम्युनिष्ट पार्टीले जय प्रकाश थारु लगायतका उम्मेदवार छन् ।
टेकबहादुर नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेर रास्वपा गएका हुन् भने जयप्रकाश एमाले पार्टी परित्याग गरेर नेपाली कम्युनिष्ट पार्टीमा गएका हुन्।
२०७९ सालको निर्वाचनमा कांग्रेसका रिजाल नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पराजित गरी निर्वाचित भएका थिए। रिजालले ३१ हजार १ सय ४२ र मन्सुरीले २५ हजार ६ सय १२ मत पाएका थिए।
प्रकाशित: ८ माघ २०८२ २१:२६ बिहीबार
