८ माघ, पोखरा । पर्वतमा २०७९ मंसिरमा भएको चुनावका प्रमुख प्रतिस्पर्धी अनुहार नै यसपटक पनि नेपाली कांग्रेस र नेकपा एमालेका प्रतिस्पर्धी छन् । उही पार्टी, उही झण्डा र चुनाव चिह्न बाकेर मत माग्न उस्तै बोली, उस्तै तामझाम गर्ने उही अनुहार छन् । तर, परिस्थिति, चुनावी माहोल र दलका एजेण्डाहरु बदलिएका छन् ।
२०५६ सालदेखि चुनाव लड्दै आएका कांग्रेस नेता शेरबहादुर देउवा निकटका नेता जेनजी आन्दोलनपछि माग भएको विशेष महाधिवेशनको पक्षमा मात्रै खुलेनन्, ‘क्याम्प’ परिवर्तन गरेर केन्द्रीय सदस्य अर्जुन जोशी सभापति गगन थापाबाट टिकट ल्याएर निर्वाचन क्षेत्र छिरेका छन् ।
पर्वतबाट राजनीतिमा छलाङ मारेका एमाले नेता पदम गिरी अध्यक्ष केपी शर्मा ओलीलाई रिझाएर तेस्रो पटक पनि टिकट हात पार्दै मैदानमा होमिएका छन् ।
कांग्रेस–एमालेका यसअघिकै प्रतिस्पर्धीलाई मात्र हेरेर आगामी चुनावी नतिजाको आँकलन गर्ने अवस्था अहिले पर्वतमा छैन । फागुन २१ गते हुने निर्वाचन पर्वतमा रोचक हुनेवाला छ ।
‘नतिजा जे पनि आउन सक्छ’
पुराना होस् या नयाँ कुनै पनि दलका पदाधिकारी वा ठूला नेता प्रतिस्पर्धामा त छैनन् तर ठूला नेता र तिनको बिरासत अनि निकट सम्बन्धले प्राप्त टिकट बोकेर मैदानमा होमिएकाहरु भने छन् ।
अर्जुन–पदमको पार्टी कांग्रेस–एमालेलाई पालैपालो साथ लिँदै प्रधानमन्त्री बनेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा काम गरेका मनहरी तिमिल्सिना पर्वतको इतिहास बदल्ने होडसहित पहिलोपटक निर्वाचनमा होमिएका छन् ।
लामो समय इजरायलमा श्रम गरेर पोखरामा होटललगायत व्यवसाय गरिरहेका सागर भुसाल अब यी तीन वटै पुराना पार्टीलाई विस्थापित गर्नुपर्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएर भोट माग्दै बस्ती पसेका छन् ।
२०७० सालबाटै संसदीय चुनाव बहिस्कार गर्दै भूमिगत भएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कृष्णबहादुर विक पनि शान्तिपूर्ण राजनीतिमा यही व्यवस्था ठिक रहेको निश्कर्ष निकालेर भोट मागिरहेका छन् । यस्ता थुप्रै पार्टीका र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।
राप्रपाका दुर्गाबहादुर मल्ल, नेपाल मजदुर किसान पार्टीका ऐलिना सुवाल, आम जनता पार्टीकी पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चाका भीमलाल न्यौपाने, उज्यालो नेपाल पार्टीका यमबहादुर चोचांगी पुन लगायत पनि भोट मागिरहेका भेटिन्छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ख्यामनारायण लामिछानेका अनुसार पर्वतमा १३ वटा राजनीतिक दलका १३ जना र ४ जना स्वतन्त्र उम्मेदवार गरी १७ जना अहिले चुनावी प्रतिस्पर्धामा छन् ।
मनोनयन दर्ता गरेर उम्मेदवार गाउँ–शहर छिरिसक्दा पनि पुरानो अंकगणित र अहिलेको परिस्थिति हेरेर सम्मावित परिणाम भन्न सक्ने अवस्था छैन । निर्वाचनमा होमिएका दलकै नेता–कार्यकर्तालेसमेत भनिरहेका छन्, ‘नतिजा जे पनि आउन सक्छ ।’
अर्जुन र पदमबीच तेस्रोपटक प्रतिस्पर्धा
नेपाली कम्युनिस्ट पार्टी, रास्वपासहित नयाँ दलका नयाँ अनुहार त छँदैछन् तर मानिसहरुको चर्चा र बहसको केन्द्रमा अर्जुन र पदम छन् । अर्जुन र पदमलाई चासोका साथ हेरिनुको कारण ती दुई चिरपरिचित अनुहार तेस्रो पटक प्रतिस्पर्धा छन् । एमालेका पदम तेस्रो पटक पनि जित निकाल्दै ह्याट्रिक गर्न चाहन्छन् भने ३ वटा चुनाव जितेर पछिल्ला दुई चुनावमा हार बेहोरेका कांग्रेसका अर्जुन यसपटक परिणाम बदल्न चाहन्छन् ।
नयाँ अनुहार र एजेण्डाको खोजी भइरहेका बेला पार्टीको महाधिवेशनपछि आफूहरुले नै परिवर्तनको मुद्दा बोक्ने भन्दै अर्जुनले क्याम्प परिवर्तन गरेर अनि पदमले अध्यक्ष ओलीलाई रिझाएरका टिकट हात पारेका थिए ।
जेननी आन्दोलनपछि विशेष महाधिवेशनको माग गर्दै कांग्रेसमा हस्ताक्षर अभियान चल्दा अर्जुनले भने हस्ताक्षर गरेका थिएनन् । तर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान नै गरेपछि अर्जुन पनि त्यतै खुले । विशेष महाधिवेशनले शेरबहादुर देउवा समूहलाई पाखा पार्दै गगनलाई सभापति बनायो । उनै अर्जुन, गगनको हस्ताक्षरसहितको टिकट बोकेर रुपान्तरण र परिवर्तनको एजेण्डासहित छैठौं पटक चुनावी मैदानमा होमिएका छन् ।
२०५६ सालको संसदीय निर्वाचनमा पहिलो पटक जितेका नेपाली कांग्रेसका अर्जुन जोशीले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पर्वतबाट विजयीको ‘ह्याट्रिक’ गरेका थिए । त्यसयताका चुनावमा भने एमालेका पदम गिरीको उदय भयो र अर्जुनले हार बेहोर्दै आएका छन् ।
जन्मजात कांग्रेस परिवारमा जन्मिएका अर्जुन सांसदमा ह्याट्रिक मारे पनि मन्त्री हुन पाएनन् । उता पदमले दोस्रो पटक चुनाव जिते पनि स्वास्थ्य र कानुन गरी दुई पटक फुल मन्त्री हुने पर्वतको पहिलो व्यक्तिको रुपमा नाम लेखाए ।
आलोचना मुक्त छैनन् अर्जुन–पदम
कांग्रेसका पुराना नेता अमृत जोशीका छोराहरु अर्जुनसँगै अन्य पनि राजनीतिमै छन् । भाइ युवराजलाई जिल्ला सभापति बनाएको, बजेटमा एकलौटी गरेको आरोप पनि उनीमाथि लाग्यो ।
१३ औं महाधिवेशनमा कोइराला समूहबाट देउवा क्याम्पमा पुगेर केन्द्रीय समितिमा मनोनीत भएका जोशी १४ औं महाधिवेशनमा कांग्रेसको गण्डकी प्रदेश सभापतिमा भने पराजित भए । २०७४ सालमा एमाले–माओवादीसहितको नेकपा गठबन्धनबाट गिरीसँग हारेका जोशी २०७९ मा माओवादी, एकीकृत समाजवादीलगायत ५ दलीय समर्थन हुँदा पनि जित्न सकेनन् ।
तर, यसपटक गगनहरुको हिम्मतबाट उनै जोशी जित निकाल्ने होडसहित चुनावमा होमिएका हुन् । जोशीका कारण अरुको अवसर खोसिएको, फरक विचार राख्नेलाई अगाडि बढ्न नदिएको आरोप उनीमाथि छ । तर, जोशीले आफूले चुनाव जित्ने दाबी गर्छन् ।
एमालेका पदम गण्डकीको भूगोलबाट छोटो समयमा छलाङ मार्ने नेता हुन् । कांग्रेसको दबदबा भएको इतिहासमात्रै भत्काएनन्, २ पटक सांसद जितेर प्रमुख सचेतक र दुई पटक मन्त्री बनेर इतिहाससमेत रचे । एमालेभित्र अरु अग्रज नेतालाई पछि पार्दै तीव्र गतिमा अवसर पोल्टामा पारेका पदमले यसपटक पनि ओलीको विश्वासपात्र बनेर टिकट ल्याएका छन् र ह्याट्रिक मारेर अर्को इतिहार रच्ने दाउसमेत हेरिरहेका छन् ।
तर पदममाथि पर्वतमा एमाले पार्टी निर्माण गरेका पुराना नेतालाई सकाउन लागेको आरोप भने लाग्ने गरेको छ । २०७४ सालमा चुनाव जितेर संसद छिरेपछि ओलीले संसद विघटन गर्दा उनको बचाउमा खरो उभिएर पदमले ओलीलाई रिझाए र २०७९ को टिकट हात पार्दै चुनाव जितेर मन्त्रीसमेत बने ।
जेनजी आन्दोलनपछिको परिस्थितिमा एमालेभित्र पनि रुपान्तरण र परिवर्तनको खोजी हुँदा उनी ओलीकै पक्षमा उभिए । अघिल्लो महाधिवेशनबाटै केन्द्रीय सदस्य बनेका पदम यसपटक सचिवको आकांक्षी थिए । तर, ओलीले सचिवमा पदमकासमेत नेता गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीलाई सचिवमा समेटे । पदमलाई केन्द्रीय सदस्यमै ल्याए भने आगामी चुनावको टिकटसमेत दिए ।
जेनजी आन्दोलनले रुपान्तरण र परिवर्तन खोजेको एजेण्डाअनुसार महाधिवेशन गरे पनि एमालेले त्यो पर्वतनलाई नस्वीकार्दा पदममाथि पनि आक्रोशहरु छन् । पार्टीले परिवर्तन खोज्दा र त्यति धेरैको ज्यान जाँदा पनि दु:ख व्यक्तसमेत नगर्ने र ओलीकै वकालत गरेको भन्दै उनीसँग पनि मतदाता रुष्ट छन् ।
सत्ताबाट फालिएका साझेदारलाई तेस्रो व्यक्तिको डर
२०४७ मा अखिल पाँचौंमा संगठित भएका पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष हुँदै राजनीतिमा फड्को मारेका थिए गिरीले । २०६७ सालमा पर्वत एमालेको अध्यक्ष बनेका गिरी यो चुनाव आफ्नै राजनीतिक जीवनका निम्ति पनि एउटा परीक्षा भएको बताउँछन् र यो चुनावमा आफू पास हुने उनको दाबी छ ।
अर्जुन र पदम तेस्रो पटक प्रतिस्पर्धामात्रै गर्दै छैनन्, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सत्ताबाट फालिएका साझेदार दलका नेता पनि हुन् । जसका कारण उनीहरुलाई एकअर्काको डरमात्रै छैन, कतै आफूहरु दुवै जनालाई असान्दर्भिक बनाइदिने कोही तेस्रो पो आउने हो कि भन्ने चिन्ता पनि छ ।
तर, नतिजा जे आए पनि स्वीकार्ने उनीहरुले बताएका छन् । त्यसैले उम्मेदवारी दर्तापछि अंगालो मारेर उनीहरु चुनावी अभियानमा बस्ती पसेका छन् ।
