बालेनलाई अंकगणितको त्रास, २०७९ मा देखिएको ‘स्वीङ भोट’ लयको आस


काठमाडौं महानगरपालिकाको मेयर पदमा बहाल रहँदा बालेन्द्र साह(बालेन)को सबैभन्दा ठुलो टसल नेकपा एमालेसँग भइरह्यो। त्यसरी टसल हुँदा बालेनले पटक–पटक एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि सामाजिक सञ्जालमा तिखो व्यंग्यबाण चलाइरहे। ओलीले पनि सार्वजनिक मञ्चबाटै बालेनप्रति आक्रोश पोखिरहे।

ओली–बालेनको त्यो वाक युद्ध अब चुनावी मैदानमै पुगेको छ। बालेन राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेर ओलीको परम्परागत चुनावी क्षेत्र झापा–५मा धावा बोल्न पुगेका छन्। वैकल्पिक भनिएका दल र शक्तिको ध्रुवीकरण गरेर रास्वपाले आगामी प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सारेको छ। यसर्थ पुरानो भनिएका दलका मुख्य नेता ओली र नयाँ भनिएका शक्तिका मुख्य नेता बालेनबिचको यो चुनावी ब्याटल फागुन २१ को निर्वाचनको सबैभन्दा रोचक हुन पुगेको छ। 

मंगलबार उम्मेदवारी दर्ता गर्दा बालेनले देशभरको शक्ति झापाको दमकमा उतारेको देखियो। दशौँ हजार समर्थकसहित उनी झापा–५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर ओलीविरुद्ध उम्मेदवारी दर्ता गरे। सोही भिड हेरेर अहिले देश–विदेशसम्म ओलीलाई उनकै घर पुगेर बालेनले गतिलो धक्का दिने अड्कलबाजी भइरहेको छ। 

तर, ‘झापा आन्दोलन’को पुरानो विरासत, कम्युनिस्ट जनमतको गढ, ओलीको प्रभावशाली किल्लाको रूपमा स्थापित झापा–५मा बालेनलाई बाहिर हल्ला गरिएअनुसार सहज स्थिति भने छैन। त्यसमा पनि पछिल्ला निर्वाचनहरूमा ओलीले एकतर्फी जित निकाल्दै आएको अर्को इतिहासले पनि बालेनलाई कठिन चुनौती दर्साइरहेको छ। 

पछिल्ला निर्वाचनमा देखिएको अंकगणित हेर्दा पनि बालेनलाई ओलीसँगको प्रतिस्पर्धा निकै असहज देखाइरहेको छ। यद्यपि चुनावमा कसको सुरुमै जित–हारको निर्णय गर्नु हतार हुन्छ। 

ओलीको चुनावी विगत र अंकगणित

झापाको चुनावी मैदानमा ओलीको यो आठौँ प्रतिस्पर्धा हो। पहिलो पटक २०४८ मा उनी झापा–६ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए।

२०५१ को मध्यावधि निर्वाचनमा ओली झापा–६बाटै जितेका थिए। त्यो बेला एमालेबाट उनले १८ हजार ८६१ मत ल्याएर जित निकाल्दा नेपाली कांग्रेसका केशवबहादुर बुढाथोकीले १४ हजार २०२ मत प्राप्त गरेका थिए। 

२०५६ को प्रतिनिधिसभा निर्वाचनमा ओली झापा–२ र झापा–६ बाट उम्मेदवार बनेर दुवै सिटमा जित निकाल्न सफल भएका थिए। झापा–२ मा उनले १८ हजार ९०९ मत ल्याएर झिनो जित निकाल्दा कांग्रेसकी गिरिराजकुमारी प्रसाईँले १८ हजार ८९२ मत प्राप्त गरेकी थिइन्। अर्को क्षेत्र झापा–६ मा ओलीले २३ हजार ७४९ मत ल्याउँदा कांग्रेस उम्मेदवार कासीलाला ताजपुरियाले १९ हजार ७१३ मत ल्याएका थिए। 

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा भने ओलीले हारको स्वाद चाख्नुपरेको थियो। तत्कालीन झापा–७ मा नेकपा माओवादी केन्द्रका विश्वदीप लिङ्देनले १६ हजार ९९ मत ल्याएर ओलीलाई हराएका थिए। ओलीले त्यो बेला १४ हजार ९५९ मत मात्रै प्राप्त गरेका थिए। झापाको चुनावी मैदानमा ओलीले हारेको यो एक मात्र चुनाव हो।

त्यसपछि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा झापा–७ मै १९ हजार २८७ मत ल्याएर ओली जित्दा कांग्रेस उम्मेदवार सुरेशकुमार योङ्याले ११ हजार ४१ मत ल्याएका थिए। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा ओली शक्तिशाली नेता बनिसकेका थिए। २०७१ मा सम्पन्न एमालेको नवौँ महाधिवेशनबाट अध्यक्ष बनेका ओली २०७२ को संविधान जारी भएपश्चात् प्रधानमन्त्री पनि बने। भारतले लगाएको अघोषित नाकाबन्दीका क्रममा ‘राष्ट्रवादी नेता’को छवि पनि आर्जन गरे। त्यसले उनलाई झापामा झन् शक्तिशाली बनायो। 

त्यही बेला नेकपा माओवादी केन्द्रसँग पछि पार्टी एकीकरण गर्ने गरी चुनावी गठबन्धन पनि भयो। यस्तै झापामा राम्रै जनमत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि झापामा रणनीतिक तालमेल गरे। 

जसको बलमा ओलीले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा  झापा–५ मा ५७ हजार १३९को विशाल मतसहित जित निकाले। कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत मात्रै पाएका थिए। 

यस्तै २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि झापा–५मा ओलीको चुनावी चमक घटेन। एमाले विभाजन भएर बनेको नेकपा एस, अघिल्लो चुनावमा सघाएको नेकपा माओवादी केन्द्रले प्रतिस्पर्धी कांग्रेसलाई सघाउँदा पनि ओलीले ५२ हजार ३१९ मत ल्याएर जित निकाले। यद्यपि यसमा राप्रपाको समेत सहयोग थियो। 

कांग्रेसका खगेन्द्र अधिकारी २३ हजार ७४३ मतमा रोकिँदा रास्वपाका सुरेशकुमार पोखरेल ११ हजार ७५९ मत ल्याएका थिए। 

बालेनको आशा: २०७९ को ‘स्वीङ भोट’

ओलीको चुनावी गढमा सम्भवतः बालेनले देखेको सम्भावना २०७९ को निर्वाचनले देखाएको ‘स्वीङ भोट’को मात्रा हुनसक्छ। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पहिलो पटक सहभागी भएको रास्वपाका सुरेशकुमार पोखरेल ११ हजार ७५९ मत ल्याएका थिए। रास्वपाको त्यो भोट स्वीङ भोटको झिल्को हुनसक्ने बालेनको आशा छ। 

यस्तै स्वीङ भोटको दर समानुपातिकले झन् बढी देखाएको छ। २०७९ मा समानुपातिकतर्फ प्रतिनिधिसभामा रास्वपाले झापा–५मा १८ हजार २०५ मत पाएको छ। जुन एमालेपछि दोस्रो हो। 

एमालेले प्रतिनिधिसभामा ३५ हजार ८७२ मत पाउँदा प्रदेशसभामा ३९ हजार ७४७ मत पाएको देखिन्छ। यसरी हेर्दा प्रदेशसभामा एमालेलाई भोट हाल्ने तीन हजार ८७५ मतदाताले प्रतिनिधिसभामा एमालेलाई भोट नदिएको देखिन्छ। 

यस्तै कांग्रेसले प्रतिनिधिसभा १६ हजार ८५९ समानुपातिक मत प्राप्त गर्दा  प्रदेश सभा १७ हजार ६७३ मत पाएको थियो। कांग्रेसले प्रदेशसभामा पाएको समानुपातिक मतमध्ये ८१४ मत प्रतिनिधिसभामा अन्यत्र गएको देखिन्छ। 

सबैभन्दा ठुलो दरमा राप्रपाको समानुपातिक मत स्वीङ भएको देखिन्छ। राप्रपाले प्रदेशसभामा १४ हजार ७५० मत प्राप्त गर्दा प्रतिनिधिसभामा जम्मा ७ हजार ३७० मत मात्रै पाएको छ।  

प्रदेश सभामा पाएको समानुपातिक मत स्वीङ नभएको तत्कालीन माओवादी केन्द्रको मात्रै देखिन्छ। उसले त्यो बेला प्रतिनिधिसभामा ८ हजार ६८० मत पाउँदा  प्रदेशसभा ७ हजार ७७२ मत पाएको थियो। 

रास्वपाले त्यो बेला प्रदेश सभाको निर्वाचनमा सहभागिता नै जनाएको थिएन। यसैले स्वीङ मतको अधिकांश हिस्सा सबै दलबाट रास्वपातिर गएको बुझ्न सकिन्छ। यही वितृष्ण मतको दर हेरेर नै बालेन झापा–५ मा चुनाव लड्न हौसिएका देखिन्छन्। 

वडागत मतमा एमालेकै दबदबा 

२०७९ को स्थानीय तह निर्वाचनको नतिजाले पनि झापा–५मा एमालेको शक्तिको चित्रण गर्छ। जहाँ दमक नगरपालिका, गौरीगञ्ज गाउँपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको भूगोल पर्छ। 

यो क्षेत्रमा पर्ने २९ वटा वडामध्ये १८ वडामा एमालेकै वडाध्यक्ष जितेका छन्। बाँकीमध्ये ६ वडामा कांग्रेस, दुई वडामा माओवादी केन्द्र, एकमा राप्रपा, एकमा नेकपा एस र एकमा स्वतन्त्र उम्मेदवार जितेका छन्। 

स्थानीय तह निर्वाचनमा यो क्षेत्रभरी एमाले एक्लै लड्दा अन्य दलहरूले पालिकाअनुसार गठबन्धन पनि गरेर निर्वाचन लडेका थिए। तर, एमाले वडाहरूमा अब्बल नै देखियो। एमालेका वडाध्यक्षका उम्मेदवारहरूले कुल ४१ हजार ६१९ मत पाएको तथ्यांकले देखाउँछ। 

दोस्रोमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २२ हजार २२ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवारहरूले १० हजार ७८८, राप्रपाका उम्मेदवारहरूले ६ हजार ४८ मत प्राप्त गरेका थिए। यद्यपि गठबन्धनका कारण सबै वडामा तीन वटै दलका उम्मेदवार थिएनन्, सँगै उम्मेदवार भएका ठाउँमा एक अर्को दलका मतदाताको पनि भोट परेको थियो। 

यो क्षेत्रमा दमक नगरपालिकाका १० वटै वडा समेटिएको छ। स्थानीय निर्वाचनमा यहाँ एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र र राप्रपाको मोर्चा बन्दी थियो। सोही गठबन्धनबाट १७ हजार ५२५ मतसहित राप्रपाका रामकुमार थापा मेयर जित्दा एमालेकी गीता पौडेल अधिकारी १६ हजार ९६६ मत पाएकी थिइन। 

उपमेयरमा १७ हजार ७२ मतसहित कांग्रेसकी रेगिना भट्टराईले जित निकाल्दा एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ५७४ मत पाएका थिए। यहाँ १० मध्ये ७ वडा एमालेले जित्दा २ मा कांग्रेस र एकमा राप्रपाले जितेको छ।

झापा–५मा गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ समावेश छ। यहाँ यहाँ कसैको गठबन्धन नभए पनि कांग्रेसले पालिका अध्यक्ष, एमालेले उपाध्यक्ष जितेको छ। 

झापा–५ मा पर्ने चार वडामध्ये एकमा कांग्रेस र तीन एमालेले वडाध्यक्ष जितेको छ। 

यस्तै झापा–५मा गौरादह नगरपालिकाका एक देखि ८ नम्बर वडा समावेश छन्। ९ नम्बर वडा क्षेत्र नम्बर ४मा पर्छ। यो नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए। 

झापा–५मा पर्ने आठ वडामध्ये ४ एमाले, दुईमा कांग्रेस, एकमा स्वतन्त्र, एकमा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ। नगरपालिकामा एमालेका छत्र पति सुवेदी १२ हजार ८४९ सहित मेयर जित्दा कांग्रेसका रोहितकुमार शाह ११ हजार ४८४ मत पाएका थिए। उपमेयरमा पनि एमालेकै जल वर्षा राजवंशी ११ हजार ९१४ मतसहित जितेकी थिइन।

यस्तै कमल गाउँपालिकामा एमालेविरुद्ध कांग्रेस, माओवादी र नेकपा एसको गठबन्धन बनेर १२ हजार ८६८ मतसहित कांग्रेस हुकुमसिंह राई अध्यक्ष जितेका थिए। ९ हजार ६५३ मत पाएका एमालेका भीमप्रसाद राई पराजित भए। 

उपाध्यक्षमा भने १० हजार ८४५ मतसहित एमालेकी प्रमीला न्यौपाने विजयी भएकी थिइन। 

यहाँ पनि ७ वडा मध्ये एमालेले चार, कांग्रेसले एक, माओवादीले एक र नेकपा एसले एक वडा मात्रै जितेका थिए।

यसपटक झापा–५मा एक लाख ६३ हजार ३७९ जना मतदाता छन्। यिनै मध्येका मतदाताले ओली र बालेनको चुनावी ब्याटलको छिनोफानो गर्नेछन्। र, दुवै जनाको राजनीतिक भविष्य निर्धारण गर्नेछन्। 

प्रकाशित: ७ माघ २०८२ १८:३६ बुधबार





Source link

Leave a Comment