भारतको विहार विधानसभा निर्वाचनमा एउटा नामले खुबै चर्चा पायो पिके अर्थात् प्रशान्त किशोर । बिहारको अवस्था बदल्ने अभियानलाई मूल मुद्दा बनाएर उनले तीन हजार ५०० किलोमिटर पदयात्रा गरेका थिए । चुनावका बेला लोकप्रिय चेहरा बनेका पिके लोकप्रिय मत पाउन नसक्दा नराम्ररी पछारिए । चेहरा र मुद्दा लोकप्रिय भए पनि चुनवामा सफलता मिल्दो रहेन्छ भन्ने दृष्टान्त बने पिके ।
नेपालमा पनि फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन नजिकिँदै आउँदा मधेसमा पनि चर्चामा छन्– बालेन्द्र साह (बालेन) । महोत्तरीको एकडारा पुख्र्यौली घर भएका उनी काठमाडौंका रैथाने जस्तै बनेका छन् । उनी २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट निर्वाचित भएका हुन् । उनको पहिरन र स्वभाव युवामाझ ‘ब्राण्ड’ नै बनेको छ । मिडियासँग विरलै आमनेसामने हुने उनी सामाजिक सञ्जालमार्फत आफ्ना अभिव्यक्ति सार्वजनिक गर्छन् र भाइरल हुन्छन् । सामाजिक सञ्जालमा उनका प्रशंसक निकै छन् । चित्त नबुझ्ला उनले सामाजिक सञ्जालमार्फत दिने दनकले खुबै चर्चा पाउँछन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको ‘कमाण्ड’ पनि उनले नेपथ्यबाट गरेको चर्चापरिचर्चा भइरहेको छ ।
फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने भएपछि उनकोे चर्चा चुलिएको छ । प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारी दिन उनले आइतबार मेयर पदबाट राजीनामा दिएका छन् । मेयरबाट राजीनामा दिएपछि उनको पहिलो चुनावी कार्यक्रम मधेस प्रदेशको राजनधानी जनकपुरधाममा राखिएको छ । मधेस आन्दोलनका सहिदहरुको सम्झनामा मनाइँदै आएको मधेस बलिदानी दिवसका दिन माघ ५ गते बालेनले जनकपुरधाममा पहिलो सार्वजनिक राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । त्यही सम्बोधनमार्फत उनले उम्मेदवारी घोषणा गर्दैछन् । उनी कहाँबाट उम्मेदवार हुन्छन् अझै स्पष्ट भएको छैन ।
अहिले मधेसका चिया चौतारादेखि गाउँसहरमा बालेनको चर्चा चुलिएको छ । उनलाई मधेसमा पनि एक हदसम्म लोकप्रिय चेहरा मान्नेको संख्या धेरै छ । धनुषाको सिमावर्ती जटहीको चिया पसलमा भेटिएका ६५ वर्षीय फुलगेन यादव भन्छन्, ‘मेरो घरका सदस्यले बालेनलाई नामले चिन्छन् । काठमाडौंको मेयर हुँदा उनले एसइई पास गरेका विद्यार्थीका लागि महानगरका कलेजमा छात्रवृत्तिका लागि चलाएको अभियानले मेरो नाती पनि निकै प्रभावित छ । तर मेरै गाउँका एक जना काठमाडौंको सडकमा ठेलामा लुगाफाटा बेच्दै गुजारा चलाउने भाइ भने बालेनको नामै सुन्न चाहँदैनन् । ती भाइको दिमागमा रोजगारी खोस्ने बालेन हुन भन्ने छाप परेको रहेछ ।’
यादव अगाडि भन्छन्, ‘बालेनले हाम्रो भाषा(मैथिली) बोलेको मैले सुनेको छैन् । उनले आफूलाई मधेसी भनेको पनि सुनेको छैन् । उनले मधेसको छोरा हु भनेको पनि सुनेको छैन । जनकपुरधाममा बालेन आउँदैछन् भने सुनेको छु । उनको भाषण सुन्ने तलतल छ । भाषण सुन्न चाहन्छु । बालेनमा मधेसीपन झल्किन्छ कि झल्किँदैन हेर्न चाहन्छु ।’ उनले बालेनको भाषण सुन्न काठमाडौंबाट बेरोजगार भएर घर फर्केकाहरु पनि जनकपुरधाम जाँदै छन् । ‘बालेनलाई भोट दिन्छु भनेर बाचा गर्न होइन्, पहिलो सार्वजनिक भाषण सुन्न हामी जाँदैछौं’, उनले भने ।
‘इतिहास बदलिन सक्छ’
राजनीतिक विश्लेषक तुलानारायण साहका अनुसार यसपटको चुनावले इतिहास फेर्ने सम्भावना प्रबल देखिन्छ । आन्दोलनलगत्तै हुने निर्वाचनमा आन्दोलनरत्त पक्षतर्फ मतभार बढ्ने विगतले देखाएको उनी बताउँछन् ।
२००५ सालमा कांग्रेसले गरेको आन्दोलनपछि २०१५ सालमा भएको निर्वाचनमा उसले बहुमत प्राप्त गरेको थियो । २०४६ सालको आन्दोलन कांग्रेस र एमालेले मिलेर गरे । २०४८ सालको निर्वाचनमा कांग्रेसले बहुमत पायो । एमाले प्रमुख प्रतिपक्षी दल बन्यो । २०६२/६३ को आन्दोलनपछि २०६४ को संविधानसभा निर्वाचनमा माओवादीले धेरै सिट पायो र मधेसमा मधेसकेन्द्रित दल उदाय । मधेस आन्दोलनको रापतापमा मधेसकेन्द्रित दलको पक्षमा मधेसको मत गयो । २०७२ सालमा संविधान जारी भएपछि २०७४ मा भएको निर्वाचनमा एमाले–माओवादी गठबन्धनले संघीय सरकार बनाउने गरी जित निकाल्यो । मधेसमा भने मधेसकेन्द्रित दलकै वर्चस्व रह्यो ।
नेपाली राजनीतिमा मतदानको विश्लेषण गर्दै साह भन्छन्, ‘जेनजी आन्दोलनको नेता कोही नभए पनि चेहरा बालेन थिए ।’ भर्खरै मधेस घुमेका साह भन्छन्, ‘मधेसका गाउँगाउँमा बालेन लोकप्रिय रहेको पाएँ । आममानिसमा बालेन स्वच्छ छविका छन्, उनले भ्रष्टाचार गर्दैनन् र काम मात्र गर्छन् भन्ने विश्वास छ ।’ बालेन लोकप्रिय हुनुको अर्को कारण खोल्दै साहले भने, ‘छात्रवृत्तिको प्रभाव । यसले निकै रोचक र भावनात्मक प्रभाव पारेको रहेछ । काठमाडौं महानगरपालिकामा बालेनले कडाइका साथ लागु गरेको छात्रवृत्तिको प्रभाव मधेसका गाउँसम्मै परेको रहेछ । बालेनले गर्दा काठमाडौंमा गरिब, विपन्न समुदायका जेहेनदार विद्यार्थीले पनि ठुला कलेजमा पढ्न पाए भन्ने छाप मधेसका जनतामा पनि परेको पाएँ ।’
यिनै दुई कारणले मधेसले बालेनलाई जात वा भूगोलको घेराभन्दा फराकिलो स्वरुपमा हेरिरहेको उनले बताए । जेनजी आन्दोलनको अजेन्डा पनि भ्रष्टाचार नियन्त्रण, सुशासन र पुस्तान्तरण थियो । ‘यी तीनवटै कुरा मधेसका जनताले बालेनमा देखेका छन्’, साहले भने ।
‘चर्चाले भोटको बाकस भरिन्न’
अर्का राजनीतिक विश्लेषक चन्द्रकिशोर झाका अनुसार विहार विधानसभा चुनावका बेला पिके चर्चामा रहे जस्तै यहाँ पनि अहिले बालेन चर्चामा छन् । ‘तर बालेनको चर्चालाई रास्वपाले लोकप्रिय मतमा बदल्न सक्छ वा सक्दैन हेर्न बाँकी छ’, उनले भने । उनका अनुसार बालेनलाई मधेसमा उतारेर मधेसको मत प्राप्त गर्न खोज्नु र लोकप्रिय बन्नु दुवै फरक विषय हुन् । ‘बिहानै मोबाइलमा सामाजिक सञ्जाल खोल्नेबित्तिकै बालेनको प्रचार आउँछ । मधेसमा अहिले बालेनको चर्चा छ । यो सत्य हो’, उनले भने, ‘तर चर्चाकै भरमा लोकप्रिय मत प्राप्त भइहाल्ने आंकलन गर्नु हत्तार हुन्छ । सामाजिक सञ्जालको लहर र मधेसका चियाचौतारामा हुने चर्चाले मात्र भोटको बाकस भरिँदैन ।’ उनका अनुसार अहिले मधेसमा चुनावका हिसाबले कसैको पनि ‘वेभ’ (लहर) आएको छैन ।
‘बालेनको पैतृक गाउँ मधेस हो भनेर जति नै प्राविधिक नाता जोडे पनि यत्तिले मात्र मधेसको मन पग्लिँदैन । बालेनले आफूलाई मधेससँग कसरी कनेक्ट गर्छन् र यहाँको पीडालाई कसरी सम्बोधन गर्छन् भन्ने विश्वासिलो मार्गचित्र नदिएसम्म वंशको नाताले मात्र भोट खस्दैन’, उनको विश्लेषण छ ।
रास्वपाले मधेसी चेहरा भनेर बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेको छ । यो विषयमा निर्मम पाठ सम्झाउँदै झा भन्छन्, ‘यो देशमा मधेसी मूलका डा. रामवरण यादव प्रथम राष्ट्रपति बने, परमानन्द झा उपराष्ट्रपति बने । इतिहास हेर्ने हो भने मधेसी मूलकै कान्तीवती महारानी पनि भइन् तर पदमा कोही पुग्दैमा मधेसको कायाकल्प भयो त ? भएन । कायाकल्प त भिजन, प्रक्रिया र प्रणालीले हुने हो, चेहरा वा मूलले मात्र हुने होइन् ।’
काठमाडौंमा सडक व्यापारी, रिक्सा चालक र सुकुमबासीलाई हटाउँदा बालेनको छवि कतिपयको नजरमा ‘गरिबमारा’को बनेको विश्लेषण गर्दै झा भन्छन्, ‘हटाइएका ती भुइँमान्छेमा मधेसी मूलका धेरै थिए, छन् । काठमाडौंको चित्रमा नअटाएका ती श्रमजीवी बालेनको नयाँ नेपालको नक्सामा कसरी अटाउन सक्लान् ? मधेसका ती जनको मनमा रहेको गरिबमारा छाप बालेनले मेट्न सक्छन्, सक्दैनन् हेर्न बाकी छ ।’
बालेन जोडिएको रास्वपाको मधेसमा संगठन र राजनीतिक लिगेसी कमजोर छ । अर्को मुख्य कुरा मधेसको राजनीति पहिचानको जगमा उभिएको छ । तर बालेनको रास्वपाले मधेसको त्यो पहिचानवादी भावनालाई कसरी सम्बोधन र व्यवस्थापन गर्न सक्छ ? रास्वपा संघीयता र समावेशिताको पक्षमा मार्गचित्र ल्याउन सक्छ सक सक्दैन ? बालेनका लागि यो प्रमुख चुनौती हो । विश्लेषक झा भन्छन्, ‘चुनाव जित्न लहर मात्र भएर हुँदैन, त्यसलाई भोटमा बदल्न संगठन अवश्यक पर्छ । रास्वपाको मधेसमा संगठन कमजोर छ । कमजोर संगठनको जगमा लहरलाई भोटमा बदल्न चुनैती छ ।’ अर्कोतर्फ बालेनलाई ‘मधेसको चेहरा’ भनेर उतार्दा रास्वपाले पहाडको परम्परागत भोट बैंक गुमाउन सक्ने खतरा पनि छ ।
जनसंख्या र मतदाता
मधेस प्रदेशमा आठ जिल्ला र प्रतिनिधिसभा निर्वाचनतर्फ ३२ वटा क्षेत्र छन् । मधेस प्रदेश निर्वाचन कार्यालयका अनुसार ८ जिल्लामा १९ लाख ७२ हजार ९६४ पुरुष, १६ लाख ६३ हजार ३७४ महिला र ७६ जना लैगिंक तथा अल्पसंख्यक (अन्य) गरी ३६ लाख ३६ हजार ४१४ मतदाता छन् । यो मधेस प्रदेशको कुल जनसंख्याको ५९.४७ प्रतिशत हो । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेस प्रदेशमा ६१ लख १४ हजार ६ सय जनसंख्या छ ।
कार्यालयका अनुसार मधेसका आठ जिल्लामध्ये धनुषामा सबैभन्दा बढी मतदाता छन् । धनुषामा ५ लाख १४ हजार ५७१ मतदाता छन्, जुन जिल्लाको कुल जनसंख्याको ५९.३० प्रतिशत हो । जनगणनाअनुसार धनुषामा ८ लाख ६७ हजार हाराहारी जनसंख्या छ । सर्लाहीमा ५ लाख ११ हजार ६०६ मतदाता छन् । यो जिल्लाको कुल जनसंख्याको ५९.३२ प्रतिशत हो । बारामा ४ लाख ६५ हजार ७८४ मतदाता छन्, जुन जिल्लाको कुल ६१.०४ प्रतिशत हो । जनगणनाअनुसार बारामा ७ लाख ६३ हजार १३७ जनसंख्या छ । सिरहामा ४ लाख ५३ हजार ६४५ मतदाता छन्, जुन जिल्लाको कुल जनसंख्याको ६१.३१ प्रतिशत हो । जनगणनाअनुसार सिरहामा ७ लाख ३९ हजार ९५३ जनसंख्या छ ।
सप्तरीमा ४ लाख ४६ हजार ४०२ मतदाता छन् । यो जिल्लाको कुल जनसंख्याको ६३.२१ प्रतिशत हो । जनगणनाअनुसार सप्तरीमा ७ लाख ६ हजार २५५ जनसंख्या छ । रौतहटमा ४ लाख ३६ हजार ६११ मतदाता छन्, जुन जिल्लाको कुल जनसंख्याको ५३.६७ प्रतिशत हो । रौतहटको कुल जनसंख्या ८ लाख १३ हजार ५७३ छ । महोत्तरीमा ४ लाख ३१ हजार २८२ मतदाता छन् । यो जिल्लाको कुल जनसंख्याको ६१ प्रतिशत हो । जनगणनाअनुसार महोत्तरीको कुल जनसंख्या ७ लाख ६ हजार ९९४ छ । पर्सामा ३ लाख ७६ हजार ५१३ मतदाता छन् । यो कुल जनसंख्याको ५७.५३ प्रतिशत हो । पर्साको कुल जनसंख्या ६ लाख ५४ हजार ४७१ छ । मधेसका आठ जिल्लामध्ये पर्सामा सबैभन्दा कम मतदाता छन् । प्रतिनिधिसभा निर्वाचनका लागि मधेस प्रदेशमा २ हजार १६० वटा मतदानस्थल र ४ हजार ४७१ व्टा मतदान केन्द्र निर्धारण गरिएको छ ।
प्रकाशित: ४ माघ २०८२ २१:४० आइतबार
