बुढ्यौलीमा महिला र पुरुष दुवैको हाडजोर्नी कमजोर हुन्छ। तुलनात्मक रूपमा हाडजोर्नी समस्याले कम उमेरमै महिलालाई सताउने चिकित्सकहरू बताउँछन्। यसलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय तथ्यांकहरूले पनि पुष्टि गरेका छन्।
नेपाल प्रहरी अस्पतालको हाडजोर्नी विभागले सन् २०२५ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार रजनोवृत्तिपछि उपचारमा गएकामा हड्डीको घनत्व बढी घट्ने अर्थात् ओस्टियोपोरोसिस हुने समस्या देखिन्छ।
यो विभागमा सन् २०२४ जनवरीदेखि डिसेम्बरसम्म उपचारमा पुगेका रजनोवृत्ति भएका महिलामध्ये ७१.९५ प्रतिशतमा ओस्टियोपोरोसिस समस्या देखिएको थियो। ८२ जना महिलामध्ये ५९ मा यस्तो समस्या देखिएको पाइयो। डेक्सास्क्यान मेसिनबाट उनीहरूको हड्डीको घनत्व जाँच गरिएको थियो।
यसैगरी सिभिल अस्पतालमा हाडजोर्नी विभागमा उपचार गर्न पुग्ने बिरामीमध्येमा ७० प्रतिशत महिला छन् भने ३० प्रतिशत पुरुष छन्। पुरुषहरू चोटपटक या नसा च्यापिएका समस्या लिएर पुग्ने गरेकोमा महिला भने हड्डीकै रोगका कारण अस्पताल पुग्ने गरेको हाडजोर्नी सर्जन डा. परिमल आचार्य बताउँछन्।
चिकित्सकका अनुसार उपचारमा आउने महिलामा प्रायः जोर्नी, घुँडा खिइएका, क्रोनिक पाता दुखेको, हड्डी फुट्ने या टुक्रिने, गर्धन दुख्ने र ढाड दुख्ने समस्या लिएर पुग्छन्। यीमध्ये पनि महिलामा बढी देखिने हाडजोर्नीको रोग भनेको हड्डी कमजोर हुने अर्थात् अस्टियोपोरोसिस हो। यस्ता समस्या नेपाली महिलामा विकराल रूपमा देखिएको चिकित्सक बताउँछन्।
हड्डीमा ओस्टियोपोरोसिस भएका महिलामा प्रायः सामान्य चोटपटक या चोटपटकविना नै हड्डी चर्किने, दुख्ने जस्ता समस्या हुन्छन्, जुन समस्याका कारण कतिपय अवस्थामा लड्नेबित्तिकै हड्डी भाँचिएर कतिपयको मृत्युसमेत हुने गरेको छ।
त्यसैगरी महिलामा जोर्नीका हड्डी खिइने, कुरकुरे हड्डी खिइनेलगायतका समस्या पुरुषको तुलनामा बढी देखिएको डा. आचार्य बताउँछन्। ‘यस अस्पतालमा घुँडा खिइएर हुने शल्यक्रिया ९० प्रतिशत महिलामा हुन्छ भने पुरुषमा १० प्रतिशत मात्र हुन्छ’, उनले भने।
यसका साथै नाडीमा नसा च्यापिने समस्या पनि महिलामा बढी देखिन्छ। विशेषगरी थाइराइड भएका महिलामा बढी हुन्छ। यो समस्या ४५ वर्षदेखि नै सुरु हुन्छ।
रजनोवृत्ति र स्ट्रोजनम हर्मोनको कमीले हड्डीका रोग बढी
चिकित्सकका अनुसार महिलामा रजनोवृत्ति प्रक्रिया सुरु हुने समयदेखि नै शरीरमा स्ट्रोजन हर्मोन कम हुँदै जान्छ। यो हर्मोनले शरीरमा भएका हड्डी बलियो पारेर राख्छ। यो हर्मोन कम भएपछि हड्डीबाट क्याल्सियम निस्कँदै जान्छ। हड्डीबाट क्याल्सियम निस्किएपछि हड्डी खोक्रो हुँदै जान्छ। यो समस्यालाई अस्टियोपोरोसिस भनिन्छ, जसका कारण ६० वर्ष उमेरका महिलामा ढाड, नाडी, ढाडको हड्डी टुक्रिन सुरु हुन्छ। यसको कारण धेरै महिला उमेरमै कुप्रो पर्छन्। रजनोवृत्ति सुरु भएपछि शरीरको हड्डी खिइँदै जान्छ।
पोषणको कमी: महिलामा हाडजोर्नी समस्या हुने अर्को कारण हो– पोषणमा कमी। नेपाली समाजमा भोजनमा कार्बोहाइड्रेट युक्त खाना बढी समावेश हुन्छ। हाम्रा खानामा कार्बोहाइड्रेट धेरै हुने तर हड्डी बलियो बनाउन आवश्यक क्याल्सियम र प्रोटिन कम हुनुले पनि महिलामा हाडजोर्नीका समस्या कम उमेरमै देखिने गरेको चिकित्सकको भनाइ छ। ‘खानामा पोषणको कमीका कारण महिलामा ५० वर्षपछि नै हाडजोर्नीका समस्या देखिन्छन् भने पुरुषमा ७० वर्षपछि मात्र समस्या सुरु हुन्छ’, डा. आचार्य बताउँछन्।
शारीरिक बनोट: चिकित्सकका अनुसार महिलाको शारीरिक बनोटकै कारणले पनि तल्लो भागमा बढी भार पर्न गई हड्डी खिइँदै जान्छ। महिलाको शरीरको बनोट पेल्भिस (नाइटोको तल्लो भाग) ८० डिग्रीभन्दा बढी हुन्छ भने पुरुषको ७० डिग्रीभन्दा कम हुन्छ। महिलाको पेल्भिस चौडा भएकाले पनि पेल्भिसवरपरको भागमा हुने मांसपेशी तथा हड्डीको भार बढी हुन्छ। जसका कारण पेल्भिस वरपरको मांसपेशी कमजोर हुन्छ। पेल्भिसको मांसपेशी कमजोर भएमा शरीरको भाग जोर्नीमा पर्छ। जसका कारण घुँडा तथा हिपको भाग खिइँदै जान्छ।
वंशाणु: महिलामा हाडजोर्नी समस्या बढी हुनुमा वंशाणुगत कारण पनि हुन्छन्। आमा या हजुरआमालाई हड्डीसम्बन्धी रोग भएमा पछिल्लो पुस्तामा पनि देखा पर्ने चिकित्सक बताउँछन्। हाडजोर्नी जोड्ने लिगामेन्ट कमजोर हुँदा पनि पुरुषको तुलनामा महिलाको जोर्नी बढी खिइने चिकित्सक औंल्याउँछन्।
मोटोपना र जीवनशैली: महिलामा हाडजोर्नीका रोग बढी देखिनुमा जीवनशैली पनि मुख्य कारण रहेको डा. आचार्य बताउँछन्। उनका अनुसार तुलनात्मक रूपमा महिला घरेलु काम बढी गर्छन्। घरेलु काम भन्नाले तलमाथि, वरपर र उभिएर खाना पकाउने, सफाइ गर्ने आदि हुन्।
यति कामले हड्डी स्वस्थ र बलियो नपार्ने बरु तौल वृद्धिमा मद्दत पुर्याउने चिकित्सक बताउँछन्। आवश्यक व्यायाम अपुग भएकाले पनि हड्डीमा बढी समस्या आउने गरेको हो। सीमित काम, असन्तुलित भोजन र आरामदायी जीवनशैलीले तौल बढ्ने र आवश्यक व्यायाम नपुग्ने भएका कारण हाडजोर्नी कमजोर हुने डा. आचार्य बताउँछन्। बढी तौलले हाडजोर्नीमा भार पर्न गई खिइने क्रम सुरु हुन्छ।
दीर्घ रोग: क्रोनिक रोगका लागि बिरामीले प्रयोग गर्ने स्टेरोइडजस्ता औषधीका कारण पनि महिलाका हड्डीमा असर पुर्याउने चिकित्सक बताउँछन्। यो औषधी लामो समय सेवन गर्दा दमको रोगलाई सहज भए पनि हड्डी कमजोर बनाउँदै लैजान्छ।
कसरी बच्ने: महिनावारी बन्द भएपछि महिलाको शरीरमा स्ट्रोजन हर्मोन कम हुँदै जान्छ तर पूरै बन्द हुँदैन। नियमित व्यायाम गर्ने तर कडा व्यायाम नगर्ने गर्न सकिन्छ। विशेषगरी नियमित हिँड्ने र एरोबिक व्यायाम महिलाका लागि उचित हुन्छ।
पोषणयुक्त खाना खाने: पोषणयुक्त अर्थात् सन्तुलित खानाले हाडजोर्नीलाई आवश्यक पोषण पुग्छ र बलियो राख्न मद्दत गर्छ। प्रोटिन, क्याल्सियमयुक्त खानेकुरा नियमित खाने। यसका साथै सूक्ष्मपोषक तŒव भएका सबै खानेकुरा नियमित भोजनमा समावेश गर्ने।
दीर्घरोगबाट बच्ने: जसलाई क्रोनिक रोग लाग्छ, उनीहरूले नियमित रूपमा सहनैपर्छ। दमरोगीमा स्टेरोइड प्रयोग गर्नुपर्छ। यसले गर्दा हड्डी कमजोर हुन्छ। यस्तो रोगबाट बच्न सानै उमेरदेखि हेरचाह र सन्तुलित व्यायाम आवश्यक पर्छ।
तौल नियन्त्रण र नियमित व्यायाम: शरीरको उच्चाइअनुसार आवश्यक तौल व्यवस्थापन गरेमा तौलका कारण हड्डीमा भार नपर्ने भएकाले सन्तुलित र उचित क्यालोरीसहितका खाना खाने, नियमित व्यायाम गरेर तौल नियन्त्रण राख्न चिकित्सकले सुझाव दिएका छन्। हाडजोर्नी सधैंका लागि बलियो बनाउन महिलाले ३५ वर्षभित्रै कडा व्यायाम र स्वस्थ जीवनशैली अपनाएमा हड्डी स्वस्थ राख्न सकिन्छ।
सकेसम्म पाठेघर जोगाएर राख्ने: हिजोआज यो या त्यो बहानामा पाठेघर निकाल्ने चलन बढ्दो छ। पाठेघर कम उमेरमै निकाल्दा हड्डी कमजोर हुने भएकाले सकेसम्म पाठेघर बचाएर राख्न चिकित्सकले सुझाव दिएका छन्। पाठेघरसहित डिम्बासयलाई पनि कम्तीमा ५५ वर्षसम्म जोगाएर राख्नुपर्छ।
कसरी हड्डी बलियो राख्न सकिन्छ: हड्डी बलियो राख्नका लागि भिटामिन बी, क्याल्सियम, प्रोटिनयुक्त खाना नियमित भोजनमा समावेश गर्ने, युवा उमेरमा खेलकुदमा भाग लिने र नियमित सन्तुलित व्यायाम गरेमा हड्डी बलियो बन्ने चिकित्सक सुझाउँछन्। यसका साथै रजनोवृत्तिपछि शरीरबाट स्ट्रोजन हर्मोन पूरै बगेर जाँदैन। त्यसपछिको उमेरमा पनि केही मात्रामा स्ट्रोजन हर्मोन पेटको बोसो भएको भागबाट उत्पादन भइरहन्छ। यसकारण महिलाले उमेर पुगेपछि धेरै दुब्लाउनुको सट्टा थोरै मात्रामा मोटोपना कायम राख्नुपर्ने चिकित्सक सुझाव छ, जुन हर्मोनले हड्डी बलियो राख्ने काम गर्छ। बोसोले पनि हर्मोन उत्पादन गर्ने डा. आचार्यको भनाइ छ।
प्रकाशित: ३० पुस २०८२ १०:०५ बुधबार
