क्यानडाका प्रधानमन्त्री मार्क कार्नी लगभग एक दशकमा पहिलो पटक यसै हप्ता चीनको भ्रमण गर्दैछन्। विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँगको सम्बन्ध पुनर्निर्माण गर्ने र अमेरिकामाथि क्यानडाको निर्भरता कम गर्ने प्रयासस्वरूप उनी मंगलबार चीन जान लागेका हुन्।
विश्वको पहिलो अर्थतन्त्र र लामो समयदेखि क्यानडाको सबैभन्दा ठूलो व्यापारिक साझेदार अमेरिकासँगको सम्बन्धमा चिसोपन आइरहेको बेलामा कार्नी बेइजिङ पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धि र क्यानडा ‘५१ औं राज्य’ बन्न सक्छ भन्ने सोचाइको सामना गरिरहेका उनले अर्को एक दशकमा क्यानडाको गैर–अमेरिकी निर्यात दोब्बर बनाउने लक्ष्य राखेका छन्।
‘विश्वव्यापी व्यापार अवरोधको समयमा, क्यानडा अझ प्रतिस्पर्धी, दिगो र स्वतन्त्र अर्थतन्त्र निर्माणमा केन्द्रित छ,’ कार्नीले एक विज्ञप्तिमा भनेका छन्, ‘हामी हाम्रो अर्थतन्त्रलाई एकल व्यापार साझेदारमा निर्भर रहेको अर्थतन्त्रबाट रूपान्तरण गर्न विश्वभर नयाँ साझेदारीहरू निर्माण गर्दैछौं।’ कार्नीले शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र अन्य अधिकारीहरूसँग भेट गर्ने जनाइएको छ।
क्यानेडाली अधिकारीहरूले पत्रकारहरूसँगको साक्षात्कारमा यो सुषुप्त रणनीतिक साझेदारीलाई पुन: सक्रिय पार्ने प्रयास हो भनेका छन्। उनीहरुले भेनेजुएलामा वाशिंगटनको हस्तक्षेप दूरगामी रहेको पनि उल्लेख गरेका छन्। क्यानेडाली अधिकारीहरूले बेइजिङसँगको व्यापारिक समस्याहरूमा प्रगति हुने बताए पनि केही भन्सार शुल्कहरूको निश्चित उन्मूलन भने नहुने स्पष्ट पारेका छन्।
यसैबीच, कार्नीका दुई सांसदहरूले प्रधानमन्त्रीको बेइजिङ भ्रमणको तयारी गर्दै गर्दा क्यानडाको चीन नीतिको बारेमा ‘भ्रमबाट बच्न’ ताइवानको प्रायोजित यात्रा चाँडै छोड्दै जनाए।
संयुक्त विज्ञप्तिमा उदारवादी सांसद हेलेना ज्याकजेक र मेरी–फ्रान्स लालोन्डेले ‘सरकारको सल्लाह’ को आधारमा क्यानडा फर्किँदै गर्दा ताइवानमा क्यानडाको अडान परिवर्तन नगर्ने स्पष्ट पारेका छन्। चीनले स्वशासित ताइवानलाई आफ्नो सार्वभौम क्षेत्रको रूपमा हेर्छ र आवश्यक परेमा बल प्रयोग गरेर यसलाई लिने चेतावनी पनि दिँदै आएको छ।
विपक्षी कन्जरभेटिभ विदेश मामिला आलोचक माइकल चोङले यात्रा चाँडै छोड्ने लिबरल निर्णय ‘बेइजिङको अधिनायकवादलाई नमन गर्नु भन्दा कम छैन’ भन्ने तर्क गरेका छन्। कार्नी शनिबारसम्म चीनमा रहनेछन्। त्यसपछि अर्को हप्ता स्विट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिनुअघि कतारको भ्रमण गर्ने जनाइएको छ।
चीनको नान्जिङ विश्वविद्यालयको अन्तर्राष्ट्रिय अध्ययन स्कूलका डीन झु फेङले भने, ‘ट्रम्पको शुल्कले क्यानडा र चीन दुवैलाई अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउने अवसरहरू खोज्न बाध्य पारेको छ।’
‘कार्नीको भ्रमणले वर्तमान अमेरिकी व्यापार संरक्षणवाद अन्तर्गत चीन–क्यानडा सम्बन्धमा थप विकासको लागि नयाँ ठाउँलाई प्रतिबिम्बित गर्दछ,’ उनले थप भने। क्यानडा अमेरिकाको सहयोगी रहेको उल्लेख गर्दै उनले भ्रमणको महत्त्वलाई बढाइचढाइ नगर्न चेतावनी दिए। दुई उत्तर अमेरिकी राष्ट्रहरूले गहिरो सांस्कृतिक सम्पदा र साझा भूगोल पनि साझा गर्छन्।
कार्नीले लगभग एक दशकसम्म प्रधानमन्त्री रहेका जस्टिन ट्रुडोको उत्तराधिकारीको रूपमा एक वर्षभन्दा कम समयदेखि पद सम्हालेका छन्। तर उनी चीनसँग सम्बन्ध सुधार गर्ने प्रयास गर्ने कुनै देशका पहिलो नयाँ नेता होइनन्।
सन् २०२२ मा आफ्नो लेबर पार्टी सत्तामा आएदेखि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले चीनसँग सम्बन्ध पुनर्स्थापित गरेका छन्। अघिल्लो सरकारको समयमा चीनसँग अष्ट्रेलियाको सम्बन्ध बिग्रिएको थियो। सोहीकारण वाइन, गाईको मासु, कोइला र अन्य अष्ट्रेलियाली निर्यातमा चीनले व्यापार प्रतिबन्ध लगाइएको थियो।
बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले सन् २०२४ मा आफ्नो लेबर पार्टीले कन्जरभेटिभहरूलाई निष्कासन गरेदेखि नै चीनसँगको सम्बन्ध सुधार गर्न खोजेका छन्। उनले चीनको भ्रमणको योजना बनाएको बताइएको छ, यद्यपि सरकारले यसको पुष्टि गरेको छैन।
दुई सरकारबीच मतभेद छ। स्टार्मरले सन् २०२४ को अन्त्यतिर ब्राजिलमा सीसँगको वार्तामा हङकङका पूर्व मिडिया म्याग्नेट जिमी लाइको मुद्दा उठाएका थिए, जो एक ब्रिटिश नागरिक थिए। उनलाई चीनमा राष्ट्रिय सुरक्षा कानून अन्तर्गत दोषी ठहराइएको थियो। बेलायतले बेइजिङसमक्ष प्रेस स्वतन्त्रताको बारेमा चिन्ता व्यक्त गरेको थियो।
अप्रिलमा चीन जाने बताएका ट्रम्पले बेइजिङसँग सुमधुर सम्बन्ध राख्न चाहेको संकेत दिएका छन्। यद्यपि उनले चीनविरुद्ध कर बढाएर समानान्तर व्यापार युद्ध पनि सुरु गरेका छन्।
क्यानडामा, ट्रम्पको धम्कीले आफ्नो धेरै शक्तिशाली छिमेकीसँगको देशको लामो समयदेखिको सम्बन्धमाथि प्रश्न उठाएको छ।
सन् २०१८ को अन्त्यतिर अमेरिकाको अनुरोधमा क्यानडाले चिनियाँ दूरसञ्चार कार्यकारीलाई पक्राउ गरेको घटनाले सम्बन्ध बिग्रन थालेको थियो। अमेरिकाले हुवावे टेक्नोलोजी कम्पनीकी कार्यकारी मेङ वान्झाउलाई अमेरिकी आरोपहरूको सामना गर्न सुपुर्दगी गर्न चाहेको थियो।
चीनले जासुसीको आरोपमा दुई क्यानेडियाली (माइकल कोभ्रिग र माइकल स्पाभोर)लाई पक्राउ गरेर बदला लियो। उनीहरूलाई जेल हाल्दा मेङलाई क्यानाडाली सहर भ्यानकुभरमा नजरबन्दमा राखिएको थियो त्यहाँ ठूलो संख्यामा चिनियाँ मूलका मानिसहरु बसोबास गर्छन्। तीनै जनालाई सन् २०२१ मा भएको सम्झौता अन्तर्गत रिहा गरिएको थियो ।
हालसालै, क्यानडाले अमेरिकालाई पछ्याउँदै विद्युतीय सवारी साधनमा १०० प्रतिशत र चीनबाट आउने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाएको छ।
अमेरिकापछि क्यानडाको दोस्रो नम्बरको व्यापारिक साझेदार चीन हो। उसले क्यानोला, समुद्री खाना र सुँगुरको मासु लगायत क्यानेडाली निर्यातमा कर लगाएको छ। क्यानडाले विद्युतीय सवारी साधनमा १०० प्रतिशत शुल्क हटाएको खण्डमा केही कर हटाउने संकेत गरेको छ।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सको सम्पादकीयले कार्नीको भ्रमणलाई नयाँ सुरुवात बिन्दुको रूपमा स्वागत गरेको छ। सम्पादकीयमा क्यानडालाई ‘अव्यावहारिक भन्सार प्रतिबन्धहरू’ हटाउन र थप व्यावहारिक सहयोग अगाडि बढाउन आह्वान गरिएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार चीनले कार्नीको भ्रमणलाई ‘चीन–क्यानडा सम्बन्धमा सुधारको गतिलाई सुदृढ गर्ने’ अवसरको रूपमा हेरेको भनिन्।
यसअघि कार्नीले अक्टोबरको अन्त्यतिर दक्षिण कोरियामा सीसँग भेटेका थिए। सो अवसरमा दुवै जना वार्षिक एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा भाग लिन त्यहाँ पुगेका थिए।
प्रधानमन्त्री कार्नी भारतसँगको सम्बन्ध सुधार्ने प्रयासमा पनि लागेका छन्। सन् २०२४ मा ट्रुडो सरकारले सन् २०२३ मा क्यानडामा एक सिख कार्यकर्ताको हत्यामा भारत संलग्न भएको आरोप लगाएपछि दिल्लीसँग ओटावाको सम्बन्ध बिग्रिन पुगेको थियो। त्यसको परिणामस्वरूप वरिष्ठ कूटनीतिज्ञहरूको निष्कासन, भिसा अवरोध, कन्सुलर कर्मचारीहरूको संख्या घटाउनलेदेखि व्यापार वार्ता स्थगितसम्म रहेका थिए।
गत मार्चमा कार्नी प्रधानमन्त्री भएपछि जुनबाट नै दुईबिच सम्बन्ध सुधारको सुरुवात भयो। त्यसबेलादेखि, दुवै पक्षले केही कन्सुलर सेवाहरू पुनर्स्थापित गरेका थिए। दुवैले कूटनीतिक सम्पर्कहरू पुन: सुरु गरे। गत नोभेम्बरमा क्यानाडाली विदेशमन्त्री अनिता आनन्दले ट्रम्पको व्यापार युद्धको प्रतिक्रियामा सरकारको नयाँ विदेश नीतिलाई ध्यानमा राख्दै दुई देशहरूले व्यापार सम्झौता अगाडि बढाउन द्रुत गतिमा अघि बढ्ने बताएकी थिइन्।
कार्नीले यस वर्षको सुरुतिर भारतको भ्रमण गर्ने अपेक्षा गरिएको छ। एपी
प्रकाशित: २९ पुस २०८२ १२:०६ मंगलबार
