अमेरिका आउँदा भिसा बण्ड लागू हुने नेपाली लगायतले यी ९ विमानस्थल मात्र प्रयोग गर्न पाइने



प्रकाशित मिति : पुस २४, २०८२ शुक्रबार

people walking inside building during daytime

ओ’हेयर अन्तर्राष्ट्रिय विमानस्थल, शिकागो (इन्जिन यापिची/अनस्प्ल्याश)

अमेरिकी विदेश मन्त्रालयले भिसा बन्ड लागू हुने यात्रुहरूका लागि अनिवार्य प्रवेश र प्रस्थान विमानस्थलको संख्या तीनबाट बढाएर नौ पुर्‍याएको छ। यो व्यवस्था भिसा बण्ड लागू हुने नेपालीका लागि जनवरी २१, २०२६ देखि लागू हुने छ र यसले बी–१/बी–२ भिसामा अमेरिका आउन चाहने नेपाली नागरिकहरूलाई प्रत्यक्ष असर गर्नेछ।

नयाँ नियमअनुसार, भिसा बन्ड तिर्नुपर्ने यात्रुले अब अमेरिकामा प्रवेश र प्रस्थान गर्दा तोकिएका नौवटा विमानस्थलमध्ये कुनै एक प्रयोग गर्नुपर्नेछ। तोकिएका विमानस्थल बाहेक अन्य स्थान प्रयोग गरेमा प्रवेश अस्वीकृत हुन सक्ने, प्रस्थान अभिलेखमा नदेखिन सक्ने तथा भविष्यको भिसामा असर पर्न सक्ने अमेरिकी अधिकारीहरूले चेतावनी दिएका छन्।

यसअघि भिसा बन्ड तिर्ने यात्रुहरूलाई केवल तीनवटा विमानस्थल बोस्टन लोगन, न्युयोर्कको जोन एफ. केनेडी र वाशिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थल मार्फत मात्र प्रवेश–प्रस्थान गर्न अनुमति थियो। बिहिबार यो सूची नौवटा प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म विस्तार गरिएको हो।

नयाँ थपिएका विमानस्थलहरूमा नेवार्क लिबर्टी (न्यु जर्सी), हार्ट्सफिल्ड–ज्याक्सन अटलान्टा, शिकागो ओ’हेयर, लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थल साथै टोरोन्टो पियर्सन र मोन्ट्रियल–पियरे एलियट ट्रुडो अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन्। विदेश मन्त्रालयका अनुसार आवश्यक परे थप विमानस्थलहरू पनि क्रमशः सूचीमा थपिन सक्छन्।

नेपाल पनि भिसा बन्ड लागू हुने देशहरूको सूचीमा समावेश गरिएको छ र यो व्यवस्था जनवरी २१, २०२६ देखि कार्यान्वयनमा जानेछ। भिसा बन्ड कार्यक्रम अमेरिकी आप्रवासन तथा राष्ट्रियता ऐन अन्तर्गत अस्थायी अन्तिम नियम मार्फत लागू गरिएको हो।

होमल्याण्ड सेक्युरिटीको को आर्थिक वर्ष २०२४ को तथ्यांकअनुसार नेपाली भ्रमण भिसा धारकहरूको ओभरस्टे दर ३.१२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ४.१९ प्रतिशतभन्दा कम हो। सुधार देखिए पनि नेपाललाई उच्च ओभरस्टे दर भएका देशहरूको समूहमा राख्दै भिसा बन्ड कार्यक्रम लागू गरिएको हो।

भिसा बन्डको रकम ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर हुन सक्छ, जुन भिसा अन्तर्वार्ताका क्रममा व्यक्तिगत रूपमा निर्धारण गरिन्छ। सबै नेपाली आवेदकलाई अनिवार्य रूपमा बन्ड तिर्नुपर्ने हुँदैन, तर बन्ड तिर्न निर्देशन पाएका आवेदकले होमल्याण्ड सेक्युरिटीको फारम ३५२ भरेर सरकारी वेवसाइटमार्फत मात्र भुक्तानी गर्नुपर्नेछ।

अमेरिकी सरकारले तेस्रो पक्ष वेबसाइटमार्फत गरिएको भुक्तानीप्रति जिम्मेवार नहुने स्पष्ट गरेको छ। अधिकारीको निर्देशन बिना तिरेको बन्ड रकम फिर्ता नहुने पनि स्पष्ट गरिएको छ। साथै, बन्ड तिरेको मात्र आधारमा भिसा स्वीकृत हुने ग्यारेन्टी नहुने जनाइएको छ।

भिसा बन्ड तिरेका यात्रुले तोकिएको समयभित्र अमेरिका छोड्नुपर्ने, तोकिएका विमानस्थलमार्फत मात्र प्रवेश–प्रस्थान गर्नुपर्ने र अमेरिकामा बसाइँ परिवर्तन वा शरणको आवेदन नगर्नुपर्ने सर्तहरू पालना गर्नुपर्नेछ। यी सर्त उल्लङ्घन भएमा बन्ड जफत हुन सक्ने र भविष्यका अमेरिकी भिसामा गम्भीर असर पर्ने होमल्याण्ड सेक्युरिटीले जनाएको छ।





Source link

Leave a Comment