हर्क साम्पाङको उत्सव


News Summary

Generated by OK AI. Editorially reviewed.

  • धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदान अभियानमार्फत् श्रम संस्कृति पार्क र जेष्ठ नागरिक पार्क निर्माण गरिरहेका छन्।
  • साम्पाङले कोकाहको पानी ९८ दिनमा ४२ किलोमिटर जंगलको बाटो तानेर धरान ल्याएका छन् र यस परियोजनामा देशविदेशबाट सहयोग प्राप्त भएको छ।
  • साम्पाङले श्रम संस्कृति पार्टी गठन गरी ४० भन्दा बढी जिल्लामा समिति बनाएर आगामी चुनावका लागि संगठन निर्माण र चुनावी तयारी गरिरहेका छन्।

२४ पुस, धरान । कुनै सामाजिक उत्सवको तयारी चले जस्तो ।

माहोल देख्दा लाग्छ– वनभोजमा निस्कने खुशीयाली छ, अथवा जन्ती जाने तयारी भइरहेको छ ।

पुसे चिसो बढ्दो छ । तर शनिबार, (१९ पुस) बिहानको चिसोले धरानको बुद्धचोकमा मानिसहरू भेला हुन रोकिएनन् । बिहान साढे ८ बजेतिर दुई ठूला बस भरिनेगरी भेला भए ।

हाते माइकबाट आह्वान गरियो– सबै जना बस चढौं ।

उनीहरूका साथमा छन्– बेल्चा, गैँची र साबेलहरू । अनि घन्काइएको छ गीत–
‘म त लाटा दिनभरी काम गर्ने,
तिमी बाठा दिनभरी गफ गर्ने,
पारा मिलेन जेठा,
पारा मिलेन !’

००० ०००

गीतमा रमिरहेकाहरू घरिघरि नारा लाउँछन्– श्रमदान: जिन्दावाद !

धरान उपमहानगर–१८ र १९ को सीमाना पर्ने बुद्धचोकबाट ७ किलोमिटर बस गुडेपछि पुगियो, श्रम संस्कृति पार्क ।

पार्क छेऊ पुगेर रोकिएका बसबाट निस्किए धरानका मेयर हर्क साम्पाङ । नाच्न थाले उनी, अरूले नाच्न सघाए ।

खाजाको अपिल गरियो । चियासँगै चिउरा र दालमोट बाँडियो । नाचगान चलिरह्यो । खाजा खाइसकेपछि मेयर साम्पाङले सहभागीहरूलाई आफ्नो कुरा सुन्न आग्रह गरे–

‘हामी किन भेला भयौं भन्नेबारे थाहा पाउनुपर्‍यो, दुई मिनेट म मात्रै बोल्छु,’ सबैलाई शान्त पार्दै उनले भने, ‘अब धरानमा मात्र श्रमदान रहेन, नेपालभरी फैलाउनुपर्नेछ । कुद्दाकुद्दा एक महिना बढी भयो, मैले श्रमदान गर्न नपाएको ।’

संक्षेपमा मेयर साम्पाङले श्रम संस्कृति पार्कसँगै बनाउन लागिएको जेष्ठ नागरिक पार्कबारे जानकारी दिए । ‘हामी सबै बुढो हुन्छौं । बुढाबुढी सँगसँगै मरिंदैन, अघिपछि मर्दा हामी एक्लो हुन्छौं,’ उनले भने, ‘त्यस्तो बेला साथी चाहिन्छ, साथी औषधि हुन्छ ।’

श्रमदानबाटै जेष्ठ नागरिक पार्क बनाइँदै गरेको जानकारी दिए । ‘आज जेष्ठ नागरिक पार्कमा जाली लगाउने काम हुन्छ, ढुंगा बोक्नुपर्छ,’ उनले भने, ‘त्यहाँ पनि नाचगान भइरहन्छ, रमाइलो गर्दै काम गर्नुपर्छ । ढाँड सड्काएर, खुट्टा मर्काएर मरीमरी गर्नुपर्छ भन्ने छैन । देशका लागि सकेको गर्ने हो ।’

अब शुरू भयो, श्रमदान ।

गीत बजिरह्यो । नाच्दै-रमाउँदै ढुङ्गा बोक्ने, जाली भर्ने, गाह्रो हाल्ने काम चलिरह्यो ।

साम्पाङसहित केही अगुवाका काँधमा हाते माइक छन् । उनीहरू गर्नुपर्ने कामबारे बेलाबेला जानकारी दिन्छन् । यसैगरी पूरा दिन बित्यो ।

दिउँसो अबेरतिर खाना खाने छुट्टी भयो । ‘केही दिन भएको थियो, दालभात मात्रै खुवाएको, आज मासुको पनि व्यवस्था छ,’ श्रम अभियानमा खानाको व्यवस्था मिलाउँदै आएकी कमला लिम्बुले भनिन्, ‘आज श्रमदाता पनि पाँच सय बढी हुनुहुन्छ ।’ उनका अनुसार दाता भेटिँदा श्रमदान गर्नेहरूलाई मासुको व्यवस्था हुने गर्छ, नत्र दालभात हो ।

तर श्रमदान गर्नेहरूलाई खाजाखानाका लागि अहिलेसम्म कतै न कतैबाट सहयोग आइरहेकै छ । ‘हाम्रो श्रमदान अभियानमा देशविदेशबाट सहयोग आइरहेकै छ, त्यसैले यतिका धेरै काम गरिसक्यौं,’ साम्पाङलाई साथ दिँदै आएका प्रसाद राई भन्छन् ।

दाताको सहयोग र श्रमदानबाटै ३ करोड बढी लागत अनुमान गरिएको जेष्ठ नागरिक पार्क बनाउने लक्ष्य साम्पाङले लिएका छन् । ‘अस्पताल खोल्नुभन्दा अस्पताल पुग्नै नपर्नेगरी स्वस्थ हुने वातावरण बनाउनु राम्रो हो,’ साम्पाङ भन्छन्, ‘जेष्ठ नागरिक पार्क त्यस्तै एउटा चिकित्सालय हुनेछ, वृद्धवृद्धाहरूको साथी हुनेछ ।’

इच्छा हुनेहरूले सबै दिनजसो श्रमदान गरिरहेका छन् । तर शनिबार भने महत्वका साथ श्रम अभियान चल्ने गर्छ । श्रम अभियानको जानकारी मेयर साम्पाङ आफैँले सामाजिक सञ्जाल फेसबुकबाट दिने गरेका छन् ।

श्रमदान अभियानबाटै मेयर साम्पाङको नेतृत्वमा निर्माणाधीन जेष्ठ नागरिक पार्क छेउमा श्रम संस्कृति पार्क बनिसकेको छ । जहाँ धरान र धराने जनताको सभ्यता झल्काउने अनेक प्रतिमा र प्रतीकहरू निर्माण गरिएका छन् ।

‘यो पार्कमा देशका विभिन्न भाग र विदेशबाट समेत पर्यटक आउन थालेका छन्,’ श्रम संस्कृति पार्क व्यवस्थापनमा खटिएका प्रदीप राई भन्छन्, ‘दैनिक पाँच हजारसम्मले पार्क भिजिट गर्छन् ।’

हर्क साम्पाङको उत्सव

पार्कमा प्रवेश गर्न ३५ रूपैयाँ शुल्क तिर्नुपर्छ । ‘धरानको मात्र होइन, मेरो दाबी पूर्वकै धेरै पर्यटक आउने पार्क बन्यो भन्ने हो,’ मेयर साम्पाङ भन्छन् । अझ धेरै पर्यटक ल्याउनेगरी श्रमदान अभियानबाट काम गर्ने योजना सुनाउँछन्, उनी ।

श्रमदानलाई महाअभियान नै भनिरहेका मेयर साम्पाङको डायरीमा कामको क्षेत्र भने बढिरहेको छ । सचेतना, खबरदारी, वकालत, निर्माण, शासन (मेयरको भूमिका) जस्ता काम एकैपटक गरिरहेका साम्पाङले साप्ताहिक क्यालेण्डर नै बनाएका छन् ।

मंगलबारलाई ‘जनमतबार’ मानेर यो दिन प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालतमा खर्चन्छन्, उनी ।

बिहीबारलाई ‘सफाबार’ भन्छन् । मेयर निर्वाचित भएर आएपछि सार्वजनिक संरचनाको सरसफाइमा यो दिन खर्चने गरेका छन् ।

शुक्रबारलाई ‘सुधारबार’ भन्छन् । लागु औषधविरुद्धको अभियान चलाउँछन् । भन्दै आएका छन्, ‘युवाहरू गलत काममा लाग्न दिन्न, सुधार्छु ।’

शनिबारलाई ‘श्रमबार’ भन्छन्, हर्क साम्पाङ ।

यी सबै अभियानमा नागरिकलाई सामेल गराएरै मेयर साम्पाङले आफ्नो परिचय अलग बनाएका छन् । ‘स्वतन्त्र उम्मेद्वारी दिएर जित्दा उहाँसँग संगठन थिएन, कार्यकर्ता थिएन,’ उनी निकट प्रसाद राई भन्छन्, ‘आज लाखौं मानिसले साथ दिनुभएको छ । यो भिजनको सफलता हो ।’

पानी खुवाएको खुशी

अहिले जेष्ठ नागरिक पार्क निर्माण गरिरहेकै शैलीले कोकाहको पानी धरान ल्याएकाले हर्क साम्पाङलाई साथ दिने पंक्ति बढिरहेको स्थानीयबासी बताउँछन् । ‘मेयर जिते भने पानी खुवाउँछु भनेर भोट माग्नु भएको थियो । जित्नुभयो, पानी पनि ल्याउनुभयो,’ धरान–२, का मनोजी चौधरी भन्छन्, ‘भनेको कुरा पुरा गरेपछि विश्वास बढेको हो ।’

चौधरीको बुझाइमा हर्कप्रति जनआकर्षण देखिनुमा उनको संघर्ष मुख्य कुरा हो । ‘यत्रो ठूलो शहरको मेयर त्यसरी भीरमा झुण्डिएर पाइप तानिरहेको छ । जंगलमै बास बसेको छ, सर्वसाधरणसँगै काम गरेको छ,’ उनी भन्छन्, ‘यस्तो संघर्ष गर्ने मान्छेलाई साथ दिनुपर्छ भन्ने मान्छेहरूमा परेको छ ।’

चौधरीकै जस्तो बुझाइ धरानमा लगभग साझा देखिन्छ । ‘पानीको दुःख हुन्थ्यो, अहिले खोला नै यता ल्याउनुभयो,’ स्थानीय मैया कट्टेल भन्छिन्, ‘हाम्रो यति दुःख गर्ने मेयरलाई हामीले पनि साथ दिदै आएका छौं ।’

हर्क साम्पाङको उत्सव

धरानभित्र र बाहिरका नागरिकले आफूलाई विश्वास गर्नुमा कोकाहको पानी ल्याउने परियोजना मुख्य रहेको स्वयं साम्पाङ पनि स्वीकार्छन् । ‘पानी माफियाहरूसँग एक्लै लडेर धरानेलाई पानी खुवाएको छु,’ उनी भन्छन्, ‘कोकाहको मुहान पुग्न यहाँबाट तीन दिन लाग्छ, भीरको बाटो बास बस्दै जानुपर्छ । त्यहाँको दुःख देख्नुभयो भने तपाई रूनु हुन्छ ।’

४२ किलोमिटर जंगलको बाटो पाइप तानेर ९८ दिनमा पानी ल्याउँदा हर्क रोएका थिए । पानी आएको हर्षमा रोएको भिडियो/तस्वीर देख्दा उनको आषर्कण झनै बढेर गयो ।

साम्पाङका अनुसार विभिन्न देशबाट आएको सहयोग र सर्वसाधरणको श्रमदानबाट कोकाहको पानी धरान पुगेको हो । यो परियोजनापछि भने हर्कको आकर्षण मात्र बढेन, सहयोगीहरू पनि बढे । यदि त्यसो नहुँदो त अहिले कोकाहको पानी बन्द भइसक्ने थियो ।

किनकि जंगलमा आगो लाग्दा पानीको पाइप पनि जल्यो । तर जलेको पाइप फेरियो, श्रमदानबाटै पाइप पुरियो । श्रम संस्कति पार्कमै पनि वर्षाको बाढीले क्षति पुगेको थियो । तर तत्कालै पुनर्निर्माण गरियो ।

मेयर जितेपछि चलाएको अभियानहरूमा पाएको साथ देखेर हौसिएका साम्पाङ धरानका जनताका निम्ति उद्योग खोल्नेदेखि जंगलका जनवारलाई फलफुल रोपिदिनेसम्म अभियान चलाइरहेका छन् । ‘माया धराने’ नामक बेसार उद्योगलाई उनले देशविदेश पुर्याउन खोजिरहेका छन् ।

हर्क साम्पाङको उत्सव

बेसार उद्योगमा भने नगरपालिकाको समेत लगानी छ । ‘धरानको २० नम्बर वडामा बेसार धेरै उत्पादन हुन्छ, यहाँको बेसार भारत लगिने गरेको थियो,’ बेसार उद्योगका अध्यक्ष प्रसाद राई भन्छन्, ‘अहिले यही उद्योग खोलेपछि किसानहरू खुशी हुनुभएको छ ।’ उनका अनुसार बेसार उद्योगको कारोबार करोड नाघिसकेको छ ।

नगरपालिकाको सरकारी बजेट र परियोजनालाई नियमित काम ठान्ने मेयर साम्पाङले अगाडि बढाएको अर्को ठूलो परियोजना हो, सुम्निमा–पारुहाङको विशाल प्रतिमा निर्माण । यो परियोजनामा पनि नगरपालिकाको पैसा नलगाउने उनको घोषणा छ ।

‘यहाँ सुम्निामा–पारूहाङको प्रतिमा बन्दैछ, त्यसमा पनि नगरपालिकाको पैसा लगाउँदिनँ,’ साम्पाङ भन्छन्, ‘सरकारी पैसा त रोल्पा–रुकुमका ती ठाउँमा लगाउनुपर्छ, जहाँ केटाकेटी अझै तुइन चढेर स्कूल जान्छन् ।’

हर्क साम्पाङको उत्सव

यसरी मेयर जित्न स्वतन्त्र उम्मेद्वारी दिँदा होस्, अथवा मेयर जितेपछि श्रमदान अभियान मार्फत् धरान बनाउने प्रस्तावमा साथ पाएका हर्क साम्पाङ केही महिनायता भने देशकै प्रधानमन्त्री बन्छु भनेर कस्सिएका छन् ।

सामाजिक सञ्जालमा जस्तै धरानमा चलिरहेका गतिविधिहरूमा हर्कलाई प्रधानमन्त्री बनाउने अभियान लुकेको छैन । श्रमदानमा जानेहरूले हर्कको प्रशंसामा नारा लगाउने, माटो चिन्हमा मत माग्ने जस्ता काम पनि सँगसँगै गरिरहेका छन् ।

र, यसलाई हर्क समर्थकहरू भने स्वभाविक मान्छन् । ‘म उहाँको पार्टीमा आबद्ध भइसकेको छैन । तर श्रमदान अभियानले जसरी धरानमा परिवर्तन ल्याएको छ, त्यसआधारमा हर्क साम्पाङ प्रधानमन्त्री हुँदा साथ दिनु सबैको दायित्व हो,’ श्रमदानमा भाग लिँदै आएका इटहरीका विज्ञान राई भन्छन् ।

राईले आफू दलमा आवद्ध भइनसकेको बताए पनि मेयर साम्पाङले धरानमा चलाउँदै आएको श्रमदान अभियानलाई नै पार्टीमा रूपान्तरण गरिदिएका छन् ।

आफू नेतृत्वमा गठित श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता नभएर अगुवा श्रमदाता हुने, श्रमदान नगर्नेलाई टिकट नदिने, आफू प्रधानमन्त्री भए देशभर श्रम अभियान चलाउने जस्ता सर्त–तर्कहरूबाट उनको चाहना र योजना धेरै बुझ्न सकिन्छ ।

यसो पनि भन्न सकिन्छ– धरानमा श्रमदान अभियान चलाउँदै हर्क साम्पाङ राजनीतिमा होमिने आधार नै तयार पार्दै थिए । संभवतः २०८४ मा उनी सांसदको उम्मेद्वार बन्ने योजनामा थिए ।

तर २३–२४ भदौमा चलेको जेनजी आन्दोलनबाट सत्ता पलट हुँदा २०८२ फागुनमै मध्यावधि घोषणा भयो । यस्तो अनेपक्षित घटनाक्रमले उनको रोडम्याप पनि संशोधन गर्नुपर्ने भयो ।

एकसाथ तीन तयारी

चुनावको मिति घोषणा भएपछि श्रम संस्कृति पार्टी गठन गरेको भएपनि साम्पाङले गत १६ मंसिरमै घोषणापत्र सार्वजनिक गरेर अरू दललाई पछि पारिसकेका छन् । चुनावी गतिविधिमा पनि उनी अगाडि नै छन् ।

पुराना दलहरूमा चुनावको संशय बाँकी रहँदै र नयाँ शक्तिहरूमा चुनावी गतिविधि शुरू नहुँदै हर्क साम्पाङले सभा थालिसकेका थिए । १२ असोजमा दल दर्ताको निवेदन निर्वाचन आयोगमा दर्ता गरेर दलीय राजनीतिमा प्रवेश गरेका साम्पाङले १७ कात्तिकमा पहिलो सभा गरे ।

मोरङको लेटाङमा आयोजित पहिलो सभामै अनेपक्षित सहभागिता देखियो । त्यसदिन लेटाङमा उत्रिएको उपस्थितिले हर्कलाई हौस्यायो भने अरूतिरका समर्थकलाई उत्साहित बनायो ।

महासचिव आरेन राईका अनुसार लेटाङकै जस्तो सभा अरू क्षेत्रमा पनि भइरहेका छन् । ‘एक नम्बर प्रदेशका सबै जिल्लामा हाम्रो सभा सकिएको छ । अहिले पश्चिम नेपालतिर सभाहरू भइरहेका छन्,’ उनी भन्छन् ।

हर्क साम्पाङको उत्सव

धरान बाहेक मोरङ, झापा, खोटाङ, पाँचथर, तेह्रथुम, ओखलढुंगा, सोलुखम्बु लगायत जिल्लामा अरु पार्टीका नेताहरूको समेत ध्यान तान्नेगरी सभाहरू भएका छन् । यी जिल्लाहरूमा साम्पाङ आफैँ पुगेका थिए ।

उनी फर्किएपछि पनि श्रम संस्कृति पार्टीमा आबद्ध भएकाहरूको गतिविधि भइरहेको छ । ‘एक नम्बर प्रदेशको सबै जिल्लामा समिति बनेको छ । समितिको आयोजनामा कामहरू भइरहेका छन्,’ महासचिव राई भन्छन् ।

श्रमदानलार्ई नै यो पार्टीले चुनावी गतिविधिका रूपमा उपयोग गरिरहेको छ । सडक, विद्यालय, चौतारी जस्ता सार्वजनिक संरचनाहरूको मर्मत, निर्माण र सरसफाइ गर्नु हर्क समर्थकहरूको नियमित काम बन्न पुगेको छ ।

यद्यपि अध्यक्ष साम्पाङ श्रमदान संस्कृति अभियान नै भएकाले राजनीतिसँग मात्र नजोड्न आग्रह गर्छन् । ‘श्रम संस्कृतिलाई अभियानकै रूपमा सञ्चालन गरेको छु,’ साम्पाङ भन्छन्, ‘आज लाखौँले साथ दिनुभएको छ, भोलि कोही नहुँदा पनि म आफ्नो बाटो छोड्दिनँ ।’

श्रमदानबाट देश बनाउने अभियानमा देशविदेशबाट साथ आइरहेको केन्द्रीय सदस्य मीना सिंगक बताउँछिन् । उनका अनुसार नेपालका ४० भन्दा बढी जिल्लामा समिति बनाएर अभियान चलाइँदैछ । साम्पाङको तुलनात्मक बढी आकर्षण भएका कोशी प्रदेश बाहेकका जिल्लाहरूमा पनि सभा भइसकेको छ ।

पर्सा, चितवन, मकवानपुर, काभ्रे, काठमाडौं र बुटवलमा हर्क साम्पाङकै उपस्थितिमा सभा भइसक्यो । प्रवासमा पनि समितिहरू धमाधम बनिरहेको छ । यो पार्टीको अभिलेख अनुसार कतार, मलेसिया, दुवई, कुवेत, अमेरिका, हङकङ, जापान, कोरिया र मरिससमा समिति बनाएरै पार्टीलाई सहयोग गर्ने काम भइरहेको छ ।

अर्थात् हर्क साम्पाङले एकैपटक तीन काम गरिरहेका छन्– श्रम संस्कृतिको विस्तार, संगठन निर्माण र चुनावी तयारी ।

यी तीन वटै काम हतारमा चलिरहेको छ । ‘पार्टी बनाएको तीन महिना पनि भएको छैन, चुनाव आइसक्यो, थुप्रै कामहरू गर्नुपर्नेछ,’ एक नेता भन्छन्, ‘समितिमा बस्नेहरू नै टुंगो लागिसकेको छैन, राम्रो उम्मेद्वार छान्नुपर्ने दबाव छ ।’

उनका अनुसार केन्द्रीय समितिलाई नै पूर्णता दिन बाँकी छ । ६२ जना रहेको केन्द्रीय समिति बढाउने योजनामा साम्पाङ छन् । तर समितिले पूर्णता नपाउँदै पदाधिकारी नै घट्ने स्थिति पनि आइलागेको छ ।

साम्पाङ अध्यक्ष रहेर दर्ता भएको श्रम संस्कृति पार्टीमा उपाध्यक्षहरू तीन जना थिए– लोकनाथ चुडाल, देवराज लामा र डा. मित्र परियार । उपाध्यक्ष बनेको केही समयभित्रै पुरानो राजनीतिक मुद्दामै लामा पक्राउ परे । उनी पक्राउ पर्नासाथ अध्यक्ष साम्पाङले अनुसन्धानमा सहयोग गर्न भन्दै निलम्बन गरिदिए । अर्का उपाध्यक्ष परियारसँग सार्वजनिक रूपमै मतभेद भयो, अहिले परियार नेकपा प्रवेश गर्दै समानुपातिक तर्फका उम्मेद्वार बनेका छन् ।

अहिले साम्पाङको पार्टीमा चुडाल मात्र उपाध्यक्ष बाँकी छन् भने महासचिव आरेन राई, सहमहासचिव समिर तामाङ, सचिव इन्दिरा राई, कोषाध्यक्ष समिता राई, सह–कोषाध्यक्ष जितेन राई र प्रवक्ता सत्य घले छन् । पार्टी पदाधिकारीहरू स्थापित हुनै बाँकी रहेकाले साम्पाङले एक्लै संगठनात्मक कामको बोझ पनि बोक्नु परेको लुक्दैन ।हर्क साम्पाङको उत्सव

तर पनि आगामी चुनावबाटै बहुमत ल्याउन सक्ने सामर्थ्य सहितको पार्टी निर्माण गर्ने दाबी साम्पाङले गर्दै आएका छन् । ‘समानुपातिकतर्फ ११० जनाकै नाम बुझाएका छौं,’ महासचिव राई भन्छन्, ‘प्रत्यक्षतर्फ पनि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेद्वार बनाउनेगरी तयारी भइरहेको छ ।’

प्रत्यक्ष तर्फका उम्मेद्वारबारे त हर्क साम्पाङले सामाजिक सञ्जाल मार्फत् समेत सर्वेक्षण गरिरहेका छन् । ‘कसलाई उम्मेदवार बनाउँदा ठिक हुन्छ ? कस्तो प्रतिनिधि रोज्नु हुन्छ ?’ जस्ता प्रश्नावली राखेर अभिमत बुझिरहेका छन् ।

पुरानै तयारी

मध्यावधि चुनावको तयारी गर्ने हतारोमा अहिले साम्पाङ देखिए पनि मेयर निर्वाचित भए यताको ४४ महिनालाई हेर्दा राजनीतिमा आउने उनको योजनाबद्ध तयारी थियो ।

जेनजी आन्दोलनकै क्रममा पनि उनले आफ्नो भूमिका प्रष्ट पारेका थिए । पुराना र नयाँ दुवै शक्तिको गल्ती औंल्याएर आफूलाई अलग देखाउन उनले प्रयत्न गरे । त्यसक्रममा उनले प्रधानमन्त्रीकै रूपमा समेत अगाडि सारेका सारे ।

अनलाइनखबरसँगको अन्तर्वार्तामै पनि साम्पाङले श्रम संस्कृति पार्क, श्रम अभियान जस्ता गतिविधि मार्फत् दीर्घकालीन योजना सहित कदम चाल्दै आएको बताएका छन् । दलीय राजनीतिमा होमिने सशक्त सन्देश भने २०८१ वैशाखमा सम्पन्न उपचुनावकै बेला दिएका थिए ।

सुवास नेम्वाङको निधन भएकाले इलाम–२ मा सम्पन्न उपचुनावमा साम्पाङले पहिचानवादी शक्तिहरू समेटेर डकेन्द्रसिं थेगिमलाई उम्मेद्वार बनाएका थिए । उपचुनाव एमालेकै सुहाङ नेम्वाङले जितेपनि थेगिमले प्रतिस्पर्धी मत ल्याए ।

रवि लामिछाने नेतृत्वको रास्वपाका मिलन लिम्बुभन्दा दोब्बर बढी मत थेगिमले पाएपछि हर्क साम्पाङले आफ्नो जित भएको मन्तव्य नै दिए । यसको ८ महिनापछि स्थानीय तहमा भएको उपचुनावहरूमा पनि साम्पाङले उम्मेद्वार तयार पारे । आफूले समर्थन गरेको उम्मेद्वार जिताउन कीर्तिपुर आएर साम्पाङले चुनावी अभियानमा भाग लिए ।

राष्ट्रिय राजनीतिक घटनाक्रमहरूमा आफ्नो पोजिसन सार्वजनिक गर्दै आए । अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा अहिले पनि बोलिरहेकै छन् । कोशी प्रदेशको नामाकरण बेला उनी बढी मुखर भए ।

मुख्य दलका शीर्ष नेताहरूको सहमतिमा राखिएको कोशी नामप्रति उनको समर्थन देखिंदैन । यद्यपि आफैँ विरोधमा उत्रिएनन् । तर सहमति पनि जनाएनन् ।

पछि, राष्ट्रपति रामचन्द्र पौडेल र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर कार्यकक्षबाट हटाएर उनले आफ्नो सन्देश सार्वजनिक गरे । साम्पाङले मेयरको कार्यकक्षमा यलम्बरको तस्वीर राखेका थिए ।

हर्क साम्पाङको उत्सव

उनलाई बुझ्ने स्थानीयहरूका अनुसार मेयर निर्वाचित भएपछि मात्र नभएर हर्कले आफूलाई नेतृत्वका रूपमा डेढ दशकदेखि तयार पारिरहेका छन् । खोटाङमा जन्मे/हुर्केका उनी वैदेशिक रोजगारीबाट फर्किएर २०६८ साल यता निरन्तर सामाजिक अभियानमा छन् ।

सामाजिक अभियानमा सक्रिय हुन उनले अनेक नामका समूह बनाएका छन् । ‘क्रान्ति’ उपनाम राख्ने हर्कको फेसबुक अकाउण्टमा अहिले पनि नामका पछाडि ‘अ रिभोलेसन’ छँदैछ ।

धरानमा संघर्षरत हुँदा उनले राष्टिय एकता सञ्जाल, आदिवासी मूलवासी एकता सञ्जाल, आम एकता अभियान जस्ता समूह बनाए । आफैं पनि टेम्पो व्यवसायी साम्पाङले कुनैबेला टेम्पो एकता संघ खोलेका थिए ।

तर धेरैले हर्कलाई चिन्ने घटना भने नगरपालिकाले बढाएको करविरुद्ध चलेको अभियान बन्यो । २०६८ सालमा भएको उक्त आन्दोलनमा उनी अग्रभागमै देखिए ।

त्यसपछि त उनी कहिल्यै शान्त बसेनन् । अधिकारमा आधारित हरेकजसो आन्दोलनमा सहभागी हुन थाले । ढुंगा–गिटी उत्खनन् रोक्ने माग राखेर हुने आन्दोलनदेखि टेलिफोनको तार झुण्डिदा समेत हर्कले विरोध प्रदर्शन गरे ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकृति विरुद्ध कहिले लड्थे भने कहिले सरकारी निकायबाट हुने ढिलासुस्तीविरुद्ध आन्दोलन गर्थे । खानेपानी समस्याबारे आवाज उठाउँदा त उनी गिरफ्तारीमै परे । एकपटक १५ दिन थुनामै बस्नु परेको थियो ।

तर उनले हिम्मत हारेनन् । २०७६ मा सम्पन्न उपचुनाव भने उनका निम्ति पानीढलो हुन पुग्यो । तत्कालीन मेयर तारा सुब्बाको निधन भएपछि गरिएको उपचुनावमा हर्क मेयर पदको उम्मेद्वार बने । कांग्रेस र कम्युनिष्टबीच प्रतिस्पर्धा हुँदा हर्कले जम्मा ४२२ मत पाएका थिए ।

तर हर्क साम्पाङले घोषणा गरे– म अर्को चुनाव लड्छु ।

नभन्दै, २०७९ वैशाखमा सम्पन्न चुनावमा उनी स्वतन्त्र उम्मेदवार बने । पाँच दलीय गठबन्धनको समर्थनमा कांग्रेसका किशोर राईले १६ हजार ६९ र एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत ल्याउँदा २० हजार ८२१ मत ल्याएर मेयर जिते ।

हर्क साम्पाङको उत्सव

साम्पाङको जितलाई उनको संघर्ष र प्रमुख दलहरूको कमजोरीसँग तुलना गरेर हेरिएको थियो । तर उनले भने अगाडि बढ्ने बलियो खुड्किलोका रूपमा उपयोग गरेका रहेँछन् । किनकि साम्पाङको नयाँ गन्तव्य बनेको छ– सिंहदरबार ।

तर सिंहदरबार छिर्नुअघि हर्कले आफू र आफ्ना उम्मेद्वारहरूको पक्षमा विजयी मत जुटाउनुपर्नेछ । जुन सजिलो काम होइन ।

स्वयं हर्कलाई नै पनि जित्नु सजिलो हुनेछैन । धरान उपमहानगर सहित बराह क्षेत्र नगरपालिकाका ५ र रामधुनी नगरका २ वटा वडा पर्ने सुनसरी–१, मा एमाले बलियो संगठनात्मक संरचना छ । २०६४ को चुनाव बाहेक सधैं एमाले उम्मेद्वारले यहाँबाट जित्दै आएका छन् ।

हर्क साम्पाङको उत्सव

२०४८ सालमा मनमोहन अधिकारीले जितेका थिए । अधिकारी पहिलो कम्युनिष्ट प्रधानमन्त्री बने । २०५१ सालको मध्यावधिमा लीला श्रेष्ठ र २०५६ सालमा कुन्ता शर्माले जितिन् । २०६४ सालमा माओवादीका किरणकुमार राईले जिते भने २०७० सालमा एमालेका कृष्णकुमार राई र २०७४ सालमा पनि एमालेकै जयकुमार राईले जिते ।

२०७९ सालको चुनावमा एमालेकै समर्थनमा अशोक राईले जिते । अशोक राई एमाले पृष्ठभूमिकै नेता हुन् ।

साम्पाङ नेतृत्वको पार्टीका स्थानीय नेताहरू भने बदलिदो राजनीतिक परिस्थितिलाई पुरानै मानकमा विश्लेषण गर्न नहुने तर्क गर्छन् । ‘हिजो कसले जित्यो त्यो अलग कुरा हो, अहिले जनता हर्क साम्पाङको पक्षमा छन्,’ नेताहरू भन्छन् ।

स्थानीयहरूसँग कुरा गर्दा पनि धरानको जनमत बदलिन सक्ने सहज अनुमान लगाउन सकिन्छ। (छुट्टै स्थलगत रिपोर्ट चाँडै प्रकाशित गर्नेछौं) तर उनीहरूमा केही साझा चिन्ता देखिन्छ– नयाँहरू नमिलेको, स्वयं हर्कको व्यक्तिवादी शैली र पुरानाहरूबीच महागठबन्धनको सम्भावना ।

र, खुलेआम पुराना शक्तिहरूले साम्पाङलाई चुनौती दिइहेकै छन् । ‘मिडियामा हर्क साम्पाङको लोकप्रियता देखियो, तर धरानमा त्यस्तो छैन,’ नेपाली कम्युनिष्ट पार्टीका नेता जीवन राई भन्छन्, ‘मत बढाउनुहोला, तर जित्ने मत हर्क साम्पाङले ल्याउने देखिंदैन ।’

साम्पाङले मेयर जित्न गरेका बाचाहरू अधुरै छाडेर सांसद लड्न लागेकाले पनि जनताको साथ नपाउने उनी बताउँछन् ।

यद्यपि एमाले सहित पुराना दलहरूलाई राम्रै धक्का दिन्छन् भन्नेमा चाहिँ उनीहरू सहमत छन् । ‘हाम्रो उम्मेद्वार कस्तो हुने हो, त्यसले धेरै अर्थ राख्छ,’ एमालेका एक स्थानीय नेताले भने, ‘हाम्रो संगठन बलियो हुँदा हुँदै पनि जनतामा हर्क साम्पाङको आकर्षण रहेको पनि बिर्सन हुन्न ।’

तस्वीर/भिडियोः आर्यन धिमाल/अनलाइनखबर

हर्क साम्पाङको उत्सव

हर्क साम्पाङको उत्सव

हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव हर्क साम्पाङको उत्सव





Source link

Leave a Comment