अमेरिकाको लस एन्जलसमा ड्युटीमा नभएका आइस अधिकारी संलग्न गोलीकाण्डमा एक जनाको मृत्यु 



प्रकाशित मिति : पुस १७, २०८२ शुक्रबार

अमेरिकाको लस एन्जलसमा ड्युटीमा नभएका आइस अधिकारी संलग्न गोलीकाण्डमा एक जनाको मृत्यु 

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले ड्युटीमा नभएका एक इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) अधिकारी संलग्न गोलीकाण्डमा एक हतियारधारी व्यक्तिको मृत्यु भएको जनाएको छ। अंग्रेजी नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा नर्थ्रिज क्षेत्रमा उक्त घटना भएको डिएचएसले पुष्टि गरेको छ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार स्थानीय समयअनुसार राति करिब १०ः४५ बजे ती आइस अधिकारी आफ्नो अपार्टमेन्टमा हुँदा गोली चलेको जस्तो आवाज सुनेपछि बाहिर निस्किएका थिए। अपार्टमेन्ट कम्प्लेक्सभित्र ती अधिकारीले लामो राइफलजस्तो देखिने हतियार बोकेको एक व्यक्तिसँग सामना गरे।

डिएचएसकी प्रवक्ता ट्रिसिया म्याकलफलिनका अनुसार ती अधिकारीले आफू कानून कार्यान्वयन निकायको सदस्य भएको परिचय दिँदा पनि हतियारधारी व्यक्तिले हतियार नझारेको र अधिकारीतर्फ तेर्स्याएको बताइएको छ।

आदेश अवज्ञा भएपछि अधिकारीले आत्मरक्षाका लागि आफ्नो सेवाहतियार प्रयोग गरेको र उक्त व्यक्तिले कम्तीमा तीन राउन्ड गोली चलाएको म्याकलफलिनले जानकारी दिइन्। त्यसपछि अधिकारीले थप सुरक्षा सुनिश्चित गर्न आइसबाट उपलब्ध बडी आर्मर लिन अपार्टमेन्ट फर्किएर लस एन्जलस प्रहरी विभागलाई घटनाबारे जानकारी गराएका थिए।

प्रहरीले घटनास्थलमा पुग्दा गोली लागेका ती व्यक्तिलाई मृत अवस्थामा फेला पारेको थियो। आइस अधिकारी भने सकुशल रहेका छन्। प्रारम्भिक जानकारीअनुसार, मृतक र आइस अधिकारीबीच घटनाअघि कुनै सम्बन्ध नरहेको जनाइएको छ।

घटनाको अनुसन्धान जारी रहेको र आइसको ‘अफिस अफ प्रोफेशनल रिस्पोन्सिबिलिटी’ ले प्रहरीसँग समन्वय गरिरहेको डिएचएसले जनाएको छ। हालसम्म दुवै व्यक्तिको नाम सार्वजनिक गरिएको छैन।





Source link

Leave a Comment