अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्यामा मासिक उच्च रेकर्ड, डिसेम्बरमामात्रै ९८ जना डिपोर्ट



प्रकाशित मिति : पुस १७, २०८२ शुक्रबार

एआईको सहयोगबाट निर्मित तस्वीर

अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्यामा मासिक उच्च रेकर्ड कायम भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार सन् २०२५ को डिसेम्बर महिनामा मात्र ९८ जना डिपोर्ट भएका छन् । डिपोर्ट हुनेहरुमध्ये मध्ये ९२ जना पुरुष र ६ जना महिला रहेको छ ।

पछिल्ला महिनामा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरुको संख्यामा रेकर्ड बृद्धि भएको छ । डिसेम्बर महिनामा एकैपटक ७५ जना नेपालीलाई चार्टड विमानबाट अमेरिकाले डिपोर्ट गरेको थियो । त्यो बाहेक २३ जना नेपालीहरु डिसेम्बर महिनाभर डिपोर्ट भएका छन् । जसका कारण डिसेम्बरमा डिपोर्ट हुने नेपालीको संख्यामा उच्च रेकर्ड कायम भएको हो ।

नोभेम्बर महिनामा मात्रै।अमेरिकाबाट ८० जना नेपाली डिपोर्ट भएका थिए । जसमा २ जना महिला र ७८ जना पुरुष थिए । त्यो अगाडि अक्टोबरमा ३८, सेप्टेम्बरमा ५३ जना नेपालीहरु डिपोर्ट भएका थिए । तथ्यांकअनुसार सन् २०२५ मा जनवरीमा ६ जना, फेब्रुअरीमा १८ जना, मार्चमा ३२ जना, अप्रिलमा २६ जना, मेमा ५८ जना, जुनमा ४२ जना, जुलाईमा १७ जना नेपालीहरु अमेरिकाबाट डिपोर्ट भएका थिए । हालसम्मको तथ्यांकलाई हेर्दा जनवरी, फेब्रुअरी र जुलाई महिनाको संख्या तुलनात्मक रूपमा कम छ।

अमेरिकाको राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै देशनिकाला नीतिमा थप कडाइ गरिएको छ। वैधानिक कागजातबिना बसोबास गर्ने आप्रवासीहरूलाई लक्षित यो नीतिका कारण ठूलो संख्यामा नेपालीहरू देशनिकालाको जोखिममा परेका छन्। डिपोर्ट भएकाहरूलाई अध्यागमन विभागले थप अनुसन्धानका लागि मानव बेचबिखन ब्यूरोलाई जिम्मा लगाउने गरेको छ । मानव बेचबिखन ब्यूरोले थप अनुसन्धान गर्ने गरेको छ तर डिपोर्ट भएर आएकाहरूलाई केही सामान्य सोधपुछ गरेर आफन्तको जिम्मा लगाउँदै आएको छ। कसैले ब्यूरोमा लिखित निवेदन दिएको खण्डमा गहन अनुसन्धान अगाडि बढ्ने गरेको छ।

नेपालले डिपोर्ट हुने आफ्ना नागरिकहरूलाई सहज रूपमा स्वीकार गर्दै आएको छ। वासिङ्टन डीसीस्थित नेपाली दूतावासले यस प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। अमेरिकी अध्यागमनले देशनिकालामा परेका नेपालीका लागि ट्राभल डकुमेन्ट अनुरोध गरेपछि दूतावासले सहजै कागजात उपलब्ध गराउँदै आएको छ। यद्यपि, तेस्रो मुलुक हुँदै नेपाल फर्कने डिपोर्ट हुने नेपालीको संख्या पनि बढ्दो छ।





Source link

Leave a Comment

Translate »