News Summary
Generated by OK AI. Editorially reviewed.
- चिनी उद्योगमा कच्चापदार्थ अभावले उखु उत्पादन घटेर उद्योगहरूमा संकट सिर्जना भएको छ।
- एभरेस्ट सुगर मिलले ७ पुसदेखि क्रसिङ सुरु गरी ३ लाख २४ हजार ८ सय क्विन्टल उखु पेलिसकेको छ।
- उखु खेती घट्दै गएपछि किसानहरू वैदेशिक रोजगार र अन्य खेतीतर्फ आकर्षित भएका छन्।
१८ पुस, काठमाडौं । किसानले खेतबाट उखु काट्दै उद्योगसम्म पुर्याउन थालेसँगै चिनी मिलहरूले धमाधम ‘क्रसिङ’ थालेका छन् । तर, मिल ताते पनि सञ्चालकहरूमा कच्चापदार्थ अभाव हुने चिन्ता भने सेलाएको छैन ।
यस वर्ष उखु उत्पादनमा भारी गिरावट आउने प्रक्षेपणले उद्योगहरूलाई आवश्यक ‘घान’ नै नपुग्ने देखिएको छ । गत वर्ष २ करोड १६ लाख क्विन्टल उखु उत्पादन भएको थियो । तर, यसपालि १० देखि २० प्रतिशतले उत्पादन घट्ने चिनी उद्योगी बताउँछन् ।
कच्चापदार्थको यही चरम अभावले मिलहरू ढिलो सञ्चालन हुने र छिट्टै बन्द हुने प्रवृत्ति बढेको छ । कुनै समय एक सिजनमा ५ महिनासम्म निरन्तर चल्ने इतिहास बोकेका चिनी उद्योग पछिल्ला वर्षहरूमा उखु अभावकै कारण खुम्चिएर दुई–तीन महिनामै सिजन अन्त्य गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।
एभरेस्ट सुगर मिलको अवस्था
प्रमुख चिनी उत्पादकमध्ये एक एभरेस्ट सुगर मिलले चालु सिजनको उखु क्रसिङ (पेल्ने) कार्यलाई तीव्रता दिएको छ । महोत्तरी रामनगरमा अवस्थित मिलले ७ पुसदेखि क्रसिङ सुरु गरेको हो ।
मिल सञ्चालनमा आएको अवधिदेखि अहिलेसम्म ३ लाख २४ हजार ८ सय क्विन्टल उखु क्रसिङ गरिसकेको मिल व्यवस्थापनले जनाएको छ ।
मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार हाल मिलमा दैनिक औसत ३९ हजार क्विन्टल हाराहारी उखु पेल्ने काम भइरहेको छ । उखुको उपलब्धता र कहिलेकाहीँ हुने प्राविधिक अवरोध (जस्तै मेसिन बन्द हुने) ले गर्दा औसत क्रसिङ ३२ देखि ३४ हजार क्विन्टल पुग्ने गरेको छ ।
७ देखि १६ पुस (९ दिन) सम्मको तथ्यांक हेर्दा मिलको दैनिक औसत क्रसिङ ३२ देखि ३४ हजार क्विन्टल देखिएको छ । उखु अभाव र कहिलेकाहीँ चार–पाँच घण्टा मेसिन बन्द हुँदा समग्र औसतमा असर पर्ने गरेको उनले बताए ।
‘कमान्ड एरिया’ ले घटायो उखु आपूर्ति
चिनी मिलहरूको कार्यक्षेत्र (कमान्ड एरिया) निर्धारण भएसँगै एभरेस्ट सुगर मिलले पाउने उखुको परिमाणमा यस वर्ष उल्लेख्य गिरावट आएको छ ।
विगतका वर्षहरूमा सर्लाहीका विभिन्न क्षेत्रबाट उखु ल्याउने गरेको एभरेस्टले यस वर्ष तीन वटा मिल (एभरेस्ट, इन्दुशंकर र महालक्ष्मी) बीच भएको सहमति र सरकारी निर्देशन अनुसार क्षेत्र बाँडफाँट गरेको छ ।
नयाँ व्यवस्था अनुसार सर्लाही बेलबास खोलादेखि पूर्वको उखुमात्र एभरेस्ट सुगर मिलले ल्याउन पाउने छ ।
‘हामीले पश्चिम र दक्षिण सर्लाहीको क्षेत्र छाड्नुपरेको छ,’ महाप्रबन्धक ठाकुरले भने, ‘बेलबास खोलाभन्दा उताको क्षेत्र इन्दुशंकर र महालक्ष्मी सुगर मिलको भागमा परेकाले त्यहाँबाट आउने करिब ५ लाख क्विन्टल उखु हामीले गुमाएका छौं ।’
यही कारण यस वर्ष मिलको कुल क्रसिङ लक्ष्य २९ देखि ३० लाख क्विन्टल हाराहारी मात्र रहने प्रक्षेपण गरिएको छ । जबकि, गत वर्ष मिलले ३१ लाख ४ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । आफ्नो परम्परागत क्षेत्र गुम्दा र किसानहरू वैकल्पिक खेतीतर्फ लाग्दा उत्पादन खुम्चिएको हो ।
क्षमताको ५० प्रतिशतमात्र उपयोग
एभरेस्ट सुगर मिलको प्राविधिक क्षमता एक सिजनमा ६० लाख क्विन्टल उखु क्रसिङ गर्न सक्ने छ । यदि मिल सिजनको १ सय २० दिन (४ महिना) पूर्ण क्षमतामा चल्ने हो भने ६० लाख क्विन्टल उखु आवश्यक पर्छ ।
तर, उखु अभावकै कारण मिलले आफ्नो क्षमताको ५० प्रतिशतमात्र उपयोग गर्नुपर्ने बाध्यता रहेको महाप्रबन्धक ठाकुरले बताए ।
‘हाम्रो मिलले ५० हजार क्विन्टल प्रतिदिनको औसतमा १ सय २० दिन चल्दा ६० लाख क्विन्टल पेल्न सक्छ,’ ठाकुरले भने, ‘तर, पछिल्ला वर्षहरूमा हामी २० देखि ३० लाख क्विन्टलमै सीमित हुन पुगेका छौं, क्षमता हुँदाहुँदै कच्चा पदार्थ (उखु) नपाउँदा उद्योगले पूर्ण क्षमतामा उत्पादन दिन सकेको छैन ।’
बजार र स्टकको समस्या
एकातिर उखु अभाव छ भने अर्कातिर उत्पादन भएको चिनी बिक्री नहुँदा उद्योग आर्थिक दबाबमा परेको छ । महाप्रबन्धक ठाकुरका अनुसार भारतबाट सस्तो मूल्यमा चिनी आयात हुनु र करका नीतिहरूका कारण स्वदेशी चिनीले बजार पाउन सकेको छैन ।
‘गत वर्ष उत्पादन भएको चिनीमध्ये ११ हजार क्विन्टल चिनी अझै पनि गोदाममा थन्किएर बसेको छ,’ उनले भने, ‘बजारमा पुरानो स्टक नै बिक्री नभइरहेको अवस्थामा नयाँ उत्पादन थपिँदै जाँदा उद्योगलाई नगद प्रवाह व्यवस्थापन गर्न र किसानलाई समयमै भुक्तानी दिन चुनौती थपिन्छ ।’
किसानको विकर्षण र कारण
समयमा मलखाद नपाउनु, कामदार (लेबर) को उच्च लागत र भुक्तानीमा हुने झन्झटका कारण किसान उखु खेतीबाट पलायन भई वैदेशिक रोजगार वा अन्य खेतीतर्फ आकर्षित भइरहेको महाप्रबन्धक ठाकुरको विश्लेषण छ ।
यद्यपि, मिलले आफ्नै तर्फबाट मलखाद उपलब्ध गराएर पछि भुक्तानीबाट कट्टा गर्ने गरी सहजीकरण गरिरहेको उनले जानकारी दिए ।

कच्चापदार्थको चरम अभावले उद्योगको अस्तित्व नै धरापमा पर्न थालेको महाप्रबन्धक ठाकुर बताउँछन् । उनका अनुसार राज्यको फितलो नीतिका कारण किसानले उखु खेतीप्रति मोह भंग गरेका छन् ।
‘एकातिर सरकारको नीति बारम्बार फेरिइरहन्छ भने अर्कातिर किसानले पाउनुपर्ने अनुदानमा सधैं झन्झट हुन्छ,’ उनले भने, ‘यसले किसानलाई प्रोत्साहन होइन, निराश बनाएको छ ।’
पछिल्लो समय किसानले उखुको मूल्य समयमै भुक्तानी नपाउँदा त्यसका लागि ठूलै संघर्ष गरे । सधैं उखुको भुक्तानीका लागि संघर्ष गर्नुपर्दा यस खेतीप्रति किसानको निराशा चुलिँदै गएको छ ।
उखु खेती तीन वर्षसम्मका लागि गरिने बहुवर्षीय बाली भएकाले एक पटक लगानी गरेपछि किसानले लामो समयसम्म प्रतिफलको आशा राख्छन् । तर, मूल्यमा हुने उतारचढावले उनीहरूको लगानी समेत उठ्न कठिन भएपछि ‘घाटाको खेती गर्न इच्छुक छैनौं’ भन्दै किसानले बारम्बार भन्दै आइरहेका छन् । कतिपय किसान त उखु खेतीबाटै पलायन पनि भइसकेका छन् ।
उखु खेतीबाट हुने आम्दानीभन्दा लागत बढी हुन थालेपछि किसानहरू अन्य बालीतर्फ आकर्षित भएका छन् । चिनीको बजार मूल्यको तुलनामा उखुको समर्थन मूल्य वैज्ञानिक नहुनु र कटानी खर्च अत्यधिक बढ्नु मुख्य समस्याका रूपमा देखिएको छ ।
साना जग्गाका प्लटहरूका कारण यान्त्रिकीकरण (मेसिन प्रयोग) सम्भव नहुँदा र गाउँमा काम गर्ने जनशक्ति अभावले ‘लेबर कस्ट’ (श्रम लागत) आकाशिएको छ ।
वैदेशिक रोजगारीको बढ्दो प्रभावले कृषि क्षेत्रलाई नराम्ररी गाँजेको छ । युवापुस्ता खेतीभन्दा विदेशिनुमै भविष्य देख्छन् भने विदेशबाट फर्किएकाहरू पनि पुन: माटोमा फर्किन चाहँदैनन् । यही सामाजिक मनोविज्ञानको परिवर्तन र श्रमशक्ति अभावले उखु खेतीलाई खुम्च्याइदिएको ठाकुरको भनाइ छ । किसानले उखुको मूल्य पाउनकै लागि गर्नुपरेको संघर्षको प्रत्यक्ष असर यस वर्ष देखिने छ ।
अन्य उद्योगले जस्तो चिनी मिलले कच्चापदार्थ भण्डारण गरेर राख्न सक्दैनन् । खेतमा उखु नभए मिलका मेसिन चल्दैनन् । विगतमा उखु खेती फस्टाउँदा उद्योगहरूले आफ्नो क्षमता विस्तार गरेका थिए र नयाँ उद्योग पनि थपिएका थिए । तर, अहिले सरकारी बेवास्ता र कच्चापदार्थ अभावले ती लगानी जोखिममा परेको उद्योगीको भनाइ छ ।
अन्य मिलको अवस्था र किसानको गुनासो
एभरेस्ट बाहेक मुलुकका अन्य चिनी मिल पनि सञ्चालनमा आउने क्रममा छन् । सर्लाहीका चिनी मिलले उखु क्रसिङ कार्य सुरु गरेसँगै किसानले धमाधम उखु मिलमा पुर्याउन थालेका छन् ।
नेपाल उखु उत्पादक महासंघ अध्यक्ष श्यामबाबु रायका अनुसार इन्दुशंकर चिनी उद्योग र महालक्ष्मी सुगर मिलले क्रसिङ थालिसकेका छन् ।

त्यस्तै सिरहाको हिमालय सुगर, सुनसरीको इस्टर्न र बाराको रिलायन्स सुगर मिल सञ्चालनमा आइसकेका छन् । पश्चिम नेपालका भागेश्वरी र महाकाली सुगर मिल पनि चलेका छन् ।
तर, सर्लाहीकै अन्नपूर्ण सुगर मिल भने पुरानो भुक्तानी विवादका कारण किसानले उखु नदिँदा सञ्चालनमा आउन सकेको छैन ।
‘अर्को ठूलो उद्योग अन्नपूर्ण सुगर मिल भने सञ्चालनमा आउन अझै ५–७ दिन लाग्ने बताइएको छ,’ उनले भने, ‘अन्नपूर्णका सञ्चालकले केही दिनभित्रै मिल सञ्चालनमा ल्याउने भनेका छन् ।’
त्यस्तै महोत्तरीको सीमावर्ती क्षेत्रमा रहेको रिद्धिसिद्धि सुगर मिलले चिनी उत्पादन छाडेर सख्खर (गुड) बनाउन थालेको छ ।
अध्यक्ष रायले मिलहरूबीच भएको कार्यक्षेत्र विभाजनले किसानमा असन्तुष्टि बढाएको पनि बताए । ‘पहिला किसानले आफूलाई पायक पर्ने र समयमै भुक्तानी दिने मिलमा उखु बेच्न पाउँथे,’ रायले भने, ‘अहिले जिल्लाका उद्योगहरूले आपसमा एरिया बाँडेर किसानलाई बाँधेका छन्, यसले गर्दा राम्रो भुक्तानी दिने मिलमा उखु बेच्न नपाउँदा किसान मर्कामा छन् ।’
विशेषगरी समयमै भुक्तानी नदिने मिलको क्षेत्रमा परेका किसान बढी समस्यामा छन् । इन्दुशंकर र एभरेस्ट सुगर मिलले भुक्तानीमा राम्रो रेकर्ड बनाए पनि अन्य मिल महालक्ष्मी, रौतहटको बाबा बैजनाथ लगायतले समयमै भुक्तानी नदिँदा किसान हैरान भएको रायको भनाइ छ ।
‘भुक्तानी ढिला गर्ने मिलको एरियामा परेका किसान हरिवनतर्फ (राम्रो भुक्तानी दिने) मिलमा उखु लैजान खोज्छन्, तर मिलहरूले अर्को एरियाको उखु नलिने नीति लिएर किसानलाई दबाब दिइरहेका छन्,’ उनले थपे ।
उखु किसान र उत्पादन क्षेत्र घट्दै
किसानले उन्नत जातको उखुको बिउ, मल पनि समयमा नपाएर परम्परागत शैलीकै खेती गर्नुपरेका कारण उत्पादन ह्रास हुँदै आएको छ । अध्यक्ष रायका अनुसार २ बिघा जग्गामा उखु खेती गर्ने किसानले अहिले १० कट्ठामा मात्रै खेती गर्न थालेका छन् ।
पछिल्ला वर्षहरूमा उखु किसान संख्या र उत्पादन क्षेत्र घट्दै गएको सरकारी तथ्यांकले देखाउँछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार एक वर्ष अवधिमा उखु उत्पादन क्षेत्रफल १ हजार बढी हेक्टर घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ६४ हजार ३ सय ५४ हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएकोमा २०७८/७९ मा ६२ हजार ५ सय ६७ हेक्टर क्षेत्रफलमा मात्रै खेती भएको थियो ।
आव २०७९/८० मा ६२ हजार ८ सय ३३ हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको मन्त्रालयको तथ्यांक छ । त्यसैगरी २०८०/८१ आइपुग्दा उखु खेती हुने जमिनको क्षेत्रफल ५५ हजार ४ सय ४० हेक्टरमा सीमित भएको छ ।
