बरियारपट्टी गाउँपालिका–२, श्रीपुरका सत्यनारायण साफीले मधेसी दलित आरक्षित कोटाबाट एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि राप्ती मेडिकल कलेज (दाङ) मा नामांकन गराएका छन्। कमजोर आर्थिक अवस्थाका कारण उनले नामांकनका लागि समेत गाउँका साहु–महाजनसँग ८० हजार रुपैयाँ सापटी लिनुपरेको थियो।
नामांकन गरेर घर फर्किएपछि परिवारमा खुसीसँगै चिन्ता पनि थपियो—‘अब छात्रवृत्तिले नसमेट्ने बसोबास, खाना र अन्य खर्च कसरी जोहो गर्ने ?’ यही अवस्थालाई देखाउँदै स्थानीय सामाजिक अभियन्ता सन्तोष यादवले सामाजिक सञ्जालमा सत्यनारायणको दयनीय आर्थिक अवस्थाबारे भिडियो पोस्ट गरे। त्यसपछि उनको संघर्ष, धैर्य र कठोर परिश्रमपछिको सफलताको कथा सञ्चारमाध्यममा सार्वजनिक भयो र मनकारीहरू सहयोगका लागि अघि सरे। आएको सहयोगले उनको सपना पूरा गर्न केही बल त पुग्यो, तर पर्याप्त भने थिएन।
यसैबीच जिल्ला उद्योग वाणिज्य संघ, लहानका अध्यक्षसमेत रहेका व्यवसायी विकास शारडाले सत्यनारायणको कथा पढे। उनले यस संवाददातासँग सत्यनारायणलाई कस्तो सहयोग गर्दा उनको पढाइ निरन्तर गर्न सजिलो हुन्छ भन्ने जिज्ञासा राखे। ‘शुल्क त छात्रवृत्तिबाटै व्यवस्थापन भएको छ, बस्न र खानको खर्च जुटाउन सके ठूलो सहयोग हुन्छ,’ भन्ने जानकारी पाएपछि शारडाले ‘विचार गर्छु’ भन्दै फोन राखे।
भोलिपल्ट उनले फोन गरेर भने, ‘म पाँच वर्षसम्म उनलाई प्रति महिना १० हजार रुपैयाँ सहयोग गर्छु, र यो सहयोग अंग्रेजी नयाँ वर्षको दिन उनको घरमै पुगेर प्रदान गर्छु।’ बिहीबार शारडा आफ्नी श्रीमती सीमा शारडासहित शुभेच्छुकहरूका साथ सत्यनारायणको घर पुगेर सहयोगसम्बन्धी सम्झौतापत्र हस्तान्तरण गर्दा साफी परिवार भावुक बन्यो। आफ्नो ४७औँ जन्मदिनको अवसर पारेर शारडा सत्यनारायणको डाक्टर बन्ने सपनाका महत्वपूर्ण सहयोगी बने। यही योगदानको कदर गर्दै सत्यनारायणका टोलबासीले शारडालाई नागरिक अभिनन्दन गरी सम्मान गरे।

व्यक्तिगत रूपमा शारडाले गरेको सहयोगले छोराको डाक्टर बन्ने सपनामा नयाँ उडान थपिएको सत्यनारायणका बुबा मधुरी साफीले बताए। भावुक हुँदै उनले भने, ‘आजको समयमा आफ्नै मान्छेले पनि यति ठूलो रकम सहयोग गर्न हिच्किचाउँछन्, तर नातासम्बन्ध नै नभएको व्यक्तिले यस्तो सहयोग गर्नु मानवताको उत्कृष्ट उदाहरण हो। अब मेरो छोराको डाक्टर बन्ने सपना साकार हुने आशा बढेको छ।’
शारडाले भने, ‘मिहिनेतकै बलमा आफ्नो पहिचान बनाउने सत्यनारायणको डाक्टर बन्ने सपना आर्थिक अभावका कारण रोकिनु हुँदैन। मैले श्रीमती र छोराछोरीसँग उनको कथा साझा गरेँ, सबैको एउटै मत आयो—सहयोग गर्नुपर्छ।’
उनले थपे, ‘यसअघि पनि विभिन्न तरिकाले जन्मदिन मनाएँ, तर यो जन्मदिन मेरो जीवनकै सबैभन्दा स्मरणीय बन्नेछ। हुनेले नहुनेलाई सहयोग गरेपछि मात्र समाज सन्तुलित हुन्छ। सानो सहयोगबाट कसैको जीवनमा खुसी आउँछ भने म आफूलाई सौभाग्यशाली ठान्छु।’
शारडाले सत्यनारायणको खातामा प्रति महिना १० हजार रुपैयाँका दरले पाँच वर्षसम्म अध्ययन प्रयोजनका लागि मात्र खर्च गर्ने गरी जम्मा ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसबाहेक जिल्ला उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा शारडाले समर्थन गरेको प्रदीप गुप्ता प्यानलका पदाधिकारीहरूले २५ हजार रुपैयाँ र संघका वर्तमान वरिष्ठ उपाध्यक्ष शत्रुधन चौधरीले पनि २५ हजार रुपैयाँ सहयोग गरेका छन्।
सामाजिक अभियन्ता सन्तोष यादवका अनुसार शारडाको सहयोगले सत्यनारायणको डाक्टर बन्ने सपनालाई वास्तविक उडान दिएको छ। ‘यो सहयोग अतुलनीय छ र मानवताको अनुपम उदाहरण हो,’ उनले भने।
सत्यनारायणको संघर्ष
हुलाकी राजमार्ग अन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तर–पूर्वतर्फ श्रीपुर गाउँ पर्छ। छाप्राहरूको लहर पार गरेपछि देखिने ढल्नै लागेको सानो छाप्रो नै मधुरी साफीको घर हो। यही छाप्रोमा हुर्किएका २१ वर्षीय सत्यनारायण साफीले डाक्टर बन्ने सपना देखे। यस वर्ष उनले मधेसी दलित आरक्षण कोटाबाट पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि नाम निकाले।
दैनिक ज्यालामजदुरी गरेर जीविका चलाउने परिवारका सत्यनारायण दलित कोटाबाट पूर्ण छात्रवृत्तिमा एमबीबीएसमा नाम निकाल्ने पहिलो व्यक्ति भने होइनन्। तर उनको संघर्षकथाले उनलाई चर्चाको पात्र बनाएको छ।
जनता माध्यमिक विद्यालय (प्राविधिक धार) बरियारपट्टीबाट २०७७ सालमा एसईई उत्तीर्ण गरेका उनले अरनिको उच्च मावि, विराटनगरबाट २०७९ सालमा विज्ञान विषय लिएर कक्षा ११ र १२ पूरा गरे। त्यसपछि एमबीबीएस प्रवेश परीक्षा तयारीका लागि काठमाडौं पुगे। भाइब्रेन्ट कोचिङ सेन्टरमा नाम लेखाए पनि आर्थिक अभावका कारण दुई महिना नबित्दै काठमाडौं छाडेर घर फर्किनुपर्यो। सोही समयमा वैदेशिक रोजगारीमा कतार गएका उनका बुबा मधुरी पनि बेरोजगार भएर फर्किए, जसले परिवारको अवस्था झनै कठिन बनायो।
‘मजदुरी गर्ने कि पढाइ अघि बढाउने’ दोधारमा पुगेका सत्यनारायणले दुवै गर्ने निर्णय लिए। गाउँमै निर्माण मजदुरी गरेर दिनभर काम गर्थे र राति पढ्थे। मजदुरीबाट बचेको पैसाले किताब किन्थे र जोगाएको रकमबाट काठमाडौं पुगेर एमबीबीएस प्रवेश परीक्षा दिए। पहिलो प्रयासमै उनी पूर्ण छात्रवृत्तिमा सफल भए।
उनको कोठामा सानो खाटमाथि छरपस्ट किताबहरू देख्दा संघर्षको कथा आफैँ बोल्थ्यो। सत्यनारायण आफ्ना सफलताको श्रेय दृढ संकल्प, कडा मिहिनेत र धैर्यलाई दिन्छन्।
उनको मनमा डाक्टर बन्ने सपना आमाको रोगबाट जन्मिएको हो। टाउको दुखाइको समस्याबाट पीडित आमालाई अस्पताल–अस्पताल लग्दा उनले ‘म ब्रेनको डाक्टर बन्छु’ भन्ने अठोट गरेका थिए। आज त्यही अठोटले उनलाई मेडिकल शिक्षाको ढोकासम्म पुर्याएको छ।
‘घरमै बसेर मजदुरी गर्दै दुई वर्षसम्म तयारी गरेँ,’ उनी भन्छन्, ‘मिहिनेतको फल पाउँदा सन्तुष्ट र खुसी छु।’ अहिले विभिन्न मनकारीहरूको सहयोगले आफ्नो अठोट अझ बलियो बनेको उनको भनाइ छ। ‘म सफल चिकित्सक बनेर समाजको सेवामा समर्पित हुनेछु,’ उनले विश्वास व्यक्त गरे।
कृषि मजदुरी गरेर मधुरी साफीले तीन छोरी, दुई छोरा र श्रीमतीसहित सात सदस्यीय परिवारको जीविका चलाउँदै आएका छन्। ‘छोराले डाक्टरी पढ्ने सपना देखाउँदा चिन्तित थिएँ,’ उनी भन्छन्, ‘तर सहयोगीहरूको साथले मन हलुका भएको छ।’
सत्यनारायणकी आमा सुनिता साफीले भनिन्, ‘गाउँदेखि टाढाका अपरिचित मानिसहरू समेत सहयोग गर्न आइपुगे। विकास शारडाजीको सहयोगले मेरो छोराको सपनाको अड्को फुक्यो।’ उनले भावुक हुँदै थपिन्, ‘भगवान् त देखिनँ, तर विकासजी भगवान् सरह बनेर आइपुग्नुभयो।’
साढे चार धुर घडेरी र पाँच कठ्ठा बन्जर जमिनबाहेक अन्य सम्पत्ति नभए पनि सत्यनारायणको आत्मविश्वास डगमगाएको छैन। ‘अब सहयोग गर्ने मनकारीहरूको इज्जत राख्दै मिहिनेत गरेर सफल चिकित्सक बन्नेछु,’ उनी भन्छन्।
झुपडीबाट मेडिकल शिक्षासम्मको यात्रामा निस्किएका सत्यनारायण साफीको संघर्ष, इच्छाशक्ति र धैर्य विपन्न पृष्ठभूमिका युवाहरूका लागि प्रेरणादायी बन्ने विश्वास मनकारी विकास शारडाको छ।
प्रकाशित: १७ पुस २०८२ १५:५२ बिहीबार
