वर्षमानको दाबी- रास्वपा फुट्यो र बालेनले रवि थुने वा रवि प्रधानमन्त्री बने आश्चर्य मान्नुपर्दैन


३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सत्तारुढ दल रास्वपाभित्रको अन्तरसंघर्ष एक पछि अर्को गरी बढिराखेको बताएका छन् ।

उनका अनुसार कुनै पनि बेला रास्वपा फुट्यो, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पार्टी सभापति रवि लामिछानेलाई थुने वा रविले बालेनलाई टेकओभर गरेर प्रधानमन्त्री बने भने आश्चर्य मान्नु नपर्ने अवस्था बनेको छ ।

दैलेखमा आयोजित नेकपाको राष्ट्रिय जागरण तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले उनीहरूको संघर्ष एक पछि अर्को बढिराखेको छ’ नेता पुनले भने, ‘कुनै पनि बेला पार्टी फुट्यो भने आश्चर्य मान्नुपर्दैन । कुनै पनि बेला प्रधानमन्त्रीले सभापति रविलाई थुने भने पनि आश्चर्य मान्नुपर्दैन । कुनै बेला प्रधानमन्त्रीलाई सभापतिले टेकओभर गरेर आफू प्रधानमन्त्री भए पनि आश्चर्य मान्नुपर्दैन ।’

यस्ता चलखेलहरू भइराखेको भनेर उनले पार्टीका नेता/कार्यकर्तालाई प्रशिक्षित गरेका हुन् । रास्वपा कसरी उदाएको दल हो भनेर यहाँनेर प्रश्न गर्नुपर्ने उनले टिप्पणी गरे ।

‘अनि स्थिरताको कुरा गर्‍यो होइन ? पाँच वर्षको लागि जनताले स्थिरताको लागि मत दिएको हो । किन अस्थिर बनाउन लागेको ? यो त प्रश्न गर्नुपर्ला नि खोई स्थिर ?’ रास्वपा नेतृत्वलाई प्रश्न गर्नुपर्ने उनले बताए ।

विभिन्न दलहरू मिलेर १८ महिनासम्म पछिल्लो पटक सरकार चलेको स्मरण गर्दै उनले थपे, ‘तर एउटै पार्टीको बहुमत पाएर पनि खै त स्थायित्व ? नीतिगत र संरचनात्मक अस्थिरताले झन् झन् अनिश्चिततातिर देश गइराखेको छ ।’

यो वातावरण बन्नुमा स्वयम रास्वपा जिम्मेवार रहेको र रास्वपाले अस्थिरताको जवाफ दिनुपर्ने उनको आग्रह छ ।

‘अहिले देखिराख्नुभएको छ । खासमा रास्वपामा संघर्ष छ, प्रधानमन्त्री र सभापति बीचमा । त्यो संघर्ष कहाँ पुग्यो भन्दा अदालतमा पुगेको छ । कसको पक्षमा ? अनि त्यो संघर्ष पुगेको छ प्रहरीमा गएर आईजीपी फेर्नेमा,’ उनले भने ।

सर्वोच्च अदालतमा हालै चार जना नयाँ न्यायाधीश नियुक्त भएका छन् । यसबीचमा प्रहरी महानिरीक्षक (आईजीपी) फेरिएका छन् ।

रास्वपाभित्रको संघर्षकै कारण मिडियाहरूमाथि समेत हस्तक्षेप बढेको नेता पुनको निष्कर्ष छ । र, पार्टी भित्रै पनि एक पक्ष र अर्को पक्ष हेर्ने प्रवृति देखा परेको उनको भनाइ छ ।

‘त्यो संघर्ष कहाँ पुगेको छ ? मिडिया कसको ? सभापतिको पक्षकालाई पक्रने, अर्को पक्षका थुन्ने, अर्को पक्ष के गर्नेमा’ नेता पुन भन्छन्, ‘त्यो संघर्ष कहाँ पुगेको छ भने दलहरूमा पनि सभापति नजिक भयो भने थुन्दिने, पक्रिदिने, तर्साउने अनि प्रधानमन्त्री नजिक भयो भने छोड्दिने जस्तो भइराखेको छ ।’

कुनै पनि काम विधि र प्रक्रियासम्मत भन्दा पनि नजिकपना हेरेर गर्ने प्रवृत्ति देखा परेको उनले बताए ।

‘यो स्वेच्छाचारिता, यो निरंकुशता बढेर गइराखेको छ । कुनै विधि, विधान, कानुन प्रमाणसंगत, कानुनसम्मत भन्ने कुरै छैन,’ उनी भन्छन्, ‘रातारात कसलाई के पर्यो उठाइदिने खालको देखिराख्नुभएको छ ।’

नेता पुनले सरकारले विभिन्न व्यक्तिहरूलाई पक्राउ गर्दै आएको पनि स्मरण गरे ।

‘पूर्वप्रधानन्यायाधीशका बदमासी होलान्, कमजोरी होलान् तर रातारात बिना कारण उठाएर लाने ? अर्को मान्छेलाई उठाएर लाने, सचिवहरूलाई उठाएर लान्छ, भोलि केही पनि छैन,’ नेता पुनले सरकारी शैलीको आलोचना गर्दै भने ।

उनले थपे, ‘व्यापारी उद्योगीलाई उठाएर लान्छ भोलि केही पनि छैन । त्यहीँ छोड्ने । यस्ता एकदम स्वेच्छाचारी ढंगले राज्य सञ्चालनका कुराहरू एक पछि बढेर गएका छन् ।’

यसको कारण सत्तारुढ दल रास्वपाभित्र चलिराखेको पार्टी सभापति लामिछाने र प्रधानमन्त्रीबीच संघर्ष रहेको उनको दाबी छ ।

‘बालेनले संसद विघटन गर्न सक्छन्’

पार्टी सभापति लामिछानेसँग संघर्ष चर्किँदै जाँदा आन्तरिक द्वन्द्वलाई व्यवस्थापन गर्नको लागि प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने पनि नेता पुनले जिकिर गरे ।

उनी भन्छन्, ‘अर्को चिन्ताको विषय भूराजनीतिक द्वन्द्व झन् चर्केर गएको छ । चर्किराखेको छ भन्दा प्रधानमन्त्रीले कहिँ न कहिँ मिडियामा पनि आइसकेको छ । आन्तरिक द्वन्द्वलाई व्यवस्थापन गर्नको लागि संसद विघटन गर्ने, मध्यावधितिर जाने तर मध्यावधि नगर्ने र एक रूपले लिने, जो २३–२४ गते थियो नि !’

२३–२४ भनेर नेता पुनले २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई स्मरण गरेका हुन् । यी विषय राख्दै उनले मुलुकमा प्रतिक्रान्तिको खतरा टरिनसकेको तर्क गरे ।

आन्तरिक द्वन्द्वलाई व्यवस्थापन गर्न प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने दोहोर्‍याउँदै उनले भने, ‘संसद विघटन गर्ने, संविधान खारेज गर्ने, व्यवस्था खारेज गर्ने र तानाशाही ढंगले जरुरी परे राजा अर्को कुनै एकाधिकारी ढंगले लाने खालको कोसिस, त्यो बाटोमा छ । प्रतिक्रान्तिको बाटो अब टर्‍यो, अब खतरा छैन भन्ने हैन । त्यसका विरुद्ध हामीले लड्नुपर्नेछ ।’





Source link

Translate »