२३ असोज, धनगढी । युवा साहित्यकार तथा पत्रकार पुष्पराज जोशी ‘पुकार’ कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।
पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर बाँकेले जोशीलाई सो पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
प्रतिष्ठानले शनिबार कोहलपुरस्थित पार्टी प्यालेसमा आयोजना गर्ने विशेष समारोहमा जोशीसहित विभिन्न विधाका चार जना साहित्यकारलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।
सोही कार्यक्रममा कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा साहित्य पुरस्कारबाट साहित्यकार निरञ्जना चन्द ‘निरु’, कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कारबाट साहित्यकार मुस्तफा अहसन कुरेसी र कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कारबाट साहित्यकार विजयराज आचार्य पनि पुरस्कृत हुनेछन् ।
साहित्य सिर्जना र पत्रकारितामा सक्रिय जोशीको २०७२ मा मुक्तक सङ्ग्रह ‘शब्दछाल’ प्रकाशित भएको थियो । उनका विभिन्न फुटकर कविता, गजल तथा मुक्तकसमेत विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।