२३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आयोजित स्मृति कार्यक्रममाथि गम्भीर प्रश्न उठाएकी छन्।
मंगलबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) अगाडि आयोजित जेनजी शहीदहरूको स्मृति कार्यक्रमको स्वरूपप्रति तीव्र असन्तुष्टि जनाउँदै उनले यसले शहीद र घाइतेहरूको अपमान गरेको महसुस भएको बताएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सचेतक धितालले कार्यक्रममा धर्मगुरुहरूको उपस्थिति र मञ्च व्यवस्थापनमाथि आपत्ति जनाएकी हुन्। ‘मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो ? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ? त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो, जसले आफ्ना सन्तान गुमाएका छन् ?’ उनले प्रश्न गरेकी छन् ।
जसले जेनजीको आवाज अगाडि बढाए, उनीहरूले नै यस्तो कार्यक्रम रोक्न किन हस्तक्षेप गर्न सकेनन् भन्दै उनले पछिल्लो एक वर्षमा नेपाली समाजले ‘अरूको पीडा महसुस गर्ने क्षमता’ नै गुमाएको टिप्पणी गरेकी छन्।
‘प्रश्न गर्नेलाई धम्क्याएर अधिकारको तेजोबध गर्दैछौँ’
सचेतक धितालले सत्तामा पुगेपछि आफ्नै पार्टी र नेतृत्वको कार्यशैली निरंकुश बन्दै गएको संकेत गर्दै तीखो आत्मालोचनासमेत गरेकी छन्। अघिल्लो वर्ष प्रेस स्वतन्त्रताको रक्षा र तत्कालीन सत्ताको निरंकुशताको विरोधमा सडकमा उत्रिएको स्मरण गर्दै उनले अहिले आफूहरूमाथि प्रश्न गर्नेहरूलाई धम्की र चेतावनीको भाषा प्रयोग गरिएको भन्दै असन्तुष्टि पोखेकी छन्।
गृहमन्त्री सुधन गुरुङले स्मृतिसभामा सम्बोधनको क्रममा धम्कीको भाषा बोलेका थिए ।
‘त्यो बेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गर्यो भनेर सडकमा गएका थियौँ। के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौँ ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्यत छौँ ?’ आफ्नै नेतृत्वको सरकारको रवैयातर्फ लक्षित गर्दै उनले प्रश्न गरेकी छन्।
अरूले मात्रै सुध्रिनुपर्ने तर आफूहरूले सुध्रिनु नपर्ने प्रवृत्तिको विरोध गर्दै उनले सोधेकी छन्, ‘यही दिन देख्नलाई थियो महान् सहिदहरूको बलिदान ?’
के भन्छिन् प्रमुख सचेतक सचेतक क्रान्तिशिखा ?
जेनजी आन्दोलनको एक वर्ष पुग्यो भन्दैगर्दा मन यस्सै बिथोलिएको थियो। तर बीआईसीसी अगाडि जेनजी शहीदहरूको सम्झनामा गरिएको कार्यक्रम देखेपछि म अवाक छु । मलाइ कताकता लाग्यो हामीले जेनजी शहीद र घाइतेहरूको अपमान गरिरहेका छौँ।
मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो ? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ? त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो, जसले आफ्ना सन्तान गुमाएका छन् ? जसका शरीरमा आज पनि आन्दोलनका घाउ छन् तिनले के बुझे मलाइ थाहा छैन ।
जसले जेनजी को आवाजलाई अगाडि बढाए, जसले सरकारका काममाथि निरन्तर प्रश्न उठाए, उनीहरूले आज यो कार्यक्रम यसरी हुनु हुँदैन भनेर हस्तक्षेप गर्न किन सकेनन्?सायद नेपाली समाजले पछिल्लो एक वर्षमा गुमाएको सबैभन्दा ठूलो कुरा नै अरुले के महसुस गरिरहेका छन भन्ने कुराको महसुस गर्ने क्षमता हो।
पोहोर साल हामीले नै हैन प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको ? हामीले राज्यलाई प्रश्न गरेका थियौँ। सत्तालाई विनम्र हुन भनेका थियौँ।
अहिले हामीमाथि प्रश्न गर्नेहरुलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौं ? त्यो बेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भनेर सडकमा गएका थियौं हामी । के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्दत छौं ?
सुध्रिनु अरुले मात्रै पर्ने । हामीले चाहिँ सुध्रिनु नपर्ने ? यही दिन देख्नलाई थियो महान शहीदहरुको बलिदान ?