२० साउन, काभ्रेपलाञ्चोक । सिन्धुलीको फिक्कल–२ मा तीन दिनअघि बसको ठक्करबाट सुनकोशी नदीमा कार खसेर तीन जना बेपत्ता भएको घटनामा पीडित पक्ष र बस व्यवसायी कम्पनीबीच सहमति भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डीएसपी विजय श्रेष्ठका अनुसार बुधबार साँझ ७ बजे पीडित पक्ष र बस व्यवसायी कम्पनीबीच सहमति भएको हो ।
सहमति भएसँगै तीन दिनदेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्ग सञ्चालनमा आएसँगै अलपत्र परेका यात्रु तथा सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
सडक छेउमा रोकेर राखिएको कारलाई तीव्र गतिमा रहेको बसले पछाडिबाट ठक्कर दिँदा सिन्धुपाल्चोक जुगल–७ का पूर्ववडाध्यक्ष दिलकुमार लामा, एक्साभेटर चालक गोलञ्जोर गाउँपालिका–१, डुङ्भञ्ज्याङका गणेश थापा र तीनपाटन गाउँपालिका–९ डाँडाखर्कका सुजन बलमपाकी मगर सुनकोशीमा बेपत्ता भएका थिए ।
सिन्धुली प्रहरीका अनुसार सानो गाडीको बीमा दाबी गर्ने र सम्बन्धित परिवारलाई दिने, बीमाबाट कानुनबमोजिम आउने ५ लाख रकम परिवारलाई उपलब्ध गराउने, परिवारभित्रको एक जनालाई जागिर र सन्तानको अध्ययनको जिम्मा लिने सहमति भएको छ ।
यसबाहेक गणेश हिमाल–तराई यातायात प्रालिले थप २ लाखका दरले पीडित परिवारलाई रकम उपलब्ध गराउने सहमति भएको छ ।
बेपत्तामध्ये लामाका सन्तान र गणेशको पत्नीलाई पढाइदिने र सुजनको परिवारभित्रको व्यक्तिलाई रोजगारी दिने समेत सहमति भएको छ ।
सोमबार सुनकोशीमा गाडी खसेर बेपत्ता भएका उनीहरूको तीन दिनदेखि खोजी कार्य भएपनि अहिलेसम्म पत्ता लागेको छैन ।
सिन्धुली प्रहरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले खोजी कार्य जारी राखेको छ ।