प्रकाशित मिति : २९ असार २०८३, सोमबार

अमेरिकी डलर सस्तोमा साटिदिने प्रलोभन देखाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौँको गोकर्णेश्वर–३ बस्ने ३७ वर्षीय बुद्धिबहादुर योञ्जन रहेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको समन्वयमा धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्लेखोलाबाट योञ्जनलाई पक्राउ गरिएको हो।
उनले कास्कीको पोखरा महानगरपालिका–१७ का ६९ वर्षीय सुनचाँदी व्यवसायी थमानसिंह विश्वकर्मालाई प्रलोभनमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ। पीडितबाट ११ लाख ७५ हजार रुपैयाँ नगद र डेढ तोला सुनका गहना ठगी गरेको आरोपमा योञ्जन पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार योञ्जनले व्यवसायी विश्वकर्मालाई ६५ हजार अमेरिकी डलर सस्तोमा साटिदिने भन्दै धुनीबेँसी नगरपालिका–८ चुलेडाँडाको एकान्त स्थानमा बोलाएका थिए।
पीडित विश्वकर्मा आइपुगेपछि उनीसँग रहेको ११ लाख ७५ हजार रुपैयाँ नगद, एक तोलाको सुनको बेरुवा औँठी र आधा तोलाको बक्स औँठी लिएर अभियुक्तहरूले अमेरिकी डलर भन्दै एउटा पोका थमाएका थिए।
तर, उनीहरू हिँडेपछि पीडितले पोका खोलेर हेर्दा डलरको सट्टा खाली कागजका बन्डल मात्र भेटिएको थियो। पीडितले दिएको उजुरीका आधारमा प्रहरीले घटनालगत्तै अनुसन्धान सुरु गरेको थियो।
पक्राउ परेका योञ्जनको साथबाट ठगीमा प्रयोग गरिएको मोटरसाइकल र डलरको पोकाजस्तो देखाउन प्रयोग गरिएका खाली कागजका बन्डलहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिए।