साविक विजेता अर्जेन्टिना सेमिफाइनलमा, फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग भिड्ने



प्रकाशित मिति : २७ असार २०८३, शनिबार

फोटो :एपी/रासस

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२६ को सेमिफाइनलमा पुगेको छ। स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ को गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो। यो जितले अर्जेन्टिनालाई फेरि उपाधि नजिक पुर्‍याएको छ। अब फाइनल प्रवेशका लागि अर्जेन्टिनाको भिडन्त इंग्ल्यान्डसँग हुनेछ।

खेलको दोस्रो हाफमा स्विट्जरल्यान्डका स्ट्राइकर ब्रिल एम्बोलोले ‘डाइभिङ’ (फाउल भएको नाटक) गरेको भन्दै भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को निर्णयपछि उनलाई दोस्रो पहेँलो कार्ड दिँदै मैदानबाट बाहिर पठाइएको थियो।

सुरुमा अर्जेन्टिनाका लियान्द्रो पारेडेसले एम्बोलोलाई फाउल गरेको देखिएपछि पारेडेसलाई पहेँलो कार्ड दिइएको थियो। तर, भिएआरले रेफ्रीलाई खेल पुनः जाँच गर्न आग्रह गर्‍यो।

भिडियो रिप्लेमा स्विस खेलाडी एम्बोलोले नै लडेको नाटक गरेको स्पष्ट देखियो। फलस्वरूप पारेडेसको कार्ड खारेज गरियो र एम्बोलोलाई रातो कार्ड दिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित हुन पुग्यो। एम्बोलोले रातो कार्ड पाउनु ठीक ५ मिनेटअघि मात्र स्विट्जरल्यान्डले बराबरी गोल गरेको थियो।

अब पहिलो सेमिफाइनल खेल फ्रान्स र स्पेनबीच असार ३१ गते अमेरिकाको डालास रङ्गशालामा हुनेछ। यस्तै इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको दोस्रो सेमिफाइनल असार ३२ गते अमेरिकाकै एटलान्टा रङ्गशालामा हुनेछ। सेमिफाइनलका विजेता टोलीले साउन ४ गते अमेरिकाको न्युयोर्क न्युजर्सी रङ्गशालामा फाइनल खेल्नेछन्।

फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो। स्पेनले बेल्जियमलाई २–१ ले हराउँदै सन् २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो।

सेमिफाइनल पुग्ने चारै टोली पूर्वविजेता हुन्। साविक विजेता अर्जेन्टिना ३ पटकको विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले समान १-१ पटक उपाधि जितेका छन्।





Source link

Leave a Comment