प्रकाशित मिति : २७ असार २०८३, शनिबार
फोटो :रासस
इङ्गल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । मियामी स्टेडियममा भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इङ्गल्यान्डले ८ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेको हो । इङ्गल्यान्ड विश्वकप इतिहासमा चौथो पटक सेमिफाइनलमा पुगेको हो । जुड बेलिङ्घमको दुई गोलको मद्दतमा इङ्गल्यान्डले नर्वेमाथि पुनरागमन जित निकाल्यो ।
पहिलो पटक क्वार्टरफाइनलमा पुगेको नर्वेले सुरुवाती अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिनु पर्यो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा इङ्गल्यान्डले नर्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । तर, नर्वेले उक्त अग्रता जोगाउन सकेन । त्यसको ११ मिनेटपछि, अर्थात् पहिलो हाफको इन्जुरी समयमा इङ्गल्यान्डका जुड बेलिङ्घमले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्गल्यान्डलाई अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र इङ्गल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्यो ।
सन् १९६६ मा च्याम्पियन बनेको इङ्गल्यान्ड यसअघि सन् १९९० र २०१८ मा सेमिफाइनलसम्म पुगेको थियो । सन् २०२२ को विश्वकपमा भने इङ्गल्यान्ड क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । इङ्गल्यान्डले अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।