प्रकाशित मिति : २४ असार २०८३, बुधबार
फोटो: एपी/रासस
अमेरिकाले इरानमाथि पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई “फेरि कडा प्रहार गरिने” चेतावनी दिएको केही समयपछि अमेरिकी सेनाले नयाँ सैन्य कारबाही गरेको हो।
इरानका सरकारी सञ्चारमाध्यमका अनुसार देशको दक्षिणी तटीय क्षेत्र सिरिक, बन्दर अब्बास, कोनारक र चाबहारलगायतका स्थानमा शक्तिशाली विस्फोट भएका छन्। यी सबै क्षेत्र विश्वकै अत्यन्त महत्त्वपूर्ण होर्मुज जलमार्गसँग जोडिएका छन्।
आक्रमणपछि राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्दै भने, “यो इरानले जहाजहरूमाथि गरेको बम आक्रमणको प्रतिशोध हो। यदि यस्ता गतिविधि फेरि दोहोरिए, त्यसको परिणाम अझ गम्भीर हुनेछ।”
इरानले अमेरिकी आक्रमणबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर, त्यसअघि इरानी उच्च अधिकारीहरूले अमेरिकाबाट हुने कुनै पनि आक्रमणको तत्काल र कडा जवाफ दिइने चेतावनी दिएका थिए।
अमेरिकी केन्द्रीय सैन्य कमान्ड ले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणको उद्देश्य इरानको समुद्री मार्गमा स्वतन्त्र रूपमा हुने जहाज आवागमनमा अवरोध पुर्याउने क्षमता कमजोर बनाउनु रहेको जनाएको छ।
अमेरिकाले गरेको हवाई आक्रमणमा इरानको दक्षिणपूर्वी क्षेत्रमा रहेको इरानशहर विमानस्थलमा कार्यरत एक अग्निनियन्त्रकको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। इरानको सरकारी समाचार संस्था तथा स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त आक्रमणमा विमानस्थलको उडान सञ्चालन भवन र मौसम पूर्वानुमान केन्द्रमा क्षति पुगेको छ।
सिस्तान–बलुचिस्तान प्रदेशका सहायक प्रदेश प्रमुख तथा इरानशहर नगरका प्रमुखलाई उद्धृत गर्दै प्रकाशित समाचारमा आक्रमणका कारण विमानस्थलको सेवा प्रभावित भएको उल्लेख गरिएको छ। अधिकारीहरूका अनुसार घटनामा ज्यान गुमाउने अग्निनियन्त्रक उद्धार तथा आगो नियन्त्रणको जिम्मेवारीमा खटिएका कर्मचारी थिए। अन्य सम्भावित मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन भइरहेको जनाइएको छ।
अमेरिकी आक्रमणपछि इरानको दक्षिणपूर्वी क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। घटनाबारे थप विवरण सार्वजनिक हुने क्रम जारी रहेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्। इरानी सरकारी टेलिभिजनका अनुसार बन्दर अब्बासमा आठवटा विस्फोट भएका छन् भने सिरिक र जास्क बन्दरगाहमा क्षेप्यास्त्र प्रहार भएको छ।
हालसम्म अमेरिकी आक्रमणबाट भएको क्षतिको आधिकारिक विवरण सार्वजनिक भएको छैन। तर, इरानी सञ्चारमाध्यमका अनुसार चाबहारमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो भने बुशेहरस्थित इस्लामिक क्रान्तिकारी सुरक्षा बलको शिविरमा आगलागी भएको छ।
यसअघि मंगलबार अमेरिकी सेनाले होर्मुज जलमार्गमा तीनवटा तेल ट्याङ्करमाथि भएको आक्रमणको जवाफस्वरूप शक्तिशाली सैन्य कारबाही गरेको जनाएको थियो। त्यसको प्रत्युत्तरमा इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको दाबी गरेको थियो।
गत असार १७ गते अमेरिका र इरानबीच भएको समझदारीपछि मंगलबारदेखि बुधबारसम्म भएको यो सैन्य भिडन्त दुवै देशबीचको सबैभन्दा गम्भीर तनावका रूपमा हेरिएको छ। राष्ट्रपति ट्रम्पले उक्त समझदारी अब समाप्त भएको बताउँदै इरानसँग थप वार्ता गर्न इच्छुक नरहेको स्पष्ट पारे।
यता इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अशिष्ट भाषाको जवाफ अशिष्टताले नभई साहसिक कार्यद्वारा दिइने बताएका छन्।
अमेरिका र इरानबीच भएको १४ बुँदे समझदारीमा ६० दिनसम्म युद्धविराम कायम राख्ने, त्यस अवधिमा वार्ता जारी राख्ने, होर्मुज जलमार्गबाट जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने तथा अमेरिकाले इरानमाथिका केही प्रतिबन्ध हटाउने विषय समावेश थिए।
पछिल्ला घटनाक्रमले अमेरिका र इरानबीचको सम्बन्ध पुनः गम्भीर सैन्य द्वन्द्वतर्फ उन्मुख भएको सङ्केत दिएको छ। विश्वव्यापी तेल आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलमार्गमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व सुरक्षामा समेत गम्भीर प्रभाव पार्न सक्ने आकलन विश्लेषकहरूले गरेका छन्।