अमेरिकामा महिलाद्वारा यौन दुर्व्यवहारको आरोप: सिनेट उम्मेदवारले गरे चुनावी अभियान स्थगित



प्रकाशित मिति : २४ असार २०८३, बुधबार


यौन दुर्व्यवहारको आरोप लागेपछि अमेरिकी सिनेटका उम्मेदवार ग्राहम प्लेटनरले आफ्नो चुनावी अभियान स्थगित गरेका छन्।

मेन राज्यबाट सिनेट सदस्यका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार प्लेटनरले आफ्नो चुनावी अभियान रोकेका हुन्। आफूमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि पार्टीभित्र बढेको दबाबका कारण उनले यस्तो निर्णय लिएको बताएका छन्।

पछिल्ला केही दिनयता एक महिलाले प्लेटनरमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरूले उनलाई उम्मेदवारी फिर्ता लिन सार्वजनिक रूपमा आग्रह गरेका थिए। आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा अमेरिकी सिनेटको नियन्त्रण आफ्नो पक्षमा ल्याउने डेमोक्रेटिक पार्टीको योजनाका लागि मेन राज्यको यो निर्वाचनलाई निकै महत्त्वपूर्ण मानिएको छ।

सामाजिक सञ्जाल एक्स मा करिब ११ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै प्लेटनरले आफूले चुनावी अभियान स्थगित गरे पनि दोष भने स्वीकार नगरेको प्रष्ट पारेका छन्। उनले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपलाई “पूर्ण रूपमा झुटो” भन्दै अस्वीकार गरेका छन्।

उनले रिपब्लिकन उम्मेदवार सुसन कोलिन्सविरुद्ध प्रतिस्पर्धा गर्ने नयाँ उम्मेदवारको छनोट खुला, पारदर्शी र लोकतान्त्रिक ढङ्गले हुने सुनिश्चित भएपछि मात्र उम्मेदवारी फिर्ताको औपचारिक प्रक्रिया पूरा गर्ने बताए। मेन राज्यको कानुनअनुसार नयाँ उम्मेदवारलाई मतपत्रमा समावेश गर्न प्लेटनरले आगामी जुलाई १३ भित्र उम्मेदवारी फिर्ता लिनुपर्नेछ।

सिपी खेती गर्ने व्यवसायी तथा पूर्वसैनिक रहेका प्लेटनर छोटो समयमै डेमोक्रेटिक पार्टीभित्र लोकप्रिय बनेका थिए। सबैका लागि स्वास्थ्य सेवा, सुलभ आवास तथा प्रगतिशील नीतिको पक्षमा उभिएका उनले पार्टीको पुरानो नेतृत्वको आलोचना गर्दै धेरै मतदाताको समर्थन जितेका थिए।

उनलाई नेता बर्नी स्यान्डर्स र एलिजाबेथ वारेनको समेत समर्थन प्राप्त थियो। उनको लोकप्रियता यति बढेको थियो कि प्राथमिक निर्वाचनमा उनकी प्रतिस्पर्धी मेनकी गभर्नर जेनेट मिल्सले समेत आफ्नो अभियान स्थगित गरेकी थिइन्।

४१ वर्षीया जेनी रेसिकोटले दुई वर्षभन्दा बढी समयसम्म बीच–बीचमा सम्बन्धमा रहेका प्लेटनरले आफ्नो अनुमतिबिना घरमा प्रवेश गरेर आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। घटनाका बेला प्लेटनर अत्यधिक मदिरा सेवन गरेको अवस्थामा रहेको उनको दाबी छ।

रेसिकोटका अनुसार उक्त घटना सहमतिमा नभएको जानकारी दिएपछि उनले प्लेटनरसँगको सम्पर्क पूर्ण रूपमा तोडेकी थिइन्। यसअघि उनी प्लेटनरका विषयमा प्रकाशित समाचारका लागि अन्तर्वार्ता दिने महिलामध्ये एक थिइन्, तर आफूलाई बलात्कार पीडितका रूपमा चिनाउन नचाहेकाले यसअघि सार्वजनिक रूपमा आरोप लगाएकी थिइनन्।

प्लेटनरले भने आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै आफूविरुद्ध कुनै प्रमाण नभएको र अनुसन्धानको अवसर नै नदिई सञ्चारमाध्यम र राजनीतिक नेतृत्वले आफूलाई दोषी ठहर गरेको गुनासो गरे।





Source link

Leave a Comment

Translate »