प्रकाशित मिति : २३ असार २०८३, मंगलबार
Photo by DonkeyHotey on Flickr. License: Attribution 2.0 Generic (CC BY 2.0)
यदि तपाईं आप्रवासी भिसामा अमेरिका आउनुभएको छ वा आउने योजनामा हुनुहुन्छ भने अमेरिका आउनेबित्तिकै तपाईंले गर्नुपर्ने केही महत्त्वपूर्ण काम हुन्छन् । यदि ती काम तुरुन्तै नगरेको खण्डमा भविष्यमा तपाईंलाई समस्या वा कानुनी झन्झटसमेत हुन सक्छ ।
सोसल सेक्युरिटी नम्बर आवेदन
यदि तपाईंले आफ्नो भिसा आवेदन दिँदा अमेरिकी विदेश मन्त्रालयअन्तर्गत फाराम डीएस–२३० वा डीएस–२६० भर्दा सोसल सेक्युरिटी नम्बर कार्ड अनुरोध गर्नुभएको थियो भने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले सामाजिक सुरक्षा प्रशासनलाई तपाईंका लागि सोसल सेक्युरिटी कार्ड जारी गर्न आवश्यक जानकारी प्रदान गर्छ । तर, तपाईंले यदि आप्रवासी भिसा फाराम भर्दा वा ग्रिन कार्ड आवेदन दिँदा सोसल सेक्युरिटी नम्बर अनुरोध गर्नुभएको थिएन भने तपाईंले सोसल सेक्युरिटी अफिसमा गएर आवेदन दिनुपर्छ ।
आप्रवासी भिसा फाराम भर्दा वा ग्रिन कार्ड आवेदन दिँदा सोसल सेक्युरिटी नम्बर अनुरोध गर्नुभएको थियो भने तपाईंले छुट्टै आवेदन दिइरहनुपर्दैन । स्वतः तपाईंको ठेगानामा आउँछ ।
अमेरिकामा काम गर्न, बैंक खाता खोल्न, कर तिर्न, परिचयपत्र बनाउनलगायत कैयन् महत्त्वपूर्ण काममा यो नम्बरको आवश्यकता पर्छ । तपाईंले भिसा आवेदन दिँदा कार्ड अनुरोध गर्नुभएको थियो भने तपाईं अमेरिका आएको तीन साताभित्र तपाईंले कार्ड प्राप्त गर्नुहुनेछ । यदि तपाईंले अनुरोध गर्नुभएको थिएन र सोसल सेक्युरिटी अफिसमा गएर आवेदन दिनुभएको थियो भने पनि त्यस्तै अवधि लाग्छ ।
स्टेट आईडी आवेदन
तपाईंले सोसल सेक्युरिटी नम्बर प्राप्त गरिसकेपछि बैंक खाता खोल्न सक्नुहुनेछ । त्यसपछि तपाईंले चाल्ने महत्त्वपूर्ण अर्को कदम हो– राज्यले प्रदान गर्ने परिचयपत्रका लागि आवेदन । सोसल सेक्युरिटी नम्बर, बैंक कार्ड, ग्रिन कार्ड, पासपोर्ट, ठेगानाको प्रमाणलगायत विवरण पेस गरेपछि तपाईंले राज्यले प्रदान गर्ने परिचयपत्र प्राप्त गर्नुहुनेछ ।
यो परिचयपत्र अमेरिकामा जहाजमा यात्रा गर्दा, विभिन्न सरकारी र अन्य भवनमा छिर्दालगायत कैयन् प्रयोजनका लागि आवश्यक पर्छ । अमेरिकी सरकारले अमेरिकाभित्र जहाजमा यात्रा गर्न रियल आईडी अर्थात् स्टारसहितको आईडी अनिवार्य गरेको छ ।
सबै कागजातसहित डीएमभी कार्यालयमा पुगेपछि तपाईंले उपयुक्त शुल्क तिरेर आईडीका लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि तपाईंले स्टार अंकित वास्तविक आईडी प्राप्त गर्नुहुनेछ । जुन संघीय भवनहरूमा प्रवेश गर्न वा जहाजमा यात्रा गर्नका लागि स्वीकार गरिनेछ । उक्त आईडीसहित यात्रा गर्दा तपाईंले पासपोर्ट बोकिरहनुपर्दैन ।
सेलेक्टिभ सर्भिसमा दर्ता
यदि तपाईं १८ देखि २५ वर्षबीचको पुरुष हुनुहुन्छ भने तपाईंले अनिवार्य रूपमा अमेरिकी सेनाको सेलेक्टिभ सर्भिसका लागि आफूलाई दर्ता गर्नुपर्छ । २६ वर्ष पुगेको व्यक्तिले दर्ता गर्नुपर्दैन । यदि ग्रिन कार्डवाहकले सैन्य सेलेक्टिभ सर्भिसमा आफूलाई दर्ता गराएको छैन भने उसको ग्रिन कार्ड गुम्न सक्छ । पछि अमेरिकी नागरिकता नपाउन सक्ने खतरा हुन्छ ।
सेलेक्टिभ सर्भिसमा दर्ता नगरेको व्यक्तिले अमेरिकी नागरिकता प्रक्रियामा ५ वर्षसम्म ढिलो हुन सक्छ । संघीय, राज्य र स्थानीय सरकारमा जागिर खान नपाउने, संघीय तालिम, ऋण वा ग्रान्ट पनि लिन नपाउने हुन सक्छ । अमेरिका आएको ३० दिनभित्र सेलेक्टिभ सर्भिसमा दर्ता गर्नुपर्छ । नगर्ने व्यक्तिलाई साढे २ लाख डलरसम्म जरिबाना र ५ वर्षसम्म जेल तथा अमेरिकी नागरिकता अस्वीकारसम्मको सजायको व्यवस्था छ ।
ठेगाना परिवर्तनबारे जानकारी
यदि तपाईं अमेरिका आइसकेपछि सुरुमा यूएससीआईएसलाई दिएको ठेगाना परिवर्तन गरी अरू स्थानमा बस्न थाल्नुभएको छ भने तपाईंले ठेगाना परिवर्तनको जानकारी तुरुन्तै दिनुपर्छ । यूएस पोस्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा यूएससीआईएसमा ठेगाना परिवर्तन हुँदैन ।
यूएससीआईएसमा ठेगाना परिवर्तनका लागि तपाईंले फाराम एआर–११ को प्रयोग गर्नुपर्छ । यदि तपाईंको यूएससीआईएसमा अनलाइन एकाउन्ट छ भने अनलाइनमा यो फाराम भरेर ठेगाना परिवर्तन गर्न सकिन्छ । यदि छैन भने हुलाकमार्फत पठाउन सकिन्छ ।
कानुनअनुसार अमेरिकी नागरिकबाहेक अरू व्यक्तिले ठेगाना परिवर्तन गरेको १० दिनभित्र यूएससीआईएसमा जानकारी गराउनुपर्छ । ग्रिन कार्डवाहकले अनलाइनमार्फत नै ठेगाना परिवर्तन गरेको जानकारी गराउन सक्छन् । तीस दिनभन्दा कम समय अमेरिकाभित्र गैरआप्रवासी भिसामा आउनेहरूले भने आफ्नो ठेगाना परिवर्तनबारे जानकारी गराउनुपर्दैन ।
यदि कुनै ग्रिन कार्डवाहकले जानाजान ठेगाना परिवर्तनको जानकारी यूएससीआईएसमा नगरेको खण्डमा २ सय डलर जरिबाना र ३० दिनसम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान छ । ग्रिन कार्डवाहकले आफूले ठेगाना परिवर्तनबारे जानकारी गराउन नसक्नुको तार्किक कारण पेस गर्न नसकेमा वा जानजान ठेगाना परिवर्तनबारे जानकारी नगराएको प्रमाणित गर्न नसकेमा देश निकालासम्म हुन सक्ने कानुनी प्रावधान छ ।
जुरी ड्युटी
अमेरिकी नागरिकता नभएको व्यक्ति जुरी ड्युटीमा जानुपर्दैन । तर, कहिलेकाहीं अमेरिकी नागरिकता प्राप्त नगरेका व्यक्तिले पनि जुरी ड्युटीका लागि पत्र प्राप्त गर्छन् । खासगरी स्टेट आईडी वा मतदाता दर्ता सूचीबाट सम्भावित व्यक्तिलाई छानेर जुरी ड्युटीका लागि पत्र पठाइने भएकाले अमेरिकी नागरिकता प्राप्त नगरेका व्यक्तिले पनि जुरी ड्युटीको पत्र प्राप्त गर्न सक्छन् ।
जुरी ड्युटीका लागि कम्तीमा १८ वर्ष उमेर पुगेको अमेरिकी नागरिक हुनुपर्छ । ग्रिन कार्डवाहक, अन्य भिसामा रहेकाहरू र कागजपत्रविहीनहरू यो ड्युटीका लागि योग्य हुँदैनन् । जुरी ड्युटीका लागि पठाइएको पत्रमा विभिन्न प्रश्न सोधिएको हुन्छ । जसमा तपाईं अमेरिकी नागरिक भए÷नभएको पनि सोधिन्छ । तपाईंले आफू अमेरिकी नागरिक नभएको विवरण र प्रमाणसहितको पत्र अनिवार्य रूपमा पठाउनुपर्ने हुन्छ । त्यसका लागि आफ्नो पासपोर्ट वा ग्रिन कार्डको फोटोकपी पठाउनु उपयुक्त हुन्छ ।
यदि जुरी ड्युटीका लागि प्राप्त पत्रलाई बेवास्ता गरिएमा जेल सजाय वा जरिबानासमेत हुन सक्छ । जुरीको पत्रलाई बेवास्ता गरिएमा वा जुरीमा उपस्थित नभएमा न्यायाधीशले त्यस्ता व्यक्तिका नाममा बेन्च वारेन्ट जारी गर्न सक्छ । यो वारेन्ट सामान्यतया पक्राउ पुर्जीका रूपमा जारी हुन्छ । यो वारेन्टले प्रहरीलाई जुरी ड्युटी बेवास्ता गर्ने व्यक्तिलाई पक्राउका लागि अनुमति दिन्छ । उक्त वारेन्टका आधारमा प्रहरीले तपाईंलाई घर, काम, कलेज जहाँबाट पनि पक्राउ गर्न सक्छ ।
यदि यस्तो वारेन्ट जारी भएको खण्डमा प्रहरीले सिधैं तपाईंको घरमा आएर तपाईंलाई पक्राउ नगर्न पनि सक्छ । तर, तपाईं ट्राफिक नियम उल्लंघन वा कुनै कारणले प्रहरीको सम्पर्कमा आउनुभयो र प्रहरीले तपाईंको बारेमा सोधपुछ गर्न थालेको खण्डमा उनीहरूको प्रणालीमा देखिने वारेन्टका कारण तपाईंलाई तत्काल हतकडी लगाएर लैजान सक्छ ।
१८ वर्ष उमेर नपुगेको, अमेरिकी नागरिक नभएको, कम्तीमा एक वर्ष सम्बन्धित जिल्लामा नबसेको, योग्यता फाराम भर्न अंग्रेजी भाषा नजानेको, मानसिक र शारीरिक रूपमा अशक्त रहेको, एक वर्षभन्दा धेरै जेल बसेको, कुनै अपराध गरेको व्यक्ति जुरी ड्युटीका लागि योग्य हुँदैन । त्यस्तै अमेरिकी सेनामा रहेको, अग्निनियन्त्रक वा प्रहरी विभागमा काम गरिरहेको र पूर्णकालीन रूपमा सरकारी सेवामा रहेको व्यक्ति जुरी ड्युटीमा जानुपर्दैन ।
जुरी ड्युटीलाई अमेरिकामा ट्याक्स तिर्नुजस्तै कर्तव्यका रूपमा लिइन्छ । सामान्यतया यो जुरी ड्युटी एकदेखि दुई दिनसम्मको हुन्छ । जुरी ड्युटीमा सहभागी भएबापत सरकारले तपाईंलाई पारिश्रमिकसमेत उपलब्ध गराउँछ ।
यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।
यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)