मेसीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको कठिन जित, प्रिक्वार्टरफाइनलमा इजिप्टको चुनौती


विश्व विजेता अर्जेन्टिना विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। अमेरिकाको मियामी रंगशाला (स्टेडियम) मा केप भर्डेविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो। विश्वकप फुटबलमा केप भर्डेको ऐतिहासिक र उत्कृष्ट यात्रालाई अन्ततः अर्जेन्टिनाले संघर्षपूर्ण रूपमा रोकेको छ।

लियोनल मेसीले २९ औँ मिनेटमा गरेको गोलमा अर्जेन्टिनाले सुरुआती अग्रता लिएको थियो। तर केप भर्डेका डेरोय डुआर्टेले ५९ औँ मिनेटमा बराबरी गोल फर्काए। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि प्रतिस्पर्धा अतिरिक्त समयमा पुगेको थियो।

लिसान्ड्रो मार्टिनेजले ९२ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई दोस्रोपटक अग्रता दिलाए। तर यो अग्रता पनि लामो समयसम्म रहन सकेन। खेलको १०३ औँ मिनेटमा केप भर्डेका सिन्डी लोपेसले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

त्यही स्थितिमा खेलको १११ औँ मिनेट केप भर्डेका लागि निराशाजनक बन्न पुग्यो। सुरुमा अर्जेन्टिनाका रोमेरोको नाममा गोल दिइएको भए पनि पछि उक्त गोललाई आत्मघाती (सुसाइड) गोलको मान्यता दिइयो। त्यही आत्मघाती गोल नै अर्जेन्टिनाका लागि जितको आधार बन्यो। अब अर्जेन्टिनाले अन्तिम १६ (प्रिक्वार्टरफाइनल) मा इजिप्टको सामना गर्नेछ। इजिप्टले पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै पहिलोपटक अन्तिम १६ मा स्थान बनाएको हो।

यो खेलमा १ गोल गरेसँगै मेसीले जारी विश्वकपमा आफ्नो गोल संख्या ७ पुर्‍याएका छन् भने विश्वकप इतिहासमा उनको कुल गोल संख्या २० पुगेको छ। केप भर्डेविरुद्ध मेसीले गरेको गोलले उनलाई यस विश्वकपको सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा पुर्‍याएको छ। उनलाई फ्रान्सका किलियन एम्बाप्पेले ६ गोलसहित पछ्याइरहेका छन्।



Source link

Leave a Comment

Translate »