विश्वकप फुटबल: न्यूयोर्कमा एम्बाप्पे चम्किएपछि फ्रान्सको प्रभावशाली जित



प्रकाशित मिति : २ असार २०८३, मंगलबार

फोटो : एपी/रासस

विश्वकप फुटबलमा फ्रान्सले प्रभावशाली जित निकालेको छ। समूह ‘आई’ को खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालामा भएको खेलको पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कुल चार गोल भएका थिए।

खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए।

दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि इब्राहिम एम्बायेले सान्त्वना गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। यद्यपि, त्यसको अर्को मिनेटमै फ्रान्सका लागि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–१ को स्थितिमा पुर्‍याए। यो जितसँगै फ्रान्सले महत्त्वपूर्ण ३ अङ्क बटुलेको छ।

यस खेलमा गरेका दुई गोलसँगै किलियन एम्बाप्पेको अन्तर्राष्ट्रिय गोल सङ्ख्या ५८ पुगेको छ। उनी ओलिभर जिरुड (५७ गोल) लाई पछि पार्दै आधिकारिक रूपमा फ्रान्सको इतिहासमै सबैभन्दा बढी गोल गर्ने सर्वकालीन खेलाडी बनेका छन्।

साथै, विश्वकपमा उनको व्यक्तिगत गोल सङ्ख्या १३ पुगेको छ। यो गोलले उनलाई लियोनेल मेस्सीको विश्वकप गोलको कीर्तिमानसँग बराबरी गराएको छ।

सेनेगल र फ्रान्स २४ वर्षपछि आमनेसामने भएका हुन्। यसअघि सन् २००२ को विश्वकपमा सेनेगलसँग १–० ले पराजित हुँदा फ्रान्स समूह चरणबाटै बाहिरिएको थियो ।

फ्रान्सले सन् २००२ को उद्घाटन खेलमा ब्यहोरेको त्यो हारको बदला अहिले न्यूजर्सी रङ्गशालामा लिँदै पुरानाे तीतो सम्झनालाई बिर्साएको छ।





Source link

Leave a Comment

Translate »