प्रकाशित मिति : १ असार २०८३, सोमबार

न्यूयोर्क स्टेट डिपार्टमेन्ट अफ स्टेटले अमेरिकामा वैधानिक हैसियत वा नागरिकताको प्रक्रियामा रहेका नयाँ आप्रवासीहरूलाई लक्षित गरी भइरहेका विभिन्न अध्यागमन ठगीविरुद्ध कडा चेतावनी जारी गरेको छ। जटिल अध्यागमन कानुनको फाइदा उठाउँदै ठगहरूले सर्वसाधारणको व्यक्तिगत विवरण र पैसा लुट्ने क्रम बढेपछि राज्यको उपभोक्ता संरक्षण विभाग र अफिस फर न्यू अमेरिकन्सले यसबाट बच्ने उपाय र टिप्सहरू सार्वजनिक गरेका छन्।
विशेष गरी अंग्रेजी भाषामा राम्रो दखल नभएका र भर्खरै अमेरिका आएका आप्रवासीहरू यस्ता ठगीको मुख्य निसानामा पर्ने गरेको विभागले जनाएको छ। न्यूयोर्कका सेक्रेटरी अफ स्टेट वाल्टर टी. मोस्लीले नियम कानुनको पालना गर्दै कडा मिहिनेत गरेर राम्रो भविष्यको सपना बुन्नेहरूमाथि यसरी शोषण गर्नु अमानवीय र निन्दनीय कार्य भएको बताउनुभएको छ। उहाँले सबैलाई सतर्क रहन, आधिकारिक स्रोतबाट मात्र जानकारी लिन र शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त रिपोर्ट गर्न आग्रह गर्नुभएको छ।
अमेरिकामा आईस, सीबीपी, यूएससीआईएस र ईओआईआर जस्ता विभिन्न निकायहरू सक्रिय रहेका कारण धेरै मानिस झुक्किने गर्छन् र ठगहरूले यिनै निकायका अधिकारी बनेर मानिसहरूलाई झुक्याउने गर्छन्। आधिकारिक सरकारी निकायहरूले सधैँ सरकारी पत्र वा तपाईंको अनलाइन एकाउन्ट मार्फत मात्र सम्पर्क गर्छन् र विरलै अवस्थामा ईमेल आए पनि त्यसको अन्त्यमा अनिवार्य रूपमा डट गभ हुन्छ।
यी निकायहरूले कहिल्यै पनि तपाईंलाई टेक्स्ट म्यासेज वा फेसबुक र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालबाट केसको बारेमा कुरा गर्दैनन्। अध्यागमन अदालतले भर्चुअल सुनुवाइ गर्दा केवल सिस्को वेबेक्स (एप प्रयोग गर्छ र जुम, ह्वाट्सएप, वा फेसबुक मेसेन्जर कहिल्यै प्रयोग हुँदैन।
साथै, यी अधिकारीहरूले कहिल्यै पनि नगद, जेल, भेन्मो, एप्पल पे वा क्रिप्टोकरेन्सीबाट आवेदन शुल्क माग्दैनन्। कतिपय अवस्थामा ठगहरू घर वा कार्यस्थलमै पुगेर आफूलाई संघीय एजेन्ट दाबी गर्दै देशनिकाला गर्ने धम्की दिएर पैसा असुल्ने प्रयास गर्छन्, तर त्यस्तो बेला अदालतको वारेन्ट र परिचयपत्र नहेरी ढोका खोल्न कोही पनि बाध्य हुँदैनन्।
पछिल्लो समय सामाजिक सञ्जालमा नाम चलेका ल फर्म वा गैरनाफामूलक संस्थाको लोगो प्रयोग गरेर नक्कली वकील बन्ने र अनलाइनमार्फत नक्कली अन्तर्वार्ता सेट गरेर हजारौँ डलर ठग्ने क्रम पनि बढेको छ। न्यूयोर्क स्टेटको एकीकृत अदालत प्रणालीको वेबसाइटमा गएर सम्बन्धित वकीलको नाम र लाइसेन्सको आधिकारिकता नि:शुल्क जाँच गर्न सकिन्छ।
कतिपय अवस्थामा विभिन्न लिंक, फोन वा ईमेल पठाएर ‘भिसामा समस्या छ’ भन्दै तुरुन्त पैसा तिर्न वा बैंकिङ विवरण माग्ने फिसिङ स्क्यामहरू भइरहेका हुन्छन्। अमेरिकामा नोटरी पब्लिकहरू वकील नभएकाले उनीहरूले अध्यागमनको कानुनी सल्लाह दिन वा अदालतमा प्रतिनिधित्व गर्न पाउँदैनन्। यूएससीआईएसको वेबसाइटमा सबै अध्यागमन फारमहरू नि:शुल्क पाइने भएकाले फारम डाउनलोड गरेकै पैसा माग्नेहरूसँग सावधान रहनुपर्छ।
यसबाहेक डिभी चिट्ठा पूर्ण रूपमा नि:शुल्क छ र कसैले पनि पैसा लिएर डिभी पारिदिन सक्दैन। पहिले नै पैसा मागेर जागिर लगाइदिने नक्कली प्रलोभन वा अनुमति नलिई सञ्चालन भएका नक्कली ट्रेनिङ सेन्टरहरूबाट बच्न पनि आग्रह गरिएको छ।
यदि तपाईं वा तपाईंको चिनजानको कोही यस्तो ठगीमा पर्नुभएको छ वा अध्यागमन सम्बन्धी कुनै पनि निःशुल्क सहयोग चाहिएको छ भने अफिस फर न्यू अमेरिकन्सको न्यू अमेरिकन्स हटलाइन नम्बर १-८००-५८८-७६३६ मा सम्पर्क गर्न सक्नुहुन्छ। यो हटलाइन सेवा सोमबारदेखि शुक्रबार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म र शनिबार-आइतबार बिहान ९ बजेदेखि दिउँसो ५ बजेसम्म उपलब्ध रहन्छ।
यो हटलाइन पूर्ण रूपमा गोप्य रहने भएकाले तपाईंको अध्यागमन हैसियत जे सुकै भए पनि ढुक्क भएर सहयोग लिन सकिन्छ। तपाईंले यो हटलाइनमा फोन गरेर ठगीको रिपोर्ट पनि गर्न सक्नुहुन्छ, जसलाई ओएनएले न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालय वा स्थानीय जिल्ला सरकारी वकीलको कार्यालयमा पठाइदिनेछ।
सन् २०१२ मा स्थापना भएको ओएनए अमेरिकाकै पहिलो कानुनी रूपमा स्थापित आप्रवासी सेवा कार्यालय हो, जसले न्यूयोर्कभर रहेका संस्थाहरूको नेटवर्क मार्फत हालसम्म ७ लाख ५० हजारभन्दा बढी नयाँ आप्रवासीहरूलाई निःशुल्क सेवा र परामर्श प्रदान गरिसकेको छ।
