विश्वकप २०२६ सुरक्षाका लागि अमेरिकामा ९ सय मिलियन डलरभन्दा बढीको प्याकेज



प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार

photo: Fauzan Saari/Unsplash

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामूहिक देश निकाला अभियानको नेतृत्व गरिरहेको मुख्य सरकारी निकायले नै यतिबेला विश्वकपका लागि आउने लाखौँ विदेशी आगन्तुकहरूलाई स्वागत गर्ने तयारी तीव्र पारेको छ। आगामी जुन १२ मा लस एन्जलसबाट सुरु भई एक महिनाभन्दा बढी समय चल्ने ७८ वटा खेलहरूले अमेरिकामा विदेशीहरूको ठुलो लहर ल्याउने निश्चित छ। यद्यपि, यी आगन्तुकहरूले गत वर्षदेखि नै व्यापक आक्रोश र वैश्विक आलोचना खेपिरहेको अमेरिकी अध्यागमन प्रणालीको प्रत्यक्ष सामना गर्नुपर्ने हुनाले यो विषय निकै संवेदनशील र बहुप्रतीक्षित बनेको छ।

वर्तमान राजनीतिक परिस्थितिका कारण अधिकारकर्मी, फुटबल प्रशंसक र फिफाका पूर्व अध्यक्षले समेत अमेरिका यात्रा गर्दा रङ्गीभेद, कडा डिजिटल निगरानी र आइसको नियन्त्रणमा परिने डर हुन सक्ने भन्दै प्रशंसकहरूलाई सचेत गराएका छन्। तर,होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिनले यी चिन्ताहरूलाई खारेज गर्दै खेल मैदानहरूमा आप्रवासीहरूलाई पक्राउ गर्न आइसको टोली परिचालन नहुने प्रस्ट पारेका छन्। मुलिनका अनुसार आइसको मुख्य काम ठुला खेलकुद प्रतियोगिताहरूमा देखिने नक्कली उत्पादन, नक्कली टिकट, र जर्सीहरूको अवैध बिक्री वितरण जस्ता गैरकानूनी गतिविधिको निगरानी र नियन्त्रण गर्नु हो।

अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहे पनि ट्रम्प प्रशासनले खेलाडी, सहयोगी कर्मचारी र प्रशंसकहरूको यात्रा सहज बनाउन आफ्ना कतिपय कडा कानुनी अध्यागमन प्रतिबन्धहरूमा लचकता अपनाएको छ। यसै रणनीति अन्तर्गत, अमेरिकाको यात्रा प्रतिबन्धको सूचीमा रहेका इरान र हाइटीका फुटबल टोलीहरूले समेत यसै गृष्म ऋतुमा प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै, अल्जेरिया, काबो भर्डे, कोटे डी आइभोरी, सेनेगल र ट्युनिसियाका प्रशंसकहरूले म्याचको वैध टिकट देखाएमा, भिसा ओभरस्टे रोक्न तोकिएको १५,००० डलरको भिसा बन्ड बुझाउनु पर्ने बाध्यात्मक व्यवस्थाबाट छुट पाउनेछन्।

समग्रमा, ११ वटा अमेरिकी सहरहरूमा आयोजना हुन लागेको यो प्रतियोगिता महादेशमै ७८ वटा ‘सुपर बाउल’ एकैसाथ सञ्चालन गरे सरह हो। मन्त्री मुलिनले पद सम्हालेको मात्र १० हप्ताको छोटो अवधिमै सुरु हुन लागेको यस महाकुम्भमा सुरक्षा जोखिम अत्यन्तै उच्च रहेको स्वीकार गरेका छन्। यसैकारण होमल्यान्ड सेक्युरिटी अन्तर्गतका विभिन्न विशिष्ट निकायहरू सुरक्षा व्यवस्था चुस्त बनाउन अहोरात्र खटिएका छन्।

यस सुरक्षा रणनीति अन्तर्गत, प्राकृतिक विपद् अनुगमन गर्ने संघीय आपत्कालीन व्यवस्थापन एजेन्सीको केन्द्रलाई नै विश्वकपको मुख्य कमान्ड सेन्टरमा रूपान्तरण गरिएको छ। फेमाले स्थानीय सरकारहरूलाई प्रहरीको ओभरटाइम सुरक्षाका लागि ६२५ मिलियन डलर र ड्रोन विरोधी प्रविधिको विकासका लागि २५० मिलियन डलर अनुदान समेत विनियोजन गरिसकेको छ। त्यसैगरी, लस एन्जलस स्टेडियम जस्ता तटीय क्षेत्रमा हुने खेलहरूको सुरक्षा कमान्ड कोस्ट गार्डले सम्हाल्नेछ भने भन्सार तथा सीमा सुरक्षा निकायले ५९ लाखभन्दा बढी इलेक्ट्रोनिक आवेदनहरू प्रशोधन गर्दै आगन्तुकहरूको सुरक्षित मार्गप्रशस्त गर्नेछ।

विमानस्थलको अत्यधिक भीडभाड व्यवस्थापन र सुरक्षा जाँचको जिम्मा यातायात सुरक्षा प्रशासनले लिएको छ भने आइसको आन्तरिक सुरक्षा अनुसन्धान टोलीले खेलकुदका बेला बढ्न सक्ने मानव बेचबिखन र नक्कली सामानको डम्पिङ रोक्न विशेष अपरेसन चलाउनेछ। यता, साइबर सुरक्षा तथा पूर्वाधार सुरक्षा एजेन्सीले फिफाका नक्कली वेबसाइटहरू बन्द गराउने र विगतका संस्करण झैँ हुन सक्ने साइबर आक्रमण रोक्न डिजिटल पर्खाल खडा गर्नेछ। यदि राष्ट्रपति ट्रम्प आफैँ खेल हेर्न रंगशाला उपस्थित भएमा उनको सुरक्षाका लागि ‘सेक्रेट सर्भिस’ पूर्ण रूपमा सक्रिय हुनेछ।

ह्वाइट हाउसका प्रवक्ता डेभिस इङ्गलका अनुसार, यो एक ऐतिहासिक र विशाल कार्यक्रम हो, जसका लागि ट्रम्प प्रशासन, फिफा र संघीय, राज्य तथा स्थानीय साझेदारहरूबीच बलियो र अभूतपूर्व समन्वय भइरहेको छ। राष्ट्रपति ट्रम्पको मूल ध्येय यो प्रतियोगितालाई विश्वभरका प्रशंसक र आगन्तुकहरूका लागि अविस्मरणीय मात्र नभई इतिहासकै सबैभन्दा सुरक्षित र व्यवस्थित खेल उत्सव बनाउनु हो।





Source link

Leave a Comment

Translate »