अमेरिकामा मृत्यु भइसकेका व्यक्तिलाई पनि देशनिकालाको आदेश



प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार


अमेरिकाको नर्थ क्यारोलाइनाका एक न्यायाधीशले मृत्यु भइसकेका व्यक्तिलाई पनि देशनिकालाको आदेश दिएका छन्। लेभी मेन्डेज माल्डोनाडोको मृत्यु सन् २०२४ मै भइसकेको जानकारी पाउँदापाउँदै पनि अदालतमा उपस्थित नभएको भन्दै न्यायाधीशले यस्तो आदेश दिएका हुन्।

न्यायाधीश एमी लीले मेन्डेज माल्डोनाडोको अनुपस्थितिमै उनलाई देशनिकाला गर्ने फैसला सुनाएकी हुन्। होन्डुरसका नागरिक माल्डोनाडो १७ वर्षको उमेरमा एक्लै अमेरिका छिरेका थिए।

सन् २०२४ को नोभेम्बरमा एक गोलीकाण्डमा उनको मृत्यु भइसकेको थियो। ती युवाको एसाइलम (शरणार्थी) र देशनिकाला विरुद्धको मुद्दा अदालतमा विचाराधीन थियो। पेसाले मेकानिक र एक सन्तानका पिता रहेका माल्डोनाडोको मुद्दाको प्रारम्भिक सुनुवाइ गत महिनाका लागि तय भएको थियो।

सुनुवाइमा वकिलले अदालतमा उपस्थित भएर सुरुमै न्यायाधीश लीलाई आवेदकको मृत्यु भइसकेको जानकारी दिँदै प्रहरी रिपोर्ट प्रमाणका रूपमा पेस गरेकी थिइन्। तर, न्यायाधीशले उक्त प्रहरी रिपोर्टलाई मृत्युको पर्याप्त प्रमाण मान्न अस्वीकार गरिन्, जबकि २०२४ मै उनको मृत्यु दर्ता प्रमाणपत्र समेत जारी भइसकेको थियो। न्यायाधीश र सरकारी वकिलले मृत्युको तथ्यलाई पूर्ण रूपमा बेवास्ता गर्दै सामान्य रूपमै सुनुवाइ अगाडि बढाएका थिए।

यो सबै प्रक्रिया करिब ५ मिनेट मात्र चलेको थियो। मान्छेको मृत्युको कुरा गर्दा पनि न्यायाधीशको अनुहारमा कुनै भाव नआएको वकिलको भनाइ छ। अदालतको आदेशमा भनिएको छ, “लिखित सूचना दिँदादिँदै पनि प्रतिवादी अदालतमा उपस्थित नभएको र अनुपस्थित हुनुको कुनै विशेष कारण पनि पेस नगरिएकाले अदालतले उनको अनुपस्थितिमै सुनुवाइ प्रक्रिया पूरा गरेको हो।” फैसलामा उनको मृत्युबारे कतै पनि उल्लेख गरिएको छैन।

अदालतको यस्तो व्यवहार देखेर अचम्ममा परेकी वकिलले यसलाई ‘क्रूरताको पराकाष्ठा’ बताएकी छिन्। न्यायाधीश लीले सन् २०२० देखि २०२५ सम्म आफ्ना ५५० एसाइलम मुद्दाहरूमध्ये झन्डै ९० प्रतिशत अस्वीकार गरेकी छिन्। अध्यागमन नियम २३९(२) बमोजिम आवेदकको मृत्यु भएको खण्डमा मुद्दा खारेज गर्न सकिने स्पष्ट प्रावधान छ।





Source link

Leave a Comment

Translate »