अमेरिकाबाट मे महिनामा १५ नेपाली मात्र डिपोर्ट, ट्रम्पले कार्यभार सम्हालेयताकै न्यून



प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार


अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेका वा विभिन्न कानुनी प्रक्रिया पूरा नभएका आप्रवासीहरूमाथि अमेरिकी सरकारले डिपोर्टेसन अभियानलाई तीव्र बनाइरहेका बेला मे महिनाको तथ्यांकमा भने एउटा ठूलो र अनपेक्षित बदलाव देखिएको छ।

विगत केही महिनादेखि आक्रामक रूपमा नेपालीहरूलाई फर्काइरहेको अमेरिकी प्रशासनको यो अभियान मे महिनामा आइपुग्दा अचानक सुस्त बनेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार गत मे महिनामा अमेरिकाबाट जम्मा १५ जना नेपाली मात्र डिपोर्ट भएर स्वदेश फर्किएका छन्। यो संख्या अघिल्ला महिनाहरूको तुलनामा निकै कम हो।

डिपोर्ट हुने कुल १५ जनामध्ये १३ जना पुरुष र २ जना महिला छन्। तीमध्ये ७ जना नेपाली अमेरिकास्थित नेपाली दूतावास वा कूटनीतिक निकायबाट ‘ट्राभल डकुमेन्ट’ बनाएर नेपाल फर्किएका हुन् भने ८ जना आफ्नै नियमित र वैध नेपाली पासपोर्टमार्फत डिपोर्ट भई नेपाल आइपुगेका हुन्।

यसअघि अप्रिल महिनामा अमेरिकाले विशेष चार्टर उडानमार्फत एकैपटक ४५ जना नेपालीहरूलाई डिपोर्ट गरी काठमाडौँ उतारेको थियो, जसका कारण नेपाली समुदायमा एक प्रकारको त्रास र चिन्ता पैदा भएको थियो। तर, मे महिनामा भने अमेरिकाबाट नेपालका लागि कुनै पनि चार्टर उडान भएन। मे महिनामा डिपोर्ट भएका सबै १५ जना नेपाली विभिन्न व्यावसायिक एयरलाइन्सको नियमित उडानमार्फत नेपाल आइपुगेका हुन्।

अध्यागमन विभागले खसोखासलाई दिएको जानकारीअनुसार मार्च महिनामा जम्मा ४३ जना नेपाली डिपोर्ट भएका थिए, जसमध्ये २ जना मात्र महिला थिए।

त्यस्तै, जनवरी महिनामा १०१ जना डिपोर्ट भएका थिए, जसमध्ये ४ जना मात्र महिला थिए। फेब्रुअरी महिनामा चार्टर्ड विमानमार्फत ९५ जना फर्काइएका थिए, जसमध्ये ३ जना मात्र महिला थिए। यसअघि नोभेम्बर महिनामा ८० जना र डिसेम्बर महिनामा ९५ भन्दा बढी नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए।

जनवरी २०२६ मा एकै पटक ८० जना नेपाली (७९ पुरुष र १ महिला) चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएका थिए। डिसेम्बर २०२५ मा एकै दिन ७५ जना (६९ पुरुष र ६ महिला) डिपोर्ट भएका थिए। नोभेम्बर महिनामा पनि ८० जना नेपाली डिपोर्ट भएका थिए।

सन् २०२५ मा अमेरिकाबाट डिपोर्ट हुने नेपालीको मासिक संख्या फेब्रुअरीमा १८ जना, मार्चमा ३२ जना, अप्रिलमा २६ जना, मेमा ५८ जना, जुनमा ४२ जना, जुलाईमा १७ जना, अगस्टमा १६ जना, सेप्टेम्बरमा ५३ जना र अक्टोबरमा ३८ जना रहेको थियो।





Source link

Leave a Comment

Translate »