प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार

(फोटो सौजन्य: होमल्याण्ड सेक्युरिटी/तिया दुफोर)
अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका सेक्रेटरी मार्कवेन मुल्लिनले ट्रम्प प्रशासनको आप्रवासन नीतिविरुद्ध आउने अदालतका आदेशहरू पालना गर्ने प्रतिबद्धता जनाउन अस्वीकार गरेका छन्। मंगलबार आयोजित संसदीय सुनुवाइमा एक प्रमुख डेमोक्र्याटिक सिनेटरको कडा प्रश्नको सामना गर्ने क्रममा उनले यस्तो अडान लिएका हुन्।
रिपब्लिकन नेतृत्वमा भइरहेको आप्रवासीहरू विरुद्धको कडा कारबाहीलाई लिएर संसद्मा दलीय तनाव प्रस्ट देखिएको थियो। अमेरिकी सिनेट विनियोजन उपसमितिका शीर्ष डेमोक्र्याट सिनेटर क्रिस मर्फीले मन्त्री मुल्लिनलाई संघीय न्यायाधीशहरूको निर्णय पालना गर्ने ग्यारेन्टी दिन बारम्बार दबाब दिएका थिए। मर्फीले ट्रम्प प्रशासनले विगतमा पनि अदालतका आदेशहरू उल्लंघन गरेको आरोप लगाए।
जवाफमा मन्त्री मुल्लिनले भने, “यदि अदालतहरू राजनीतिकरण भएका छैनन् भन्ने लाग्थ्यो भने सायद मैले यसको सीधा जवाफ दिन्थेँ होला। तर हामीले बारम्बार अदालतहरूले आफ्नो इजलासलाई राजनीतिक विचार लाद्न प्रयोग गरेको देखिरहेका छौँ।”
सिनेटर मर्फीले अदालतको फैसला अस्वीकार गर्दा कानुनी शासन नै धराशयी हुन सक्ने चेतावनी दिए। उनले थपे, “यस समितिमा रहेका रिपब्लिकन वा डेमोक्र्याट जोसुकै भए पनि यो स्थितिबाट गम्भीर रूपमा सशङ्कित हुनुपर्छ।”
यो सार्वजनिक बहस यस्तो समयमा भएको हो, जब रिपब्लिकनहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘सामूहिक देश निकाला’ अभियानका लागि आगामी तीन वर्षमा थप ७२ अर्ब डलर बजेट माग गरिरहेका छन्। यो रकम सन् २०२५ मा पारित बजेटमा आप्रवासन नियन्त्रणका लागि छुट्याइएको ऐतिहासिक १७० अर्ब डलरभन्दा अतिरिक्त हो।
ओक्लाहोमाका पूर्व सिनेटर मुल्लिन गत मार्चमा गृहमन्त्री बनेका हुन्। उनले ट्रम्पको आप्रवासन नीतिलाई अलि शान्त र कम प्रचारबाजी शैलीमा निरन्तरता दिने वाचा गरेका थिए।
तर, गत हप्ता मात्रै उनले न्युजर्सीका स्थानीय अधिकारीहरूले आप्रवासी हिरासत केन्द्र वरपरको क्षेत्र सुरक्षित गर्न सहयोग नगरे नेवार्क विमानस्थलको अन्तर्राष्ट्रिय उडान नै बन्द गरिदिने धम्की दिएका थिए। फुटबल विश्वकप सुरु हुन दुई हप्ताभन्दा कम समय बाँकी रहँदा आएको यो धम्कीको पर्यटन र उड्डयन क्षेत्रले ठूलो विरोध गरेको छ।
सिनेट बैठकको सुरुमा मुल्लिनले आफ्नो लिखित मन्तव्य परिमार्जन गर्दै डेमोक्र्याटहरूलाई आइस र सीमा सुरक्षा बलका लागि बजेट स्वीकृत गर्न आग्रह गरे। “तपाईंहरूले मेरा अधिकारीहरूलाई बजेट दिनुभएको छैन,” उनले भने, “तैपनि संघीय आप्रवासन अधिकारीहरूले निःशुल्क काम गर्न तत्परता देखाइरहेका छन्।”
ट्रम्प प्रशासनको आक्रामक कारबाहीका क्रममा सुरक्षा एजेन्टहरूले आवासीय क्षेत्रहरूमा अश्रुग्यास प्रहार गरेको, बालबालिकाकै अगाडि अभिभावकहरूलाई पक्राउ गरेको र कारमा उनीहरूलाई पछ्याउने अमेरिकी नागरिकहरूलाई समेत हिरासतमा लिएको घटना सार्वजनिक भएपछि डेमोक्र्याटहरूले आप्रवासन प्रवर्तनमा सुधारको माग गर्दै आएका छन्। यसअघि भएका धेरै गल्ती र अपराधहरूका लागि सम्बन्धित व्यक्तिहरूलाई जवाफदेही बनाउन प्रमाणहरू जुटाउने प्रयास भइरहेको छ।
मुल्लिनभन्दा अघिकी गृहमन्त्री क्रिस्टी नोएमले अमेरिकी सहरहरूमा ठूलो संख्यामा संघीय एजेन्टहरू परिचालन गरेकी थिइन्। साथै रिपब्लिकन कार्यकर्ताहरूलाई संघीय ठेक्का दिएकोमा उनको आलोचना समेत भएको थियो। मिनीयापोलिसमा संघीय एजेन्टहरूको गोली लागेर दुई अमेरिकी नागरिकको मृत्यु भएपछि र आप्रवासन नीतिको जनसमर्थन घट्दै गएपछि ट्रम्पले नोएमलाई पदबाट बर्खास्त गरेका थिए।
सिनेटर मर्फीले मुल्लिनले प्रशासनको उग्र शैली सुधार्ने वाचा गरे तापनि आप्रवासन प्रवर्तनको शैलीमा कुनै सुधार नआएको बताए। “केही पनि सुधारिएको छैन, मर्फीले भने, यो एजेन्सीले हरेक दिन संविधान र कानुनको उल्लंघन गरिरहेको छ।
