विश्वभर ४ करोड बालबालिका सुर्तीजन्य पदार्थको उच्च जोखिममा, नेपालमा वार्षिक ३९ हजारको मृत्यु



प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार

फोटो : रासस

विश्वभर चार करोड बालबालिका सुर्तीजन्य पदार्थको जोखिममा रहेको एक अध्ययनले देखाएको छ। अध्ययनले एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा रहेको औँल्याएको हो।

डब्ल्युएचओका अनुसार तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बसोबास गर्छन्। नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक ३९ हजार जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ।

विश्वमा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन्। जसमा करिब १२ लाख जनाको मृत्यु निष्क्रिय धूमपानका कारण हुने गरेको छ।

पछिल्ला वर्षहरूमा सुर्तीजन्य पदार्थको प्रयोग घट्दै गए पनि अझै विश्वका पाँचमध्ये एक वयस्क कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न हुने गरेको छ।

सङ्गठनका अनुसार विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका कम्तीमा चार करोड बालबालिकाले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्। विद्युतीय चुरोट (ई–सिगरेट) र निकोटिन पाउचको प्रयोग युवा पुस्तामाझ निरन्तर बढिरहेको छ।

विशेषगरी स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच तथा अन्य निकोटिनजन्य उत्पादनमार्फत तिनले किशोर र युवालाई अम्मली बनाएको सङ्गठनको भनाइ छ।

डब्ल्युएचओका स्वास्थ्य निर्धारक, प्रवर्द्धन तथा रोकथाम विभागका निर्देशक डा. एटिएन क्रुगले सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष लाखौँ मानिसको मृत्यु भइरहे पनि ठूला कम्पनीहरूले आफ्नो व्यापारिक रणनीति परिवर्तन गर्दै नयाँ पुस्तालाई निकोटिनको लतमा फसाउने प्रयास गरिरहेको बताए।

निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले विशेषगरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर तथा युवाका लागि यसको असर गम्भीर हुन सक्ने डब्ल्युएचओले जनाएको छ।

हाल विश्वभर १० करोडभन्दा बढी मानिसले ई–सिगरेट प्रयोग गर्ने अनुमान गरिएको छ। किशोर उमेर समूहमा यसको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ। प्रतिवेदनअनुसार विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी तथा नियमनको व्यवस्था छैन।

विश्वव्यापी रूपमा यसको बिक्री तीव्र गतिमा बढिरहे पनि पर्याप्त नियमन नहुँदा लाखौँ मानिस जोखिममा छन्।





Source link

Leave a Comment

Translate »