सिकागोमा आइसविरोधी प्रदर्शनमा पक्राउ परेका ४ जनाको आपराधिक अभियोग फिर्ता



प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार

सेप्टेम्बर २७, २०२५ मा आइस एजेन्टहरू र प्रदर्शनकारीहरू । फोटो: पल गोयेट, सीसी बाइ ४.० (CC BY 4.0),

सिकागोका अमेरिकी सरकारी वकिल एन्ड्रयू बुट्रोसले गत वर्ष इलिनोइको ब्रोडभ्युस्थित एक हिरासत केन्द्र बाहिर विरोध प्रदर्शनका क्रममा पक्राउ परेका चार जना विरुद्धका आपराधिक आरोपहरू आफ्नो कार्यालयले फिर्ता लिएको घोषणा गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमन विरोधी धरपकडका क्रममा विवादको केन्द्र बनेको ब्रोडभ्यु केन्द्रको सो घटनालाई लिएर आगामी मंगलबार, मे २६ देखि अदालतमा सुनुवाइ सुरु हुने तय भएको थियो। अभियोजन पक्षको यो निर्णयसँगै जस्टिस डिपार्टमेन्टको यो मुद्दा पनि असफल सावित भएको छ।

सरकारी वकिल बुट्रोसले बुधबार संघीय न्यायाधीशसमक्ष क्यट अबुघाजालेह, आन्द्रे मार्टिन, माइकल र्याबिट र ब्रायन स्ट्र विरुद्धका आरोपहरू पूर्ण रूपमा खारेज गरिएको जानकारी दिए, अब उनीहरू विरुद्ध सोही मुद्दामा पुनः अभियोग दर्ता गर्न पाइने छैन। आरोपमुक्त भएकी अबुघाजालेह पूर्व पत्रकार हुन् भने उनी हालै अमेरिकी तल्लो सदनका लागि डेमोक्रेटिक पार्टीको प्राथमिक निर्वाचनमा पराजित भएकी थिइन्।

पक्राउ परेका ती चार जनाले संघीय अधिकारीको काममा बाधा पुर्‍याएको सम्बन्धी सामान्य कसुरको आरोप खेपिरहेका थिए। यसअघि गत महिना सरकारी वकिलहरूले उनीहरू विरुद्धको गम्भीर षड्यन्त्रको अभियोग खारेज गरिसकेका थिए। उनीहरू ‘ब्रोडभ्यु सिक्स’ भनिने ६ जनाको समूहका सदस्य हुन्, जसमध्ये अन्य दुई जना—क्याथरिन शार्प र जोसेलिन वाल्सको मुद्दा यसै वर्षको सुरुवातमै खारेज भइसकेको थियो।

आरोपमुक्त भएपछि ओक पार्क उपनगरका भिल्लेज बोर्ड सदस्य तथा ग्रीनबर्ग ट्रौरिग ल फर्मका सेयरधनी ब्रायन स्ट्रले एक विज्ञप्ति जारी गर्दै आफूहरू दोषमुक्त भएकोमा राहत महसुस भएको बताएका छन्। यद्यपि, विगत सात महिनादेखि अन्यायपूर्ण संघीय आरोप विरुद्धको यो लडाइँ आफ्नो वा सह-प्रतिवादीहरूको मात्र नभएर नागरिक हकको सवाल भएको उनले उल्लेख गरेका छन्।

अभियोजन पक्षले गत सेप्टेम्बर २६ को विरोध प्रदर्शनका क्रममा अबुघाजालेह र अन्य प्रदर्शनकारीहरूले एक संघीय एजेन्टले चलाएको सरकारी गाडीलाई घेरेर ब्रोडभ्यु केन्द्रमा प्रवेश गर्न बाधा पुर्‍याएको आरोप लगाएको थियो। उनीहरूले गाडीमा हिर्काएको, धक्का दिएको, गाडीको बडीमा सुँगुर शब्द कोरेको र पछाडिको विन्डशिल्ड वाइपर भाँचेको दाबी गरिएको थियो।

तर, प्रतिवादीका वकिलहरूले आफ्ना ग्राहकहरूले केवल आफ्नो मौलिक अधिकारको प्रयोग गर्दै मानव अधिकारको रक्षाका लागि आवाज उठाएको र सोही कारण उनीहरूलाई कारागार पठाउने धम्की दिइएको बताएका छन्।

ट्रम्प प्रशासनको ‘अपरेशन मिडवे ब्लिट्ज’ नामक धरपकड अभियानका क्रममा सेप्टेम्बरदेखि डिसेम्बरसम्ममा हजारौँ मानिस पक्राउ परेका थिए। सो अवधिमा संघीय अध्यागमन एजेन्ट र प्रदर्शनकारीहरूबीच तीव्र झडप भएका थिए, जसमा एजेन्टहरूको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका थिए।

एजेन्टहरूले ब्रोडभ्यु केन्द्र बाहिर दैनिकजसो अश्रुग्यास, पेपर बल र रबरको गोली प्रहार गरेका थिए। यस विषयमा इलिनोइ राज्यका गभर्नर जेबी प्रित्जकरद्वारा गठित एक स्वतन्त्र आयोगले संघीय एजेन्टहरूको दुर्व्यवहारमाथि स्थानीय अभियोजकहरूलाई अनुसन्धान गर्न सिफारिस समेत गरेको छ।





Source link

Leave a Comment

Translate »