इरानसँगको तनावका बीच अमेरिकी सेना प्रमुख पदमुक्त



प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार


अमेरिकाका रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाका प्रमुख रेन्डी जर्जलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।

पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै जर्जले तत्काल लागू हुने गरी आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।

उनले जर्जलाई अमेरिकाको ४१औँ सेना प्रमुखका रूपमा सेवा गरेकोमा धन्यवाद दिँदै उनको योगदानको प्रशंसा गरेका छन्।

सामान्यतया सेना प्रमुखको कार्यकाल चार वर्षको हुने भए पनि जर्जले आफ्नो कार्यकाल पूरा गर्न पाएनन्। उनी एक अनुभवी सैनिक अधिकारी र वेस्ट पोइन्ट सैन्य एकेडेमीका स्नातक हुन्। उनलाई सन् २०२३ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले उक्त पदमा नियुक्त गरेका थिए।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका, इजरायल र इरानबीचको युद्ध चाँडै अन्त्य हुने बताइरहेका बेला यस्तो निर्णय बाहिर आएको हो।

रेन्डी जर्जले पहिलो खाडी युद्धका साथै इराक र अफगानिस्तानका युद्धहरूमा पनि सक्रिय रूपमा सेवा गरेका थिए। उनलाई किन हटाइयो भन्नेबारे स्पष्ट कारण भने खुलाइएको छैन।

उनको स्थानमा सेना उपप्रमुख जनरल क्रिस्टोफर लानेभले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने बताइएको छ। प्रवक्ता पार्नेलका अनुसार लानेभ अनुभवी र युद्धमा खारिएका नेता हुन्, जसमाथि रक्षा मन्त्रीले पूर्ण रूपमा विश्वास गरेका छन्।

यसैबीच, वेस्ट पोइन्ट सैन्य एकेडेमीले जर्जले सैनिक प्रशिक्षार्थीहरूसँग भेटघाट गर्दै आफ्ना अनुभवहरू बाँडेको जानकारी पनि दिएको छ।

हेगसेथले जिम्मेवारी सम्हालेपछि नौसेना प्रमुखदेखि वायुसेनाका उच्च अधिकारीसम्म गरी एक दर्जनभन्दा बढी सैनिक अधिकारीहरूलाई हटाइसकेको जनाइएको छ।





Source link

Leave a Comment

Translate »