कुवेतमा अलपत्र परेका ३१८ नेपाली स्वदेश फिर्ता, ल्याइएका ९ शव परिवारको जिम्मा लगाइने



प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार

तस्बिर : राधेश्याम विश्वकर्मा/रासस

अमेरिका र इजरायलले इरानमा हमला गरेपछि सुरु भएको मध्यपूर्व युद्धका कारण अलपत्र परेका ३१८ जना नेपाली स्वदेश फर्किएका छन्।

कुवेतमा अलपत्र परेका नेपालीहरूलाई लिएर आएको कुवेत एयरवेजको ‘बोइङ ७७७–३००’ चार्टर विमान बुधबार बेलुका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रबन्धक श्याम किशोर शाहले  जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त विशेष चार्टर उडानका लागि आवश्यक अनुमति प्रदान गरेको थियो। विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार मध्यपूर्वको द्वन्द्वका कारण नेपाल र कुवेतबीचको नियमित उडान प्रभावित हुँदा कुवेतस्थित नेपाली राजदूतावासको समन्वयमा अलपत्र परेकाहरूलाई नेपाल ल्याइएको हो।

गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण थालेपछि मध्यपूर्वमा रहेका अमेरिका समर्थित देशहरूमा पनि इरानले आक्रमण गरिरहेको छ। यस युद्धका कारण मध्यपूर्वका विभिन्न देशबाट नेपालतर्फ हुने उडानहरू प्रभावित हुँदै आएका छन्।

कुवेतमा विभिन्न कारणले निधन भएका ९ नेपाली नागरिकका शवसमेत सोही विमानमार्फत ल्याइएको छ। ३४५ सिट क्षमताको उक्त विमानमा ३१८ यात्रुसहित केही कार्गो ल्याइएको छ।

मृतकहरूको नामावली:

मृत्यु हुनेहरूमा रमेश कुमार मोचि (सिरहा), यमुना सुनार (सुर्खेत), कृष्ण राम्जा बुढा (सल्यान), सम्झना गोले (सिन्धुपाल्चोक), खुशीराम चौधरी (दाङ), रमेश नेपाली (तनहुँ), वसन्त राई (खोटाङ), कोपिला थामी (उदयपुर) र मन्जु मोक्तान पाख्रिन (सिन्धुली) रहेका छन्। शवलाई परिवारको जिम्मा लगाइने विमानस्थल कार्यालयले जनाएको छ ।





Source link

Leave a Comment

Translate »