प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार

अमेरिकाको टेक्सास राज्यस्थित स्यान एन्टोनियो नजिकै रहेको एक हाई स्कुलमा सोमबार बिहान एक १५ वर्षीय विद्यार्थीले आफ्नै शिक्षकलाई गोली हानी गम्भीर घाइते बनाएका छन्। ‘हिल कन्ट्री कलेज प्रिपरेटरी हाई स्कुल’मा भएको उक्त घटनापछि ती विद्यार्थीले आफूलाई पनि गोली हानेका थिए। प्रहरीका अनुसार घटनास्थलमै ती विद्यार्थीको मृत्यु भएको छ।
कोमल काउन्टी सेरिफ कार्यालयका अनुसार बिहान करिब साढे ८ बजे विद्यालय सुरु हुनुभन्दा केही मिनेट अघि यो घटना घटेको हो। दोस्रो तलामा गोली चलेको आवाज र विद्यार्थीहरूको चिच्याहट सुनिएपछि विद्यालयमा तुरुन्तै ‘लकडाउन’ गरिएको थियो। घाइते शिक्षकलाई तत्काल उपचारका लागि स्यान एन्टोनियोस्थित अस्पताल पुर्याइएपनि उनको अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
घटना लगत्तै विद्यार्थीहरूलाई सुरक्षित रूपमा नजिकैको बुल्भर्डे मिडिल स्कुलमा स्थानान्तरण गरी अभिभावकहरूसँग मिलन गराइएको थियो। सेरिफ मार्क रेनल्ड्सले यसलाई ‘एक्टिभ शूट’ भन्दा पनि ‘शूट’को घटनाका रूपमा व्याख्या गर्दै खतरालाई छिट्टै नियन्त्रणमा लिइएको बताए। विद्यालयकी प्रिन्सिपल जुली विलीले घटनाप्रति दुःख व्यक्त गर्दै मंगलबारका लागि कक्षाहरू स्थगित गरिएको र पीडित परिवारका लागि परामर्शदाताको व्यवस्था गरिएको जानकारी दिएकी छिन्।
टेक्सास रेन्जर्स र स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेका छन्। १५ वर्षीय किशोरले विद्यालयमा हतियार कसरी ल्याए र शिक्षकलाई नै निशाना बनाउनुको उद्देश्य के थियो भन्ने कुरा अझै खुल्न सकेको छैन।