प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार

बेलायतका राजा चार्ल्स तृतीय अप्रिल २७ देखि ३० सम्म अमेरिकाको औपचारिक (स्टेट) भ्रमणमा जाने भएका छन्। बकिङ्घम दरबार र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार यस भ्रमणको औपचारिक घोषणा गरेका हुन्।
यो भ्रमणले संयुक्त अधिराज्य (यूके) र संयुक्त राज्य अमेरिका (यूएस) बीचको ऐतिहासिक सम्बन्ध तथा आधुनिक द्विपक्षीय सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै, यसै वर्ष मनाइँदै गरेको अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवलाई पनि विशेष रूपमा चिनाउने लक्ष्य राखिएको छ।
राष्ट्रपति ट्रम्पका अनुसार राजा चार्ल्स र रानीले अप्रिल २८ को साँझ ह्वाइट हाउसमा आयोजना हुने भव्य राजकीय भोजमा सहभागिता जनाउनेछन्। “यो ऐतिहासिक अवसर अझ विशेष हुनेछ, किनकि हामी हाम्रो देशको २५०औँ वार्षिकोत्सव मनाउँदैछौं,” ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत बताएका छन्।
राजा बनेपछि चार्ल्स तृतीयको यो पहिलो अमेरिका भ्रमण हुनेछ। वेल्सका राजकुमार हुँदा भने उनले १९ पटक अमेरिका भ्रमण गरिसकेका थिए। उनकी आमा, स्वर्गीय महारानी एलिजाबेथ द्वितीयले सन् १९५७, १९७६, १९९१ र २००७ मा गरी चार पटक अमेरिकाको औपचारिक भ्रमण गरेकी थिइन्।
यसअघि राष्ट्रपति ट्रम्पले बेलायत भ्रमणका क्रममा विन्डसर महलमा आयोजित भव्य राजकीय भोजमा सहभागिता जनाएका थिए, जहाँ रानी क्यामिला, राजकुमार विलियम र राजकुमारी क्याथरिन पनि उपस्थित थिए।
तर, यो भ्रमण अमेरिका–बेलायत सम्बन्ध केही तनावपूर्ण अवस्थामा भइरहेको छ। राष्ट्रपति ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरले अमेरिका–इजरायलको संयुक्त इरान युद्धमा खुला समर्थन नजनाएको भन्दै आलोचना गर्दै आएका छन्। यद्यपि बेलायतले अमेरिकी रक्षात्मक सैन्य कारबाहीका लागि आफ्ना आधारहरू प्रयोग गर्न अनुमति दिएको छ।
यसैबीच, जेफ्री एपस्टाइनसँग सम्बन्धित विवादले पनि बेलायती राजदरबार र राजनीतिमा तरंग ल्याएको छ। राजा चार्ल्सले आफ्ना भाइ, पूर्व राजकुमार राजकुमार एन्ड्रयूका शाही उपाधि खोसेका छन्। एपस्टिन प्रकरणसँग सम्बन्धित खुलासापछि एन्ड्रूलाई सार्वजनिक पद दुरुपयोगको आशंकामा गत महिना पक्राउ गरिएको छ।
त्यस्तै, बेलायतका पूर्व राजदूत पिटर म्यान्डेलसनलाई पनि एपस्टिनसँगको सम्बन्धका कारण अनुसन्धानका क्रममा पक्राउ गरिएको खबर सार्वजनिक भएको छ।
अमेरिका भ्रमणपछि राजा चार्ल्स बर्मुडाको भ्रमणमा जाने कार्यक्रम रहेको छ। साथै, नेदरल्याण्ड्सका राजा विलेम-अलेक्जेन्डरले पनि जुन महिनामा वासिङ्टन भ्रमण गर्ने र ह्वाइट हाउसमा बस्ने योजना बनाएका छन्।