प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार
आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी मुख्य एजेन्डा अनुसार सामूहिक देश निकालालाई निरन्तरता दिए पनि यसको कार्यशैलीमा भने केही परिवर्तन देखिएको छ। सुरुवाती दिनमा निकै आक्रामक र विवादास्पद ढङ्गले प्रस्तुत भएको ट्रम्प प्रशासनले अहिले केही नरम देखिने तर भित्रभित्रै कडा कारबाही गर्ने रणनीति अपनाएको हो । ।
पछिल्लो समय आइस अधिकारीहरूले दुई अमेरिकी नागरिकको हत्या गरेपछि र त्यसको विरोधमा देशभर विरोध प्रदर्शन चर्किएपछि प्रशासनले केही उच्च अधिकारीहरूलाई जिम्मेवारीबाट हटाएको छ। यसअघि मास डिपोर्टेसनको नेतृत्व गरिरहेका बोर्डर प्याट्रोल कमाण्डर ग्रेगोरी बोभिनो र अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमलाई जिम्मेवारीबाट मुक्त गरेसँगै नीतिगत परिवर्तनको सङ्केत मिलेको हो।
अहिले ट्रम्पले टम होमनलाई बोर्डर जार र मार्कवेन मुलिनलाई नयाँ होमल्याण्ड सेक्युरिटी सेक्रेटरीका रूपमा नियुक्त गरेका छन्। मुलिनले सिनेटको सुनुवाइका क्रममा अध्यागमन अधिकारीहरूले कसैको घरमा प्रवेश गर्नुअघि अदालतको वारेन्ट अनिवार्य लैजानुपर्ने र स्याङ्चुअरी सिटीहरूसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्। यसले बोभिनो कालको छापा मार्ने र सहरहरूमा आतंक सिर्जना गर्ने शैलीमा केही कमी आउने अपेक्षा गरिएको छ।
यद्यपि, तथ्याङ्कले भने डिपोर्टेशनको रफ्तार अझै पनि उच्च रहेको देखाउँछ।आन्तरिक तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा दैनिक औसत १,११५ जनालाई पक्राउ गरिएको छ, जुन जो बाइडनको कार्यकालको अन्तिम वर्षको तुलनामा चार गुणा बढी हो। ट्रम्प प्रशासनले सन् २०२४ यता अध्यागमन अधिकारीहरूको सङ्ख्या पनि दोब्बर पारेको छ।
विश्लेषकहरूका अनुसार, ट्रम्प प्रशासनले अब ठुला र नाटकीय छापा मार्नुको सट्टा जेलबाट सिधै आप्रवासीहरूलाई हिरासतमा लिने र स्वैच्छिक रूपमा देश छोड्ने वातावरण सिर्जना गर्नेतर्फ ध्यान केन्द्रित गरेको छ। ४० लाखभन्दा बढी आप्रवासी मुद्दाहरू अदालतमा थुप्रिएका कारण र न्यायाधीशहरूको अभावले गर्दा प्रशासनले थुनामा राख्ने क्षमता विस्तार गरेर मानिसहरूलाई मनोवैज्ञानिक रूपमा त्रसित बनाउने रणनीति लिएको देखिएको हो ।