प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार

नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई अमेरिकाले बधाई तथा शुभकामना दिएको छ । शुक्रबार शाहले नेपालको प्रधानमन्त्री पदको शपथ लिएसँगै नेपालस्थित अमेरिकी दूतावासले बधाई तथा शुभकामना दिएको हो ।
अमेरिकी दूतावासले आपसी समृद्धि र क्षेत्रीय स्थिरता अगाडी बढाउन नेपालसँग सहकार्य अमेरिका उत्सुक रहेको जनाएको छ ।
‘नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई । अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ’, दूतावासले भनेको छ ।
नवनियुक्त प्रधानमन्त्री शाहले शुक्रबार दिउँसो नै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका थिए ।
प्रधानमन्त्री शाहको नेतृत्वको मन्त्रिपरिषद् १५ सदस्यीय छ । जसमा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरूङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्र मन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीको जिम्मेवारीमा छन् ।
त्यस्तै, खड्गराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुद मन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानी मन्त्री, डा विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् ।
साथै, प्रतिभा रावल सामान्य प्रशासन तथा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, गीता चौधरी कृषि तथा पशुपक्षी एवं वन तथा वातावारणमन्त्री, डा दीपक साह श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारीमा छन् ।
रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने हाल प्रधानमन्त्री शाहले आफैँ सम्हालेका छन् । नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार ग्रहण गरिसकेका छन् ।