प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार
मार्क जुकरबर्ग । तस्वीर : उनको फेसबुकबाट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) नीति निर्माण र प्रविधिसम्बन्धी रणनीतिमा सल्लाह दिन एक उच्चस्तरीय परिषद् गठन गरेका छन्। ह्वाइट हाउसले बुधबार सार्वजनिक गरेको जानकारीअनुसार परिषद्मा विश्वका ठूला प्रविधि कम्पनीका प्रमुख व्यक्तित्वहरू समावेश गरिएका छन्।
परिषद्मा मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग, ओरेकलका कार्यकारी अध्यक्ष ल्यारी एलिसन तथा एनभिडियाका सीईओ जेन्सेन हुआङ जस्ता प्रभावशाली व्यक्तिहरू समावेश छन्।
त्यसैगरी गुगलका सह–संस्थापक सर्गेई ब्रिन र एएमडीकी सीईओ लिसा सु समेत प्रारम्भिक १३ सदस्यीय टोलीमा रहेका छन्। यो परिषद् राष्ट्रपतिको विज्ञान तथा प्रविधि सल्लाहकार समूह (पीसीएएसटी)अन्तर्गत सञ्चालन हुनेछ।
राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा एआई क्षेत्रमा अमेरिकी नेतृत्व सुदृढ बनाउने लक्ष्य राखेका छन्। उनले यसलाई चीनसँगको रणनीतिक प्रतिस्पर्धाको प्रमुख क्षेत्रका रूपमा परिभाषित गरेका छन्।
पदभार सम्हालेको केही समयमै ट्रम्पले संघीय निकायहरूलाई एआई कार्ययोजना तयार गर्न निर्देशन दिएका थिए, जसको उद्देश्य नियामकीय अवरोध घटाउनु र निजी क्षेत्रको नवप्रवर्तनलाई तीव्र बनाउनु हो।
ह्वाइट हाउसका अनुसार, यो परिषद्ले विश्वव्यापी रूपमा तीव्र बन्दै गएको एआई प्रतिस्पर्धामा अमेरिकाको रणनीति तय गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। परिषद्मा आगामी दिनहरूमा थप सदस्यहरू पनि थपिने छन् भने कुल सदस्य संख्या २४ सम्म पुग्न सक्ने अनुमान गरिएको छ।
परिषद्को सह(अध्यक्षता ह्वाइट हाउसका एआई तथा क्रिप्टो प्रमुख डेभिड स्याक्स र प्रविधि सल्लाहकार माइकल क्र्याटसियोसले गर्नेछन्।