प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार

ट्रम्प प्रशासनले अवलम्बन गरेका नयाँ र कडा नीतिहरूका कारण सन् २०२५ को सुरुवाती आठ महिनामा अमेरिकाले जारी गर्ने भिसाको संख्यामा झन्डै साढे दुई लाखले गिरावट आएको छ। स्टेट डिपार्टमेन्टले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, सन् २०२४ को तुलनामा सन् २०२५ को जनवरीदेखि अगस्टसम्म स्थायी र अस्थायी भिसा जारी गर्ने दरमा ११ प्रतिशतले कमी आएको हो।
यस गिरावटले विशेषगरी विद्यार्थी, कामदार र अमेरिकी नागरिकका परिवारका सदस्यहरूलाई प्रत्यक्ष असर पारेको छ। सन् २०२५ को मार्चमा सार्वजनिक गरिएको यो तथ्यांकले अमेरिकाको कानुनी आप्रवासनको स्वरूप नै बदलिएको देखाएको छ।
अमेरिकी भिसामा आएको यो गिरावटको सबैभन्दा ठूलो मार भारत र चीनका नागरिकहरूलाई परेको छ। यी दुई देशका नागरिकलाई जारी गरिने भिसामा मात्रै करिब ८४ हजारले कमी आएको छ। विशेषगरी अन्तर्राष्ट्रिय विद्यार्थी, सांस्कृतिक आदानप्रदान र अमेरिकी नागरिकका श्रीमान/श्रीमती वा मंगेतरलाई दिइने भिसामा ठूलो कटौती भएको छ। यस्तै भियतनाम र फिलिपिन्सका नागरिकलाई दिइने भिसामा पनि १० हजारभन्दा बढीको गिरावट देखिएको छ।
सन् २०२५ को जुन महिनामा ट्रम्प प्रशासनले १९ वटा देशहरूमाथि यात्रा प्रतिबन्ध लगाएको थियो, जसमा अधिकांश मुस्लिम बाहुल्य देश र क्युबा जस्ता मुलुकहरू रहेका छन्। यसका साथै, भिसा आवेदन दिनेहरूको सामाजिक सञ्जाल जाँच गर्ने कडा प्रावधान र स्टेट डिपार्टमेन्टमा कर्मचारी कटौतीका कारण पनि भिसा प्रक्रिया सुस्त भएको छ। जसले गर्दा कन्सुलर अपोइन्टमेन्ट पाउन कठिन र प्रतीक्षा समय लामो हुँदै गएको छ।
ब्रुकिङ्स इन्स्टिच्युसनको अनुमानअनुसार, विगत आधा शताब्दीमा पहिलो पटक अमेरिका भित्रिनेभन्दा यहाँबाट बाहिरिने आप्रवासीहरूको संख्या बढी देखिएको छ। यसले अमेरिकाको श्रम बजार र रोजगारी सिर्जनामा समेत नकारात्मक असर पार्न थालेको अर्थविद्हरूले बताएका छन्। ओबामा प्रशासनका पूर्व अर्थविद् जेसन फुरम्यानका अनुसार, आप्रवासनमा लगाइएको यो प्रतिबन्धले भविष्यमा अमेरिकाको नवप्रवर्तन र उत्पादकत्वमा ह्रास ल्याउनेछ।
स्टेट डिपार्टमेन्टका प्रवक्ता टमी पिगोटले भिसा पाउनु अधिकार नभई एउटा विशेषाधिकार भएको बताउँदै ट्रम्प प्रशासनले अमेरिकी नागरिकको सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन्। ह्वाइट हाउसकी प्रवक्ता अबिगेल ज्याक्सनले पनि राष्ट्रपति ट्रम्पले “अमेरिकी नागरिकलाई पहिलो प्राथमिकता” दिने जनादेश पाएको र सोहीअनुसार नीतिहरू निर्माण गरिएको बताएकी छिन्।
अन्तर्राष्ट्रिय विद्यार्थीहरू यो नीतिबाट सबैभन्दा बढी प्रभावित भएका छन्। सन् २०२५ को पहिलो आठ महिनामा विद्यार्थी भिसामा ३० प्रतिशतभन्दा बढीले गिरावट आएको छ। साथै, अमेरिकी नागरिकका दाजुभाइ, दिदीबहिनी र वयस्क छोराछोरीलाई दिइने पारिवारिक भिसामा २७ प्रतिशतले कमी आएको छ। यद्यपि, अमेरिकी नागरिकका नजिकका नातेदार (श्रीमान/श्रीमती, साना केटाकेटी र आमाबुबा) लाई दिइने ग्रीनकार्डमा भने ६ प्रतिशतको सामान्य वृद्धि देखिएको छ।