सोमबारदेखि अमेरिकी एयरपोर्टहरूमा आइस एजेन्ट परिचालन गर्ने ट्रम्पको तयारी



प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सोमबारदेखि अमेरिकाका विभिन्न विमानस्थलहरूमा ‘आइस’ एजेन्टहरू परिचालन गर्ने तयारी गरेका छन्। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको कोषका विषयमा सिनेटमा रिपब्लिकन र डेमोक्र्याटहरूबीच उत्पन्न गतिरोधका कारण यो स्थिति सिर्जना भएको हो।

ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, “यदि डेमोक्र्याटहरूले हाम्रा विमानस्थल र देशका अन्य स्थानमा उचित सुरक्षाको व्यवस्था गर्न दिँदैनन् भने, ‘आइस’ ले उक्त कार्य विगतको तुलनामा अझ सशक्त रूपमा गर्नेछ।” उनले एजेन्टहरूलाई ‘तयार रहन’ निर्देशन दिइसकेको समेत जानकारी दिएका छन्।

 ट्रम्पका अनुसार विमानस्थलमा खटिने एजेन्टहरूले गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका आप्रवासीहरूलाई तत्काल पक्राउ गर्नेछन्। रिपब्लिकनहरूले टिएसए कोषलाई ‘आइस’ को बजेटसँग जोड्न खोजेको भन्दै डेमोक्र्याटहरूले आपत्ति जनाएका छन्। टिएसए कर्मचारीले तलब नपाउँदा विमानस्थलमा सुरक्षा जाँचको लाइन लामो हुँदै गएको छ र कर्मचारीहरूले काम छाड्ने क्रम बढेको छ।

डेमोक्र्याटहरूले ‘आइस’ एजेन्टहरूले अनिवार्य रूपमा परिचयपत्र लगाउनुपर्ने र अनुहार ढाक्न नपाउने जस्ता सुधारका सर्तहरू अघि सारेका छन्। तर, सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा डीएचएसको आंशिक शटडाउन फेब्रुअरीदेखि नै जारी छ।





Source link

Leave a Comment

Translate »