अमेरिकी अदालतले रोक्यो सोमाली आप्रवासीको टीपीएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णय 



प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार


अमेरिकाको एक संघीय अदालतले सोमाली आप्रवासीका लागि दिइँदै आएको अस्थायी संरक्षित स्थिति (टीपीएस) अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय अस्थायी रूपमा रोकिदिएको छ।

बोस्टनस्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश एलिसन बुरोजले शुक्रबार आदेश जारी गर्दै सोमाली नागरिकका लागि टीपीएस समाप्त हुने तय गरिएको मिति मार्च १७ लाई स्थगित गरिदिएकी हुन्। यस निर्णयले अमेरिकामा बसोबास गर्दै आएका करिब १,१०० सोमाली नागरिकलाई तत्कालका लागि राहत दिएको छ।

डेमोक्रेटिक राष्ट्रपति बाराक ओबामाद्वारा नियुक्त न्यायाधीश बरोजले टीपीएस अन्त्य भएमा प्रभावित मानिसहरूले गम्भीर जोखिम सामना गर्नुपर्ने उल्लेख गरेकी छन्। अदालतका अनुसार टीपीएस समाप्त भएमा धेरै सोमाली नागरिक हिरासत, देशनिकाला, हिंसाको जोखिम तथा परिवारबाट अलग हुने सम्भावनामा पर्नेछन्।

न्यायाधीशले आदेशमा टीपीएस समाप्त गर्ने निर्णयको कार्यान्वयन अस्थायी रूपमा स्थगित गर्दै यस विषयमा दायर गरिएको मुद्दाको सुनुवाइलाई छिटो अगाडि बढाउने तालिका तय गरिएको बताएकी छन्।

उता अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै यसलाई राष्ट्रपति ट्रम्पको आप्रवासन नीतिलाई रोक्ने प्रयासको उदाहरण भनेको छ।

टीपीएस, एक मानवीय आप्रवासन व्यवस्था हो, जसले युद्ध, प्राकृतिक विपत्ति वा अस्थिरता प्रभावित देशका नागरिकलाई अस्थायी रूपमा अमेरिकामा बस्न र काम गर्न अनुमति दिन्छ। ट्रम्प प्रशासनले विगतमा विभिन्न देशका नागरिकका लागि टीपीएस अन्त्य गर्ने प्रयास गर्दै आएको छ, जसविरुद्ध अदालतमा धेरै कानुनी चुनौतीहरू दायर भएका छन्।





Source link

Leave a Comment

Translate »