नेपालमा राहदानी वितरण सेवा कम्तीमा एक साता अवरुद्ध हुने



प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार


राहदानी वितरण सेवा एक सातासम्म अवरुद्ध हुने भएको छ। परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडान गर्ने क्रममा सेवा अवरुद्ध हुन सक्ने स्पष्ट पारेको हो।

विभागले सूचनामार्फत जिल्ला तथा इलाका प्रशासन कार्यालय एवं विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुन सक्ने जनाएको छ। राहदानी विभागबाटै प्रदान गरिने सेवा भने एक हप्तासम्म अवरुद्ध हुन सक्ने सूचनामा उल्लेख छ।

नयाँ प्रणाली जडान एवं कार्यान्वयन भएपछि प्रणाली स्थिरीकरण हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने विभागको भनाइ छ। विभागले उक्त अन्तरिम अवधिमा जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने बताएको छ।

विभागले नयाँ प्रणाली जडानको प्रक्रिया अगाडि बढाउन लागेको हुनाले आगामी पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीहरूलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन आग्रह गरेको छ। विभागले नयाँ प्रणालीबारे थप सूचना निकट भविष्यमा जारी गर्ने उल्लेख गरेको छ।

नेपाली नागरिकलाई विदेश यात्राका लागि विभागले राहदानी उपलब्ध गराउँदै आएको छ। नागरिकलाई सुरक्षित र छिटो राहदानी उपलब्ध गराउनु तथा वैदेशिक रोजगार, अध्ययन वा अन्य प्रयोजनका लागि कानुनी प्रमाणपत्रका रूपमा राहदानी प्रदान गर्नु विभागको मुख्य जिम्मेवारी हो।





Source link

Leave a Comment

Translate »